गाईजात्रासँग गीतसङ्गीतको सम्बन्ध

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७०, बिहीबार

सन्तोष श्रेष्ठ

विशेषगरी नेवार समुदायका मानिसहरुले मनाउने पर्वका रुपमा लिइन्छ गाईजात्रालाई । भाद्रकृष्ण प्रतिपदाका दिन वा जनैपूर्णिमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिंगारेर अथवा मान्छेलाई नै गाईको रुपमा सिंगारेर शहर परिक्रमा गराउने गरिन्छ । यसलाई देशि यात्रा वा गोयात्रा भनेर पनि परिभाषित गर्ने गरिन्छ । गाईजात्राकै अवसरमा मनोविनोदका रुपमा हाँस्यव्यंग्ययुक्त विभिन्न प्रदर्शनहरु गर्ने प्रचलन रहिआएको छ । सामाजिक रुपमा बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम कुरोलाई पनि गाईजात्राकै शब्दद्वारा सम्बोधन गरिन्छ । गाइजात्रालाई एउटा व्यंग्यजात्राको रुपमा पनि प्रस्तुत गरिन्छ । कुनै पनि छाँटकाट नमिलेको, रंगढंग नमिलेको, व्यवस्थित नभएको, समग्रमा हेर्दाखेरि रड्डि परिपाटी देखिने कामलाई पनि गाईजात्रे कामका रुपमा सम्बोधन गरेको पाइन्छ । गाईजात्रा पर्वका अवसरमा विभिन्न सञ्चार माध्यमहरुले देशमा भएका नकारात्मक पक्षलाई व्यंग्यात्मक ढंगबाट विशेष प्रस्तुतिका रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । कतिले यसै अवसरमा गाईजात्रे पत्रपत्रिकाहरु पनि प्रकाशन गरेको पाइन्छ । कसैले सञ्चालित पत्रपत्रिकाहरुलाई गाईजात्रे विशेषांकका रुपमा प्रकाशन गर्ने गरेको पाइन्छ ।
गाईजात्रासँग गीतसंगीतको पनि गहिरो सम्बन्ध रहँदै आएको छ । गाईजात्रालाई अहिले गीतसंगीतका माध्यमबाट राष्ट्रिय चाडका रुपमा पनि मनाउँदै आएको देखिन्छ । लगभग महिनादिन जसो विभिन्न स्थानहरुमा गीतसंगीतका माध्यमले व्यंग्यात्मक ढंगबाट देशमा वर्षभरि भएका नकारात्मक कुरालाई जनताको माझमा देखाउने गरिन्छ । सामाजिक विकृति र विसङ्गतिलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गर्दै जनतालाई सुसूचित पार्ने गरिन्छ । विशेष गरेर गीतसङ्गीतका माध्यमबाट कलाकारहरुले देशको नेतृत्व पक्षले गरेका नकारात्मक कामहरु वा नेतृत्वमा भएका बेलाका कमिकमजोरीहरुलाई हाँस्यव्यंग्ययुक्त ढंगबाट प्रस्तुत गर्ने गरिन्छ । गाईजात्राकै अवसर पारेर कलाकारहरुले सङ्गीतका विभिन्न विधाहरु मार्फत् हाँस्यव्यंगात्मक गीति एल्बमहरु पनि श्रोता दर्शकका माझमा पु¥याउने गर्ने गरिन्छ । कसैले शास्त्रीय शैलीमा, कसैले आधुनिक शैलीमा कसैले लोकशैलीमा अनि कसैले पप शैलीमा पनि गीतसंगीतका माध्यमबाट व्यंग्यात्मक कुराहरु प्रस्तुत गर्ने गरिन्छ । गाइजात्राको अवसरमा देशमा भएका विभिन्न विकृति र विसंगतिलाई हाँस्यव्यंग्यात्मक ढंगबाट प्रस्तुत गर्न पाउने छुट पनि दिइएको छ । त्यसैले गर्दा पनि वर्षभरि धेरैका मनमा गुम्सिएर रहेका नकारात्मक कुराहरु वा सामाजिक प्रतिष्ठामा असर पर्ने वा पारिएका विषयवस्तुलाई निर्धक्क रुपमा गीतसंगीतका माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ । यसै पर्वलाई मध्यनजर राख्दै तयार पारिएका हाँस्यव्यंगात्मक सांगीतिक प्रस्तुतिलाई कलाकारिताको माध्यमबाट बजारमा पु¥याएर त्यसबाट आयाआर्जन गर्ने परिपाटी पनि रहँदै आएको छ ।
पछिल्ला वर्षहरुमा गाईजात्राको अवसरमा गीतसंगीतका माध्यमबाट कलाकारहरुले हाँस्यव्यंगात्मक प्रस्तुतिहरु प्रदर्शन गर्ने र त्यसलाई ठूला ठूला हलहरुमा टिकट बिक्री बितरण गरेर महिनौंसम्म मनाउने पद्धतिको विकास पनि भएको छ । सांगीतिक रुपमा यसलाई एउटा महत्वपूर्ण आयआर्जनको पर्वका रुपमा पनि लिने गरिएको छ । गाईजात्राकै अवसर पारेर अहिले देशभित्र मात्रै होइन विदेशहरुमा पनि विभिन्न कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा पनि नेपाली कलाकारहरुले हाँस्यव्यंग्यात्मक प्रस्तुत गर्ने गरेको पाइन्छ । यसै पर्वलाई मनाउने क्रममा देश विदेशमा कलाकारहरुले यात्रा गर्ने अवसरका रुपमा पनि लिइएको पाइन्छ । थुप्रै सङ्गीतकर्मीहरुले पनि आय आर्जन गर्ने पर्वका रुपमा लिइन्छ । यसरी देशमा वर्षभरि रहेका विकृति र विसंगतिलाई गीतसंगीतका माध्यमबाट हाँस्यव्यंग्यात्मक शैलीबाट समग्र जनताको माझमा पु¥याउने विषय गीतसंगीत भएका कारण पनि गाईजात्रासँग गीतसंगीतको सम्बन्ध गहिरो रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु