• ‘हामीले आफ्नो उत्पादनलाई बेच्न सकेका छैनौं’ : श्याम सामसोङ राई, गायक

    म्यूजिक खवर
    प्रकाशित: २५ पुष २०७४, मंगलवार

    श्याम सामसोङ राई, गायक एवं संचालक, विनायो क्याफे अनामनगर


    रेस्टुरेन्ट व्यवसाय र गीतसंगीतको यात्रा कस्तो चल्दैछ ?
    रेष्टुरेन्टको व्यवसाय मध्यमखालको नै छ । सामान्य रुपमा व्यवसायले गति लिँदै अगाडि बढेको अवस्था हो । त्यस्तै गीतसंगीतको यात्रा पनि जारी नै छ । दुईवटा व्यवसायलाई सँगै मिलाएर लैजाने क्रममा बढी समय म्यूजिकका लागि दिइरहेको छु भने थोरै समय रेष्टुरेन्टलाई दिन्छु । यसरी हेर्दा मेरो रेष्टुरेन्ट व्यवसाय पार्टटाइम जब जस्तै भएको छ ।

    म्यूजिक कम्पनी पनि संचालन गर्नुभएको थियो किन रेष्टुरेन्ट तिरको व्यापारमा हात हाल्नुभयो ?
    आजभन्दा १०–१२ वर्ष अगाडि मैले म्यूजिक कम्पनी खोलेको थिएँ । जुनबेला अडियोको व्यापार राम्रै चलिरहेको थियो । त्यसपछि गीतसंगीतको भौतिक व्यापार सेलाउँदै गएकै हो । सिडीहरुको व्यापार कम हुँदै गएपछि कम्पनी संचालन भइरहेको छ तर व्यापार कम भएको छ । भौतिक व्यापार नभएपछि डिजिटलतर्फ बजार लिन नसकिएको हो ।

    डिजिटल मार्केट त झन् राम्रो व्यापार गर्न सकिन्छ भनिन्छ नि ?
    चलाउन जान्नेले त राम्रो व्यापार गरिरहेका छन् । म डिजिटल मार्केटमा म आफूलाई दक्ष बनाउन नसकेर पनि होला मैले नाफामूलक बनाउन नसकेको । तर म्यूजिक व्यवसायसँगै रेष्टुरेन्ट व्यवसायलाई पनि सँगै लैजाउँ भन्ने उद्देश्यले हात हालेको हुँ । म्यूजिकबाट घाटा भएर रेष्टुरेन्ट खोलेको भन्न चाहिँ मिल्दैन । संगीतमा निरन्तर छु, बेफाइदा छैन म फाइदाकै व्यवसाय गरिरहेको छु जस्तो लाग्छ ।

    गीतसंगीत कस्तो चल्दैछ अहिले ?
    गीतसंगीत आफूले सोचअनुरुप त्यस्तो सफलता हात पार्न सकेको छैन तर पनि दर्शकस्रोताको माया अनुसार चलेकै छु । विभिन्न महोत्सव, कन्सर्टहरुमा निम्तो आइरहेकै छ । अहिलेको मेरो म्यूजिकको बजारमा निराशाजनक छैन, सन्तुष्टि नै मिलेको छु ।

    कसरी प्रवेश गर्नुभयो गीतसंगीतमा ?
    संगीत क्षेत्रमा कसरी लागियो भन्ने विषयमा अलि लामै कहानी हुन्छ । समग्रमा बाल्यकालदेखि नै गीतसंगीतमा आकर्षित भइयो । एसएलसी पास भइसकेपछि संगीत सिक्नु पर्छ भन्ने सोच आयो र निरन्तर रुपमा संगीत सिक्न थालेँ । ०६४ सालबाट म गीतसंगीतको क्षेत्रमा मुर्चुङ्गा एल्बममार्फत पाइला टेकेको हुँ ।

    एल्बम निकाल्नुभन्दा पहिलाको श्याम सामसोङ कस्तो थियो ?
    गाउँमा छँदाको कुरा गर्नुभएको हो भने गाउँका दाइहरुले गाएको गीतहरुलाई पछ्याउँदै गितार बोकेर पनि हिंडेको थिएँ । सिनियर दाइहरु संगीतमा लाग्नुभएको थियो, त्यो देखेर पनि लागियो । तर म त्यतिखेर खेलाडी थिएँ । त्यतिखेर फुटबल, भलिबल खेल्थें, म सितेरियो कराँतेको ब्ल्याकबेल्ट पनि हुँ । यसरी हेर्दा म किशोरअवस्थादेखि नै गिटार बोकेर हिंडेको हुँ ।

    खेलाडी गायनतर्फ आउनुको प्रभाव कस्को हो ?
    त्यतिखेर गाउँका दाइहरुको प्रभाव पनि हो भने रेडियो नेपालमा बज्ने गीत नारायण गोपाल, गोपाल योञ्जन, शम्भू राई, प्रेमध्वज प्रधानहरुका गीतहरु धेरै सुनिन्थ्यो । रेडियो साथमै हुने गथ्र्यो त्यसकै प्रभाव हो ।

    फेरी खेलतर्फ चाहिँ चाहना भएन ?
    खेलतर्फ नै व्यवसायिक हिसाबले खेल्दै हिंडिनँ । तर संगीतमा ०६३ सालदेखि भारतीय राजदूताबासको छात्रवृत्तिमा संगीत शिक्षा लिने अवसर पाएँ जसले गर्दा संगीतलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि खेलकुदलाई मैले पुरै छोडेँ ।

    पहिलो एल्बम मुर्चुङ्गा बजारमा आएपछि बजारमा कस्तो प्रतिक्रिया पाउनुभयो ?
    मुर्चुङ्गाको कुरा गर्दा मेरो सबैभन्दा उत्कृष्ट गीतको रुपमा लिने गर्छु । त्यतिबेलाको वरिष्ठ गीतकार रमेश क्षितिजको शब्द र चर्चित संगीतकार सुरेश अधिकारीको संगीतमा गाउने अवसर पाएँ । कान्तिपुरका चर्चित टेलिभिजन प्रस्तोता भुषण दाहालले निर्देशन गर्नुभएको म्यूजिक भिडियो थियो । त्यस्ता व्यक्तित्वहरुको साथमा मैले बजारमा पाइला टेक्न पाउँदा बजारमा पनि श्याम सामसोङ राम्रो गायक रहेछ भन्ने छाप छोड्न सफल भएको थियो । जसले गर्दा आज मलाई यो क्षेत्रमा स्थापित गराएको छ ।

    गीत जति चर्चित थियो तपाईको चर्चा चाहिँ कम भएजस्तो लाग्दैन ?
    हुनसक्छ, मैले त्यतिधेरै मिडियाबाजी गर्न सकिनँ । मैले जुनबेला एल्बम गरेँ त्योबेला म भारतमा नै संगीत पढ्दै थिएँ । म व्यक्तिगत रुपमा गीतको पब्लिसिटीमा लागिनँ तर गीतकै कारण म चिनिएँ । अहिले पनि धेरैले तपाईंको मुर्चुङ्गाको गीत सुनेको थिएँ भन्नुहुन्छ, खुशी लाग्छ । आखिर हामीले कमाएकै स्रोताको माया नै हो ।

    तपाईको समुदाय यति ठूलो छ सामान्य गीत चलेका गायकलाई पनि देशविदेश घुमाउन सफल हुन्छ तर तपाईंले त्यो अवसर पाउनुभएन कि कसो हो ?
    घुमेको छैन भन्न मिल्दैन, मैले पनि दुई तीन वटा देश घुमेको छु । समुदायकै हात पनि हुन सक्छ वा अरु आयोजकको पनि । मैले २०१२ मा पहिलोचोटी कोरियामा पुगेर आफ्नो प्रस्तुति दिएको थिएँ । त्यसपछि २०१३ मा हङकङ गएँ भने अन्य मुलुकहरुमा पनि जानेक्रम जारी छ ।

    मुर्चुङ्गा–२ पनि बजारमा ल्याउनुभयो, सफलता कस्तो पाउनुभयो ?
    एल्बम व्यवसायिक रुपमा नै बजारमा ल्याएको हो । एल्बमको पहिलो गीत पर्दाफास भो अहिलेको बजारअनुसार बनाइएको हो । सबै गीतहरु मेरा लागि राम्रा बनेका छन् तर समयअनुसार सबै गीत चल्छन् भन्ने पनि हुँदैन । दर्शक स्रोताहरुकै हातमा सुम्पिएको छु ।

    गीतसंगीतसँगै व्यवसाय कत्तिको चुनौति रहेछ ?
    त्यस्तो लाग्दैन, गीतसंगीत मेरो कर्म हो यसलाई निरन्तरता दिनुपर्छ । विहान उठ्छु एउटा समय रियाज गर्छु अनि दिउँसो रेष्टुरेन्ट आउँछु व्यवसाय गर्छु । फेरी बचेको समय गीतसंगीतकर्मीहरुसँग साक्षात गर्छु । बाटोहरु अप्ठ्यारो छन् तर गीतसंगीत भन्दा अन्य सोच पलाएकै छैन ।

    कहिलेकाहीं गीतसंगीतबाट दिक्क लागेर विदेश पलायन हौं जस्तो लागेन ?
    गीतसंगीतबाट मनग्य कमाइ नहोला तर यसैबाट बाँचिएको छ । मैले मलाई मात्र हेर्ने होइन अरु संगीतकर्मीहरुलाई हेरेर पनि चित्त बुझाउनु प¥यो । विदेश गएर पनि नेपालीहरुले राम्रो काम त पाउने होइन, दुःख गर्ने नै हो भने मुलुकभित्रै गर्छु भन्नेमा छु ।

    धेरै कलाकारहरु त युरोप अमेरिकातिर हानिएका छन् नि तपाईं जाने सोच छैन ?
    जाने सोच सबैको हुन्छ, मेरो पनि एकचोटी जाउँ भन्नेमा छु । अमेरिका भनेको महाशक्ति राष्ट्र त्यहाँको नीति नियम र परिस्थिति बुझ्नु जरुरी छ । त्योसँगै धेरै कलाकारहरुले कमाइलाई जोडेका हुन सक्छन् । तर म चाहिँ एकचोटी घुमेर नेपाल नै फर्कने र यही मुलुकलाई समृद्ध बनाउन सहयोग पु¥याउने सोचमा नै छु । पछिल्लो समय कलाकारलाई विदेश जानुपर्ने बाध्यता देख्दिनँ मात्र आफ्नो सिर्जना बजारअनुकुल बनाउन सक्नुपर्छ ।

    त्यसो भए सबै संगीतकर्मी मिल्यो भने त नेपाली कलाकार पनि धनी हुने रहेछन् नि ?
    यहाँको म्यूजिक इन्डष्ट्रिज त्यस्तो नाजुक अवस्थामा छैन मात्र व्यवस्थापनको कमजोरी हो । पछिल्लो समय रोयल्टी व्यवस्थापनको काम पनि अगाडि बढेको छ । हामी आफ्नो उत्पादनलाई बेच्न सकेका छैनौं, बेच्नेखालको उत्पादन पनि गर्न सकेका छैनौं होला । भएको उत्पादन पनि बाहिर फ्रिमा छोडिदिएका छौं जसको व्यापार अरुले नै खाइरहेको छ । त्यसलाई व्यवस्थापनमा ल्याउन संगीत रोयल्टी संकलन समाज लगायतका संघसंस्थाहरु अघि बढ्नु भएको छ जसका लागि संगीतकर्मी एकजुट हुन जरुरी छ । यदि हामी एकजुट भयौं भने हाम्रो उद्योगलाई मजबुत बनाउन सकिन्छ भने हामी पनि सक्षम र सबल बन्न सक्छौं जस्तो लाग्छ ।
    प्रस्तुतिः सुमन बैरागी
    तस्विरः प्रभा पौडेल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु