करिश्माले भनिन्– ‘एसइइ दिएपछि फिल्म बनाउँछु’

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७५, बुधबार

२ जेठ, काठमाडौं । नेपाली फिल्मनगरीकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर यतिबेला स्कुलस्तरीय अध्ययनमा व्यस्त छिन् । पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेपछि उनी आफ्नो पढाईलाई निरन्तरता दिन थालेकी हुन् ।

१४ वर्षको कलिलो उमेरमा कक्षा ८ मा पढ्दै गर्दा ‘सन्तान’ चलचित्रमा अभिनय गरेपछि चलचित्रनगरीमै रमाउन पुगेकी उनले पढाईलाई भने थाती राखेकी थिइन् । पढ्ने इच्छालाई करिब ३० वर्षपछि पूरा गर्दै करिश्मा यतिबेला काठमाडौंको मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा १० मा पढिरहेकी छिन्।

गत मंगलबार अभिनेता शिव श्रेष्ठको निर्माणाधीन चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को पत्रकार सम्मेलनमा उनी विनोद मानन्धर र छोरी कवितासहित उपस्थित थिइन्। कश्मिाकी छोरी कविताले शिवको यही फिल्मबाट डेब्यू गर्दै छिन्।

पत्रकार सम्मेलनमा बोल्दै करिश्माले छोरीलाई आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यू गराउने सोच भए पनि शिवको आग्रहलाई नकार्न नसकेको बताउँदै फिल्म बनाउने रहर एसइई दिएपछि पूरा गरेर छाड्ने बताइन्। उनले अहिले आफू कक्षा १० मा एसइई परीक्षाप्रति केन्द्रित रहेको भन्दै परीक्षापछि फिल्म बनाउने सुनाइन्।

नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुख समेत रहेकी करिश्माले औपचारिक अध्ययन अगाडि बढाउँदै पिएचडी समेत गर्ने योजना रहेको विभिन्न मिडियामा दिएको अन्तवार्तामा बताउँदै आएकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु