कवी धरणीधरको सम्झनामा ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा’ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार

काठमाडौँ । धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ । सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदिप माध्यमिक विद्यालयमा प्रदर्शन समेत गरिएको थियो ।

जागरणकवि धरणीधर कोइरालाको १२६ औं जन्मजयन्तीका अवसरमा आयोजित सम्पदा कलायात्रा कुशेश्वर दुम्जाबाट सुरु भएको थियो । माघ २४ गते सुरु भएको कलायात्राका क्रममा पाँच जना कलाकारहरुले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाका धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका पाटी, पौवा, मठ, मन्दिर, मानेका साथै पुराना बजार, वस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतार्नुभएको थियो । चित्रमा पुनःनिर्माणको वर्तमान अवस्थालाई समेत देख्न सकिन्छ ।


दुम्जाको धरिनडाँडाबाट सुरुभएको सम्पदा कलायात्रा झाँगाझोली, रातमाटा, मुल्कोटहुँदै सितलपाटीमा पुगेर सम्पन्न भएको हो । कला यात्राका क्रममा पूर्व मन्त्री तथा सांसद हरिबोल गजुरेलले कलाकारसँग भेटगरी यात्राको शुभकामना दिएका थिए ।

खाल्टेस्थित विद्यालयमा भएको प्रदर्शनीमा राखिएको चित्रकलालाई विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयवासीले रुचीपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरेका थिए ।
यस्तै, कलाकार सुरेम देशार र यात्रा संयोजक दीपक श्रेष्ठ ‘विहीन’ ले सुनकोशी क्षेत्रमा रहेका सम्पदाको नाजुक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय जनता र जनप्रतिनिधि जुट्नुपर्ने धारणा राखेका थिए ।

सो यात्राको संयोजन पुस्तकालयका अध्यक्ष दीपक श्रेष्ठ ‘विहीन’ ले गरेका थिए । कलायात्रामा कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशार सहभागी थिए ।

यसैबीच, कुशेश्वर दुम्जा, बालुवाटारस्थित देवीस्थान माध्यमिक विद्यालयमा धरणीधर कोइरालाको १२६ औँ जन्मजयन्ती मनाइएको थियो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष दीपक विहीन र कुशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाप्रसाद कोइरालाले रंग र क्यानभास हस्तान्तरण गरेर कला यात्राको शुभारम्भसहित शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु