गोरखाली कलाकारको शुभकामना कार्यक्रम

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७४, शनिबार

७ असोज २०७४, काठमाडौं । गोर्खा सांस्कृतिक समाजले गोरखाली कलाकारहरुलाई एकै ठाउँमा भेला गराएर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ६ असोज बेलुका एक कार्यक्रमको आयोजना गर्दै समाजले आफ्ना सल्लाहकार, कार्यसमिति सदस्य, साधरण सदस्य, अतिथिहरुका माझमा नजिकिँदै गरेको दशैं एवं तिहारको शुभकामना आदानप्रदान गरेको हो ।


कार्यक्रममा लोकदोहोरी व्यवसायी संघका महासचिव प्रेम श्रेष्ठ, नयाँ बजार युवाक्लबका अध्यक्ष भगवान थापा, गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ, कोषाध्यक्ष विष्णु पोखरेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य जानकी तारमी मगर, म्यूजिक खबरकी सम्पादक सविता पोखरेल, लोकदोहोरी व्यवसायी सरिता अधिकारी लगायत समाजका सल्लाहकारहरु गीतकार विश्व देवकोटा, गायिका हरिमाया गुरुङ, पत्रकार सुशील अर्याल, व्यवसायी एवं संगीतप्रेमी हरि मरहठ्ठा, गायक दीपक अर्यालको उपस्थिति रहेको थियो ।
अतिथिहरुले समाजले राम्रो काम गर्दा सदैव साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विजयदशमी, दीपावली, छठ लगायत हिन्दूहरुका नजिकिँदै गरेका पर्वहरुको शुभकामना प्रदान गरेका थिए । कार्यक्रमलाई स्वागत गर्दै समाजका वरिष्ठ उपाध्यक्ष सुमन बैरागीले सम्पूर्ण सल्लाहकार, गोरखालीहरुको सहयोगले नै समाजले आफ्नो गतिविधि संचालन गरिरहन पाएको व्यक्त गरेका थिए ।


कार्यक्रमको सभापति समाजका अध्यक्ष दिपसागर थापाले सबै गोरखालीहरु एकै ठाउँमा रहेर भोलिका लागि आजै केही गर्नुपर्छ भन्ने उद्देश्यले अगाडि बढ्न आग्रह गरेका थिए । समाज रहे हामी रहन्छौं थापाले भने समाजको सदस्य भएर गर्व गर्ने वातावरण हामी आफैंले बनाउनुपर्छ यसमा सबैको दायित्व बराबर हुन्छ । सम्पूर्ण अतिथिहरुलाई शुभकामना दिँदै सदस्यहरु प्रति उर्जा थप्ने कार्यमा समाज तयार रहेको थापाले बताए । कार्यक्रम समाजका महासचिव सुनिल लामिछानेले संचालन गरेका थिए । समाजभित्र आबद्ध रहेका गायक गायिका, संगीतकार, गीतकार, साहित्यकार, चलचित्रकर्मी, कलाकार सबैको एउटै छाता संगठनका रुपमा समाजले कार्य गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु