अँध्यारोतिर धकेलिएको तिज संस्कृति

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७०, शनिबार

सन्तोष श्रेष्ठ
तिज हिन्दु महिलाहरुको सबैभन्दा महत्वपूर्ण चाड हो । विभिन्न चाडपर्वका गीतहरु जस्तै तिजसँग पनि गीतसंगीतको सम्बन्ध गहिरो रहेको छ । विश्वका विभिन्न स्थानहरुमा रहेका मानिसहरुले विभिन्न चाडपर्वहरु मनाइरहेका हुन्छन् । त्यस्तै चाडपर्व मनाउने सिलसिलामा मनाइने तिज पनि जोडिएर आएको पाइन्छ । यसरी चाडपर्वहरु मनाउने क्रममा पश्चिममा मनाइने चाडपर्वहरु प्रायः इसाई धर्मसँग सम्बन्धीत रहेका छन् भने भारतीय उपमहाद्धीपमा मनाइने धेरै प्रायः हिन्दु धर्मका पृष्ठभूमिमा प्रचलनमा आएका पाइन्छन् । त्यसकारण तिज पर्वको सम्बन्ध धर्मसँग पनि जोडिएको पाइन्छ ।
तिज पर्वलाई हरितालिकाको नामले पनि सम्बोधन गरिन्छ । विभिन्न धर्मग्रन्थहरुमा उल्लेख गरिएअनुसार विष्णुसँग विवाह गर्न नपरोस् भनी आफ्ना संगिनीद्वारा हरेर जंगलमा पु¥याइएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रतका रुपमा लिइन्छ हरितालिका पर्वलाई वा तिज पर्वलाई । यसैकुरालाई विश्वास गर्दै प्रायः नेपाली महिलाहरुले पनि व्रत गर्दै आएको पाइन्छ । यो पर्व भाद्र शुक्ल तृतियाको दिन मनाउने गरिन्छ । विवाहित वा अविवाहित महिलाहरुले दिनभर निराहार व्रत गर्ने प्रचलन रहँदै आएको पाइन्छ । सो पर्वलाई एउटा आस्था र विश्वासको पर्वको रुपमा पनि अंगालेको पाइन्छ । यस हरितालिका पर्वका अवसरमा निराहार व्रत गरेमा आफ्नाृ मनोकांक्षा पूरा हुने विश्वास रहेको पाइन्छ । विशेष गरेर अविवाहित महिलाहरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाहरुले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बसेको पाइन्छ । व्रतका सन्दर्भमा विवाहित महिलाहरुले पूर्णरुपमा निराहार व्रत गर्ने र अविवाहित महिलाहरुले पूजापाठ गरिसकेपछि केही फलफूल खाने गरेको पाइन्छ ।
तिज पर्व महिलाहरुकै महत्वपूर्ण पर्व रहेका कारण पनि यसको गहिरो सम्बन्ध महिलाहरुसँग जोडिएको पाइन्छ । गीतसंगीतका दृष्टिले हेर्दा यो पर्व प्रत्येक वर्ष भाद्रशुक्ल द्धितियादेखि पञ्चमीसम्म मनाउने प्रचलन रहेको छ । यी पर्वमा गाइने गीतहरुलाई तिजेगीत वा तिजका गीत भनिन्छ । हिमालय–मेनका पुत्री पार्वती र महादेवको विवाह प्रसङ्ग सम्बन्धी आख्यानका आधारमा हिन्दु महिलाहरुमा प्रचलित तिज पर्वले धार्मिक महत्व राख्दछ । त्यसैकारण तीज पर्वमा गाइने गीतमा पनि महादेव–पार्वतीकै स्तुति र पूजाअर्चनाको विधान पाइन्छ । तीज पर्वलाई धार्मिक पर्वका रुपमा मनाउने र यस पर्वमा नाचगान गर्ने परम्परा पाइन्छ ।
तिज पर्वलाई नेपालका विभिन्न स्थानमा बसोबास गर्ने महिलाहरुले आ–आफ्नै तरिकाले नाचगान गर्दै मनाउने प्रचलन रहेको छ । पूर्वी नेपालको पहाडी क्षेत्रतिर तीजमा संगिनी गाउने चलन छ । यो तिज पर्वका अवसरमा महिलाहरु आ–आफ्नो माइतीमा भेला भएर नाचगान गर्ने र वर्षभरिका पिर, वेदना वा मनभित्रका भावनाहरु सुनाउने गरेको पाइन्छ । त्यसैगरि पश्चिम नेपालका डोटी प्रदेशमा भाद्र महिनाको पञ्चमीदेखि अष्टमीसम्म गौरा वा गमरा पर्व गौरीको पूजा र सामूहिक नाचगान गरी मनाउने प्रचलन रहेको पाइन्छ । मध्य नेपालको क्षेत्रमा भने विवाहित महिलाहरु तिजमा निराहार व्रत बसी साँझ गौरीको पूजा गरेर रातभरि नाचगान गरी जाग्राम बस्ने प्रचलन छ । कन्याहरु भने तिजको दिनभरि व्रत बसी साँझ गौरी पूजापछि फलाहार गर्छन् ।
तिज गीतको मूल विषय भनेकै धर्म नै छ । हिन्दु धार्मिक ग्रन्थमा वर्णित शिव–पार्वती सम्बन्धी आख्यानका आधारमा यस चाडको उठान भएको हुँदा बहुसंख्यक गीतहरुमा हिन्दु समाजले निर्धारण गरेमा धार्मिक सामाजिक मूल्य मान्यता भित्र रहेर तीजका गीतहरुको रचना गरिएका छन् । तर पछिल्लो समयमा तीजका गीतहरु ती विषयवस्तु र मूल्यमान्यता भन्दा फरक शैलीमा प्रस्तुत भएको पाइएको छ । समयको गतिसँगै यहाँ तीजका गीतहरु देश, काल र परिस्थितिले सिकाएका विषयवस्तुसँगै अगाडि बढेको पाइन्छ ।
तिजका गीतहरुमा पछिल्लो समयमा केही परिमार्जित गर्ने सिलसिलामा आफ्नो विषयको मूल्य मान्यताहरुा नै विचलन बनाएएको हो कि भन्ने आभाष भइरहेको छ । गीतसंगीतका आफ्नै संरचना, विशेषताहरु हुन्छन् । कती हदसम्म परिमार्जन गर्ने भन्ने कुरामा पनि होसियार हुन आवश्यक हुन्छ । तिज लोकलयमा गाइने वा लोक विधाकै गीत हो तर पछिल्लो समयमा पप र रक शैलीमा समेत प्रस्तुत गरिदै जानु राम्रो या नराम्रो समीक्षाको विषय होला । अहिले गीतसंगीत सुन्ने भन्दा हेर्ने अवस्थामा भएको बेला अश्लील नग्नता प्रर्दशन गरि केटा र केटी अंगालो हाल्दै उफ्रिनु र पारिवारिकरुपमा हेर्न, सुन्न अफ्ठेरो हुनु तिज संस्कृति प्रतिको विकृति हो कि होइन यो पनि समिक्षा कै विषय हो । तर समयसँग हरेक विषयवस्तुहरु परिमार्जित हुँदै जाने क्रममा सम्बन्धीत विषयका मूल्य मान्यता अनि त्यसका संरचना र विशेषताहरुलाई नै समाप्त पार्न खोज्नु र केवल व्यापारीकरण गर्नै जानु उज्यालोबाट अँध्यारोतिर धकेलिएको संस्कृति नै हो .

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु