एक लाख भन्दाभन्दै २५ हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७१, मंगलवार

काठमाडौं, ६साउन । नेपाल सांगीतिक संघका अध्यक्ष तारा थापा स्तन क्यान्सरबाट पीडित बनेर उपचारार्थ रहेको बेला आफ्नै संघको तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरिएको छ । थापालाई सांगीतिक संघको बैठकबाट २५ हजार रुपैयाँ उपचार खर्चवापत सहयोग गरिएको बताइएको छ । एक लाख रुपैयाँ सहयोग दिने भनिएको भए पनि अन्ततः थापालाई २५ हजार रुपैयाँ दिइएको स्रोतले बतायो । संघका उपाध्यक्ष कुन्ती मोक्तान र कोषाध्यक्ष रिमा गुरुङ होडाले एक लाख रुपैयाँ दिने दबाब दिइरहेको भए पनि समितिको निर्णयले २५ हजार रुपैयाँ मात्र प्रदान गरिएको स्रोतले बताएको छ । यसभन्दा पहिला संस्थाले सांगीतिक संघका सदस्य एवं संगीत क्षेत्रका कुनै पनि पीडित व्यक्तिलाई सहयोग गर्नु परेमा दश हजार रुपैयाँ भन्दा बढी सहयोग नगरेकोमा अध्यक्षलाई भने २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
संघको साधारणसभा गर्ने म्याद गत जेठ ७ गते भए पनि अहिलेसम्म साधारणसभा गरिएको छैन । साधरणसभाको समय गुज्रिसकेको अवस्थामा पनि साधारणसभा नगरिएको भए पनि संघकी अध्यक्ष तारा थापाले भने अहिले साधारणसभा नगरिने बताएको स्रोतले बताएको छ । यो कार्यकालभन्दा पहिला कोमल वलीले पनि आफ्नो कार्यकालमा ६ वर्षमा एकैचोटी साधारणसभा गरेकी थिइन् । त्यसकारण पनि अहिलेको कार्यसमितिले अहिले नै साधारणसभा गर्नुपर्ने जरुरी नरहेको थापाले बताउँदै आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु