खड्काको देउडामा शंकर र पार्वती

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७१, बुधबार

सुदूर र मध्यपश्चिममा रहेको देउडा सँस्कृतिलाई सम्पूर्ण नेपालीमाझ पु¥याउने उद्देश्यले नयाँ देउडा गीत तयार भएको छ । पत्रकार धनबहादुर खड्काले लेखेको शब्दमा गायक विनोद बाजुराली र विष्णु माझीले स्वर भरेका छन् ।
सुदूर र मध्यपश्चिममा निकै सुनिने देउडाभाका अन्यत्र पनि रुचाइएको छ । तर, गीतमा प्रयोग हुने विम्ब र भाषाका कारण सबैले बुझ्न कठिन हुने गरेको छ । देउडालाई भुल्दै गएको नयाँ पुस्ता र अरु क्षेत्रका स्रोतालाई समेत लक्षित गर्दै उक्त देउडा गीत तयार पारिएको बताइएको छ ।
परम्परागत संगीतमा नयाँ पुस्ताको जनजीवन बनेको प्रविधिलाई गीतको विम्बका रुपमा प्रयोग गरिएको छ ।
नत धेक्याँ (देखेँ) फेसबुकमा नत फोनै उठ्यो
डरै लाग्यो कित हाम्रो पिरतीकै तार टुट्यो
देउडाको संगीत असाध्यै सुमधुर भएपनि गीत समयानुकुल नभएकाले त्यही क्षेत्रको नयाँ पुस्ताले समेत देउडा सुन्न छाडेको अवस्थामा यो गीतले फेरि देउडा संस्कृतिको विस्तार र संरक्षणमा सघाउने गीतकार खड्काले बताए ।
लोकदोहोरी गीत गायन र एरेञ्जमा जमेका गायक विनोद बाजुरालीले प्रत्येक वर्ष एउटा देउडा गीत बजारमा ल्याउँदै आएका छन् ।  यसअघि ‘करनाली पुल’ भन्ने देउडामार्फत् नयाँ पुस्तालाई देउडा सुन्ने बनाएका उनी यो गीतबाट झनै आशावादी छन् ।
लोकगीतको म्युजिक भिडियोमा जमेका शंकर विसी र पार्वती राईको जोडीले उक्त गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा त्यस क्षेत्रको देउडा नाँचका साथै लोक नृत्यका झलक देख्न पाइने बताइएको छ । राजेश घिमिरेले खिचेको भिडियोको छायांकन राजधानीको बसन्तपुरमा गरिएको छ ।
हालसम्म ९ सय बढी गीतमा नाँचिसकेका मोडल शंकरले यो गीतमा नाँच्दा फरक  अनुभूत गरेको बताए । परम्परागत सँस्कृतिलाई नयाँ पुस्ताले हेर्नलायक बनाउन निकै मिहनत गर्नु परेको उनको अनुभव छ ।  पहिलोपल्ट देउडा गीतमा देखिएकी पार्वती राई सुदूरपश्चिमकै युवतीका रुपमा आफूलाई देखाउने प्रयास गरेको बताइन् ।
गीत सुन्ने मात्रै होइन, हेर्ने पनि समय हो । हालसम्म देउडा गीतको राम्रो भिडियो नबनेका कारण अरु क्षेत्रकाले हेर्न नपाएको मोडल विसीको अनुभव छ । उनी भन्छन्, ‘यो गीत बजारमा आएपछि अन्य क्षेत्रका स्रोताले पनि देउडा खोजी खोजी सुन्ने हेर्नमा विश्वस्त छु ।’

तस्बिरहरुः नविन गुरुङ

4-1024x594 1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु