• ”पर्चेज गरेर छिटो कमाउने ध्यानमा लाग्दा प्रविधिको दुरुपयोग भयो”

    म्यूजिक खवर
    प्रकाशित: ६ माघ २०७४, शनिबार
    Parshuram Rijal Singer

    परशुराम रिजाल, गायक तथा संचालक, भाइब्स क्रियशन प्रा.लि.

    पछिल्लो समय भाइब्स क्रियशन के गर्दैछ ?
    पछिल्लो समय संगीतको बजार निकै सुस्त गतिमा चलेको छ । प्रविधि अगाडि बढिरहेको छ, हामी पछाडि दौडिरहेका छौं । डिजिटल बजारमा संगीत उद्योग नै लागिपरेको अवस्थामा यूट्यूबमा मात्र सीमित रहेको छ तर यसबाट पनि भनेजस्तो व्यापार गर्न नसकेको अवस्था छ ।

    अडियोको बजारदेखि अहिलेसम्म सांगीतिक व्यापार भाइब्स कस्तो चल्दैछ ?
    प्रविधिले फड्को मार्ने क्रममा नेपाली संगीतबजारमा कुनै बेला कम्पनीहरुलाई निकै फाइदा थियो । फिजिकल बजार रोकिएपछि डिजिटल बजार आयो त्यसले हाम्रो काममा पूर्णविराम लगाएको जस्तो लाग्छ । तर यसको व्यवस्थापन गर्न सकियो भने अझै व्यापार केह ीगर्न सकिन्छ ।

    सुरुवातमा धेरै अडियो व्यापार गर्नुभयो होला नि ?
    मैले कम्पनी खोल्दा ०६२ ०६३ को जनआन्दोलनपछि खोलेको हुँ । भूतले खाजा खाने बेलामा म कम्पनी खोलेको थिएँ जस्तो लाग्छ । जुनबेला कान्तिपुर टेलिभिजनमा संगीतको एउटा कार्यक्रम चलाइरहेको थिएँ तर म भने एउटा गायक बन्छु भन्ने सपनामा दौडिरहेको थिएँ । यो फिल्डमा आइसकेपछि गायकी भन्ने कुरा धेरै पर थियो । एउटा गीत रेकर्ड भएपछि म गायक बन्छु, भिडियो ल्याउने वित्तिकै पूर्ण कलाकार बन्छु भन्ने लाग्थ्यो । तर त्यो कल्पनामात्रै रहेछ । केही कम्पनीहरुमा गीत रेकर्ड गरेर मास्टर सीडि लिएर गएँ । जानेक्रममा विभिन्न कम्पनीमा नयाँ जन्मिँदै गरेका कलाकारलाई कति पीडा हुन्छ भन्ने फिल भयो । म एउटा सांगीतिक कार्यक्रम चलाइरहेको छु भन्दा कम्पनी खोल्दा फरक पर्दैन भने व्यवसायतिर लम्किएँ । अडियोको व्यापारको स्वाद भने लिन पाइनँ ।

    टीभीको कार्यक्रम र कम्पनीसँगको तादम्यताले व्यवसाय कसरी अगाडि बढ्यो ?
    त्यतिखेर विशेषगरी सिआरबिटीको बजारमा मात्र थियो । टेलिकम र एनसेलले दिएको सिआरबिटीको व्यवसायलाई टेलिभिजनको कार्यक्रमले केही हदसम्म सहयोग पुर्यायो । तर त्यसमा पनि विकृति आयो, त्यसमा हामी व्यवसायीहरु कतै चुक्यौं कि जस्तो लाग्यो । हामी पर्चेज गरेर छिटो कमाउने ध्यानमा लाग्दा प्रविधिको दुरुपयोग भयो । जसले गर्दा केही समयमै सिआरबीटी बन्द पनि हुन पुग्यो ।

    के रहेछ यो पर्चेज भन्ने, चोक चोकमा हल्ला हुने गर्छ ?
    यो त पर्चेज गर्नेलाई नै थाहा होला तर मैले यो काम भने गरेको छैन । म त कम्पनीको र कलाकारको फाइदाका लागि लगानीलाई कसरी बचाउने भन्ने तर्फ नै लागिरहेँ । सिआरबिटीबाट राम्रा गीतको आम्दानी भन्दा नराम्रा गीतको आम्दानी बढी आउन थाल्ने विकृतिले गर्दा झन् उद्योग धरासायी भयो । मैले कम्पनीमा आउने कलाकारलाई पूर्ण लगानी गराउन कहिल्यै पनि दिइनँ र अहिले पनि म अडियो या भिडियो पार्टमा लगानी गरिरहेकै छु, उहाँहरुको प्रमोशनमा ध्यान दिइरहेकै छु । पर्चेज भन्ने जसले गरे तिनीहरुले लाखौं खर्च गरेर पिआरबिटीमा नम्बर वान बनाए तर गीतको गुणस्तरमा ध्यान दिने काम गरेनन् जस्तो लाग्छ ।

    सिआरबिटीबाट चाहिँ कति कमाई गर्नुभयो नि ?
    केही राम्रा गीतबाट राम्रै कमाइ भएको थियो । चोट खाँदाखाँदै, पानीको फोकाजस्तो, जीवन साथी तिमीलाई जस्ता गीतले राम्रो बजार लिएका हुन् जसबाट स्रष्टालाई बाँडेर कम्पनीले पनि लिन सफल भएको थियो ।


    टेलिकमले रुपैयाँमा लिएर स्रष्टालाई पैसामा दिएको रकमले स्रष्टा बाँच्छ त ?
    एउटा प्लेटफर्म दिँदा उसले केही कमाउनु त ठीकै कुरा हो । सिआरबीटी डाउनलोड गर्दा १२ रुपैयाँ ४३ पैसा प्रत्येक मोबाइलबाट ब्यालेन्स काट्ने गर्छ तर कम्पनीसम्म आइपुग्दा ३ रुपैयाँ ७६ पैसा आउँछ तर स्रष्टाको हातमा पुग्दा कति पुग्ला ? यसका लागि पनि सबै कम्पनीहरु, टेलिकमका संचालकहरु बसेर एउटा गीत बनाउँदा कति लगानी लाग्छ, भिडियो तयार पार्दा कति लाग्छ भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ । लगानी प्याकेज हेरेर सिआरबीटीको भाग लगाउने हो भने बल्ल न्याय हुन्थ्यो यो कुरा न कलाकारले बुझे न टेलिकमले बुझ्यो । जसका कारण केही समय बन्द पनि भयो, त्यो बेला जति चाम थियो अहिले सिआरबीटीको चाम हुनै सकेन ।

    हामीले नै डाउनलोड गरेको १२ रुपैयाँ ४३ पैसाबाट आउने सिआरबीटी र पीआरबीटीलाई मात्र पछिल्लो समय रोयल्टी भन्ने बुझ्दा कस्तो लाग्छ ?
    यो सही हो, हाम्रो १२ रुपैयाँ ४३ पैसाबाट हामीसँग आइपुग्दा ३ रुपैयाँ ७६ पैसा आउँछ । यसले लगानी गर्नेले कति पाउने, स्रष्टाले कति पाउने भन्नेमा कन्फ्यूज छौं । यसलाई कसरी पैसा मान्ने ? हामी सम्पूर्ण रोयल्टी व्यवस्थापनमा खटिरहनुभएका दिग्गज दाइहरु, संघसंस्थाको ध्यान गएकै होला, विभिन्न नीति नियमहरु बन्दै होलान् तर सिआरबीटी भन्दा पनि विभिन्न मेला महोत्सव, गजलबार, सार्वजनिक यातायात होटल, विभिन्न मिडियामा फ्रि अफ कस्टमा बजिरहेका गीतहरुलाई व्यवस्थापन गरेर एक ठाउँमा जम्मा गर्दा हामी अझै धनी हुन्छौं । आम्दानीका स्रोतहरु धेरै छन् । कलाकार, उत्पादकहरुले लगानी गरेर बजारमा ल्याएको गीतलाई हामी फ्रिमा सुनेर सार्वजनिक यातायातमा हिंडिरहेका छौं अब उनीहरुले गीत सुनेवापतको रोयल्टी बुझाउनु पर्छ भन्ने वातावरण सिर्जना गर्नु र रोयल्टी व्यवस्थापनमा लागेका संस्थाले बुझाउने ठाउँ देखाइदिने काम गरियो भने पक्कै पनि संगीत उद्योग समृद्ध हुनेछ ।

    रोयल्टी व्यवस्थापनमा रहेको प्रस्तोताले नै मेला महोत्सवमा गीत गाउनुहुन्छ तर रोयल्टीको कुरा नै गर्नुहुन्न र गीत गाएर पारिश्रमिकले लिएर फर्कनुहुन्छ, यसमा तपाईं के भन्नुहुन्छ ?
    पहिला स्रष्टाको अधिकारको बारेमा स्रष्टाले नै बुझ्नु जरुरी छ । कुनै प्रस्तोता कुनै ठाउँमा जाँदा आफैं गीत लेख्ने, संगीत गर्ने र गाउने हुनुहुन्छ भने म यस्तोमा भाग लिन्नँ भन्न पाउनुहुन्छ तर त्यो लेबलका कलाकार कति हुनुहुन्छ यो उद्योगमा ? सम्पूर्ण स्रष्टाहरु एक आपसको परिपूरकमा रहनुभएको छ भने एकजनाले मात्रै कमाएर खानुपर्छ, एकजना मात्रै बाँच्नुपर्छ भन्ने सोच त्याग्न जान्नु पर्छ । गायक, गीतकार र संगीतकार सबैले बाँच्नुपर्छ भन्ने सोचेर रोयल्टीको अभियान अगाडि बढ्दा महोत्सवबाट रोयल्टी उठ्न थाल्नुपर्छ । यसको मापदण्ड रोयल्टीले बनाइदिनुपर्यो पक्कै पनि लागू होला । कुनै गायक महोत्सवमा जाँदैछ भने सिएमओसँग समन्वय गरेर मात्र एग्रीमेन्ट हुनुपर्छ र महोत्सवहरुलाई पनि रोयल्टी तिर्नुस् भन्ने चिठी काट्नु जरुरी छ ।

    संगीत उद्योगको समृद्धिमा तपाईंको भूमिका कहाँनेर रहन्छ ?
    संगीतको समृद्धिको हिसाबले मैले पनि सोच्नुपर्छ । जुन कुरामा लगानी गरिन्छ त्यसबाट के आम्दानी हुन्छ के आधारले लगानी गर्ने भन्ने अवस्था छ । संगीत क्षेत्र नै बेलगाम अवस्थामा कुदिरहेको छ । फ्रि अफ कस्टमा गीत सुनिरहेका छन्, चोरेर गीत सुन्नेहरु धेरै छन्, गीत सुनेपछि पैसा तिर्नुपर्छ भन्ने वातावरण बनेकै छैन । नेपाली संगीतमा कति लगानी भएको छ लेखाजोखा नै छैन । तर मेरो कम्पनीबाट गीत निकाल्नेलाई मैले कुनै न कुनै पार्टमा लगानी गरेर गीत निकाल्ने काम गरिरहेको छु ।

    गायक र कम्पनी संचालक हुनुमा कुन सजिलो रहेछ ?
    सजिलो त गायक नै रहेछ । एउटा गीत गायो देश विदेशमा चल्न सजिलो छ । कुनै कुराको टेन्सन नै हुन्न । तर कम्पनी संचालन गर्नु निकै अप्ठ्यारो छ । एउटा कलाकार ठूलो सपना बोकेर कम्पनी आउनुभएको हुन्छ, उत्पादन, बजार व्यवस्थापन, प्रमोशन र विभिन्न समस्याको प्याकेजभित्र कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कलाकारको लगानीलाई कसरी बचाउने भन्नेमा लाग्नुपर्दा कम्पनी संचालक भन्दा प्रस्तोता नै सजिलो देखेँ ।

    झापाबाट काठमाडौं छिर्दाको सपना के थियो ?
    पहिलो त म स्कुल पढ्दा नै विभिन्न कार्यक्रममा गीत गाउँथें । मेरो स्वर सुनेर गुरुवर्गहरुले तिमीमा गीत गाउने क्षमता छ, गायक बन्नुपर्छ भन्नुहुन्थ्यो । हाम्रो ठाउँको नाम राख्नुपर्छ भन्नुहुन्थ्यो । आउनेवित्तिकै एउटा गीत पनि रेकर्ड गराएँ आदरणीय संगीतकार राजु सिंहको संगीतमा । मेरो अंकल यादव मिश्रको शब्दमा गीत २०५९ सालमा रेकर्ड गराएँ । त्यतिबेला मेरो मनमा ठूलो सपना पलायो अब म यम बराल, राजेपायल बनिहाल्छु भन्ने सोच्न पुगेँ जब रेकर्डबाट बाहिर निस्केँ त्यतिबेला धेरै सिक्नुपर्छ, नोट लागेको छैन भनेपछि घरमा लगेर सुनेँ । घरमा लगेर थन्क्याएँ र भानुभक्त ढकालसँग संगीत सिक्न थालेँ । त्यही गीत लिएर कम्पनी धाउँदा धाउँदा पाएको आश्वसन र धोकाले कम्पनी खोल्न पुगेको हुँ ।

    गायक बनेर गाउँ फर्किंदा कस्तो अनुभव भयो ?
    धेरै खुशीको क्षण बन्दो रहेछ । मैले गाएको गीत सुनेर, टीभीमा हेरेर गाउँका साथी, गाउँलेहरुले गायक बनेर आयो भन्दा खुशी लाग्छ । मान सम्मान पाउँदाको क्षण एउटा गायक भएर स्टेज चढ्दाको क्षणले पक्कै पनि खुशी दिलाएको छ । संगीतमा लागेपछि सम्मान रहेछ भन्ने लाग्यो ।

    त्यसपछिको अवस्था गायन र कम्पनीलाई सँगै लिएर हिंड्नुभयो ?
    भविश्य गायनमै खोज्ने भन्नेमा लागें । आफ्ना गीतहरु आफ्नै कम्पनीबाट बजारमा ल्याउने भन्ने सोचमा पनि भाइब्स कम्पनी सार्थक बनेको छ । म्यूजिक कम्पनीमा नाफा घाटा हेरिँदैन, नाफा खोज्नेले आलुको व्यापार गर्दा पनि हुन्छ । मैले दुर्गा खरेलको एल्बमबाट सुरु गरेको हुँ मेरो कम्पनी उहाँको गीतले चर्चामा ल्याइदियो । नेपाली ताराको टप ६ बाट बाहिरिनुभएकी दुर्गा खरेलको एल्बमबाट सुरु भएको भाइब्सको यात्रा आजसम्म पनि निरन्तर छ । राम्रा स्रष्टा सर्जकको गीतले नै कम्पनीलाई चिनाउँछ ।

    संगीत उद्योगमा भित्रिँदै गरेका कलाकारलाई के भन्नुहुन्छ ?
    राम्रो प्रतिभा भएको व्यक्तिले आउने जाने गर्नै पर्दैन । उसको स्वरमा निखार, संगीत राम्रो दिन सक्नु पर्यो । राम्रा शब्दको डिमाण्ड अझै छ । नयाँ नयाँले पनि राम्रो शब्द लेखेका छन् । नयाँ भन्दैमा निरन्तरता नहुने, आउने जाने मात्रै हो भने गीत संगीतमा आउनुको केही अर्थ रहँदैन । राम्रो प्रोडक्ट भयो भने सदैव बिक्री हुन्छ भन्ने सोचका साथ अगाडि बढौं । मौलिक सिर्जनाहरुलाई लिएर अगाडि बढ्न सक्यौं भने पक्कै पनि सफल भइन्छ ।

    प्रस्तुति तस्विरःः सुमन पण्डित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु