• ‘आर्या’ हामी बाँचीरहेको युगको जीवन्त कथा हो

    म्यूजिक खवर
    प्रकाशित: ९ मंसिर २०७४, शनिबार

    यतिबेला नेपाली कथानक चलचित्र ‘आर्या’को सुटिङ युनिट दमौलीको मानुङ गाउँमा छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरिरहेका छन् भने चलचित्रका निर्माता धर्मराज श्रेष्ठ हुन् । गीत लक्ष्मण सिटौलाले नै लेखेका हुन् भने संगीत राम सिटौलाको रहेको छ । छायांकन दिव्यराज सुवेदीले गर्दैछन् । मुख्यकलाकारमा शिल्पा पोखरेल, अनुपविक्रम शाही, रवि गिरी, शुशिल पोखरेल, गीता अधिकारी, निरन्जन शर्मा लगायत छन् । प्राबिधिक ,कलाकार र निर्देशक सहित ३४ जनाको टोलीले बिगत दुई हप्ता देखि लगातार फिल्म निर्माणकार्य गरिरहेको छ । चलचित्रको छायांकनमा समेत केही दिन संलग्न भएर आउनु भएका चलचित्रका लेखक श्री लक्ष्मण सिटौलासँग म्यूजिक खबरले गरेको कुराकानी :


    तपाईंको लेखनमा बन्दै गरेको चलचित्र ‘आर्या’ कुन धारको चलचित्र हो र दर्शकले यसमा अरु चलचित्रमा भन्दा के फरक पाउनेछन् ?

    ⇒‘आर्या’ को बिषय बस्तु सामाजिक यथार्थवाद हो । कथा पुरानो हो तर समाजले भोगेका कतिपय कुराहरू पनि भनिएका हुदैनन् , एउटा बर्गको त्रासले भयले संकोचले डरले ती कुराहरूलाई बाहिर ल्याउन दिइएको हुदैन । नेपाली समाजले भोगेका कतिपय दुखद कुराहरू अझैसम्म पनि भनिएको छैनन । ती भन्न बाँकी रहेका नारी अब्यक्त अभिव्यक्तिलाई मैले आर्या उपन्यासमा भन्ने साहास गरेर त्यसैलाई पर्दामा उतार्दै हुनुहुन्छ निर्देशक उपेन्द्र तिमिल्सिनाले । अरु भन्दा फरक यो चलचित्रमा तपाईं नारी मनोबिज्ञान पाउनुहुन्छ । नारीलाइ दबाउँदाको परिणाम कस्तो हुन्छ भन्ने कुराको एउटा व्यापक उथलपुथल यो चलचित्रमा पाउनुहुनेछ । नारीप्रधान चलचित्र थुप्रै बने नेपालमा तर नारीको सम्मानजनक उपस्थिति कहि कतै देखिदैन । अन्तमा गएर नारीनै रुनु पर्ने र सधैं नारीलाइ कमजोर पात्रका रूपमा उभ्याउने परम्परालाई ‘आर्या’ले तोडने छ । ‘आर्या’ आफैं हिरो हो ।

    अहिलेको सिनेमाको मुलधार कता गइरहेको जस्तो लाग्छ तपाईंलाई ? र निर्देशकको बारेमा बताइ दिनुस्न ।

    ⇒सिनेमा साहित्य हो । दृश्यात्मक साहित्य । तर हामीले सिनेमालाइ कहिले पनि साहित्य मानेनौं । सधैं मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा विश्वविद्यालय पनि हो । भारतमा सत्यजित रेका सिनेमाले दिने ज्ञान बुझ्ने हो भने मानिसमा कति परिवर्तन आउँथियो होला । नेपालमा सिनेमालाई केवल हलमा चल्नु मात्रैलाई सफलता मानिन्छ । तर त्यो होइन । देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र साहित्य ।
    अहिले नेपालमा निर्माण भैरहेका नेपाली चलचित्रको मुलधार सस्तो मनोरञ्जन मात्रै हो । साडे दुई घन्टा दर्शकले सस्तो र भड्किला डायलग, हाउभाउ ,कटाक्ष , नारीको नाङ्गा नर्तक , यौन प्रदर्शन , अनावश्यक फाइट र समाजको भल्गारिटि लाई मात्रै हेर्नुपर्ने बाध्यता छ । त्यही हेरेर क्षणीक आनन्द लिन्छन् दर्शक । हलबाट बाहिर आउँदा बिर्सनुपर्छ किनकि त्यसले दर्शकको मुटुमा मस्तिष्कमा स्थाइ प्रभाव पारेकै हुँदैन । त्यस्तै गीत । जबर्जस्ति मिडियाले पेलेर गीत हिट होइदिन्छन । केहि सिनेमा राम्रा पनि बनेका छन् । तर चलचित्र आफू हिरो हिरोनी बन्नको लागि पैसा हालेर बनाउने होइन र कसैलाई हिरो बनाइदिन्छु त पैसा राख भनेर बनाउने पनि होइन ।

    ‘आर्या’का निर्देशक उपेन्द्र तिमिल्सिना भित्र एउटा सिनेमा सस्कृती भेटेको छु मैले र उहाँले एउटा इतिहास निर्माण गर्दै हुनुहुन्छ । एउटा लेखकको रूपमा म उहाँले बुझ्नुभएको चलचित्र संस्कारलाई मान्छु । भोलि चलचित्र हलमा आएपछि थाहा हुने कुरा हो । सुटिङ अवधीमा उहाँले कलाकारलाई देखाउनु भएको माया सम्मान र हौसलाले म ज्यादै प्रभावित भएँ । उहाँसँग काम गर्ने सबै युनिटको अभिभावकत्व बहन गर्न सक्ने खुबीलाइ मान्नुपर्छ ।

    राम्रो चलचित्रमा लगानी गर्नेहरू हिजोआज नाफामा गइरहेको अवस्था देखिन्छ । यो चलचित्रका निर्माणकर्ता धर्मराज श्रेष्ठको अपेक्षा केहो ? नाफा कमाउने उदेश्य बाट अभिप्रेरित हो कि देशको पहिचान प्रतिको मोह ?

    ⇒वास्तवमा डुब्छु भनेर कसैले ब्यापार गर्दैन । सिनेमामा लगानी गर्ने मान्छेले करोड कमाउँछु यो नै रोजीरोटि बन्छ भनेर आशा राख्दैनन् र घर घडेरी धितोमा राखेर चलचित्रमा लगानी पनि कसैले गर्दैनन् । जोसँग अलिकति पूजि पनि छ, जस्ले लगानी उठाउन सक्छु भन्ने सहास पनि गर्छ, जो समाज परिवर्तनको अपेक्षा राख्छ, जो यो देशका लागि केहि योगदान गरुँ भन्छ उस्ले बनाउने हो चलचित्र । पैसा बढी भएर चलचित्र बनाउने होइन ।
    जहाँसम्म धर्म राज श्रेष्ठज्यूको कुरा छ (जसले आर्यामा लगानी गर्नुभएको छ) उहाँ एक सामाजिक अभियन्ता, एक राजनैतिक सुझ्बुझ भएका ,शिक्षा क्षेत्रमा लागेका ब्यक्तित्व हुन् । मेरो उपन्यास पढ्नुभो उहाँलाई मनपर्यो अनि सुदर्शन सिलवाल भाइ मार्फत मलाई खबर गर्नुभो आर्यालाई सिनेमा बनाउने कुरा । उहाँको सपना छ ‘आर्या’लाई अमेरिकाको धेरै स्टेटमा प्रदर्शन गर्ने । नेपाली संस्कृतिलाइ बिश्वब्यापी बनाउने । हाम्रो पहिचान स्थापित गर्ने । आर्याबाट धन बटुल्ने कुरा भन्दा पनि नेपाल चिनाउने सपना उहाँले देख्नुभएको छ । सिनेमा लाई जुवा सम्झिनेहरुले यो क्षेत्रमा हात नहाल्दा पनि हुन्छ भन्छु म । सिनेमा सिर्जना हो, सिनेमा शिक्षा हो, सिनेमा साहित्य हो , सिनेमा कलाको अभिव्यक्ति हो । सिनेमा हामी बाचिरहेको युगको जीवन्त कथा हो । सिनेमा केवल क्षणिक मनोरंजन दिने सस्तो माध्यम होइन । जसले सस्तो रूपमा यसलाइ परिभाषित गर्ने कोशिस गर्छ उ निश्चितरूपमा डुब्छ र उनीहरु नै हुन् नेपाली सिनेमा बिगार्ने । धर्म दाइ एक बौद्धिक ब्यक्ति हुनुहुन्छ । उहाँले एउटा बौद्धिक चलचित्र निर्माणकार्यमा हात हाल्नुभएको छ ।

    कहिले सम्ममा ‘आर्या’ दर्शकमाझ आउने छ ? अहिलेत गीत चल्यो भने फिल्म पनि चलेको देखेका छौं नि, कस्तो खालको गीत राख्नुभएको छ ?

    ⇒आउँदो नयाँ बर्ष २०७५ लाई लक्ष्य बनाएर काम गरिरहनु भएको छ निर्देशकज्यूले । यो चलचित्र नेपाल बाहिर पहिला प्रदर्शन गरिने योजना रहेको छ । गीत म आफैले लेखेको छु र सङ्गीत सिर्जना गर्नुभएको छ राम सिटौलाले । नेपाली सङ्गीतको परम्परागत धार नारायण गोपाल, बचुकैलास नातिकाजी भक्तराज तारादेवीले निर्माण गर्नुभएको पथलाइ पुनः ब्युझाउने निश्चित छ । संगीतको नाममा एक दुई महिना बजार तताउने दर्शक फसाउने काम गरेका छैनौं । गीत कालजयी हुनेछ । गीत कालजयी हुनुपर्छ । गीतले त्यो युगको बिम्ब उतारेको छ जुन युगको कथा लेखिएको छ । गीतमा सस्तो भावुकता र सस्तो प्रेम छैन । गीतमा नेपाल र नेपालीत्व छ ।

     

    मुख्य कलाकारहरुका बारेमा के भन्नुहुन्छ ?
    ⇒आर्या नारी प्रधान चलचित्र हो । उपेन्द्रजीको नजरमा परेकी शिल्पा पोखरेलले मुख्य भूमिका निर्वाह गर्दै हुनुहुन्छ । अर्का मुख्य कलाकारमा हुनुहुन्छ अनुपविक्रम शाही । दुबै जनालाई कुर्दा निर्माणमा केही ढिलाई भएको हो । आर्या पात्र बढो अजीव छ । शिल्पालाई सिनेमाले आर्या भनेर चिनाउनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु