जनताका लोकप्रिय गायक रामेश

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

टीका भण्डारी, संगीतकार

रामेश श्रेष्ठ, धेरैले टेलिभिजनमा नदेखेका, रेडियोबाट कम सुनेका तर नेपालका गाउँ बस्तीका जनता बीच अत्यन्तै लोकप्रिय कलाकार हुन् । रेडियो टेलिभिजनमा बर्षौं देखि छ्याप्छ्याप्ती गीत गाउने धेरै कलाकारहरु भन्दा यिनी नेपालका दुर बस्तिहरुमा प्रिय छन् । लोकतन्त्रका लागि ४५ बर्ष देखि निरन्तर जेल नेल कस्टडी, प्रहरीका यातना खेप्दै ,पंचायती दमन चिर्दै , शोषण उत्पीडन र गरिबी हटाउने उद्घोष सहित जनताका गीत गाउँदै हिंडेका यिनी देशमा लोकतन्त्र आएपनि लोकतान्त्रिक गाडीको पछिल्लो सिटमै देखिन्छन । सबै कलाकारहरुमा रेडियो टिभी मै गीत गाएर मात्र राम्रो गायक बनिन्छ भन्ने भावना हुँदैन उनि त्यहि मध्येका एक अग्रज गायक संगीतकार हुन् जसले अहिले सम्म तिन दर्जन सार्थक गीतहरुको एल्बम प्रकाशन गरेका छन् । चलचित्र बलिदानमा पनि यिनकै संगीत छ । यिनलाई पाश्चात्य संगीतमा निकै राम्रो ज्ञान छ । आफ्ना गीतहरुको नोटेसन आफै लेख्छन । आफै एरेन्जमेन्ट समेत गर्छन ,पर निर्भर छैनन उनी । लामो समय देखि यिनी एक बिद्यालयमा सङ्गीत प्रशिक्षकको रुपमा क्रियाशील छन् । पार्टी भन्दा माथी देश र जनता हुन्छ भन्ने बुझाइका साथ् २०३९ साल देखि यिनले आफु सबद्ध पार्टीको सदस्यता त्याग गरे र स्वतन्त्ररुपमा नेपाली गीत संगीतको क्षेत्रमै क्रियाशील रहे । उनलाई नजिक बाट अध्ययन गर्नेहरु उनको क्षमता, साहस, जुझारु सङ्घर्ष, त्याग, समर्पण, निस्वार्थ भावना र सत्य र न्यायप्रतिको अर्जुन दृष्टी (भावको निकै खुलेर प्रसंशा गर्दछन । उनले लोकतान्त्रिक समाज निर्माण गर्ने उदेश्यका साथ गाएका गीतहरुको संख्या ५०० भन्दा माथिनै छन् । उनी जनताको घरदैलो नपुगेका बिरलै गाउँ–ठाउँ होलान् । देशका हरेक आन्दोलन, जनआन्दोलन र संघर्षहरुमा यिनकै नेतृत्वमा सांस्कृतिक अभियानहरु संचालन हुने गर्दछन तर लोकतन्त्र पछि उनको जीवनमा परिवर्तन देखिन्न । उनी एकेडेमीका कुलपति उपकुलपति हुने बौद्धिक हैसियतका कलाकार पनि हुन् तर यी ग्रामरहरुमा कतै परेनन आज पनि उनी पुरानै स्कुल भुरुङ खेलमा संगीत पढाई रहेका छन् ।
उनले जीवनभरी देश कै गीत गाए , जनतालाई सुखी सम्पन बनाउने परिकल्पना सजाउंदै आफ्ना संगीतहरु गरे । आफ्ना परम मित्र रायन संग यिनले धेरै गीतहरु गाएका छन् । रायन पनि उनी जस्तै सांगीतिक योद्धा हुन् जसले संगीत कलालाई समाज परिवर्तनका लागि लक्षित गरे ।

२०३१ सालमा युगकबि सिद्धिचरण श्रेष्ठ द्वारा रचित मेरो प्यारो ओखलढुंगा गाए पछि त झन् यिनको गायन यात्राले नयाँ मोड लियो । उनी कहिलै अन्याय अत्याचार सहँदैनन, कसैका अघि झुकेर केहि माग्दैनन, भनसुन गर्दै गर्दैनन । लोकतन्त्रमा पछाडी पर्नुकोको मूल कारण धेरैले यहि उनको स्वाभिमानी प्रवृतिलाई ठानेका छन् । उनि प्रकृतिप्रेमी हुन् उनका गीतमा प्राय प्रकृतिको बर्णन धेरै हुन्छ । उनी बिद्रोही स्वभावका पनि छन् । २५÷२६ साल तिर केहि गर्ने अठोट बोकेर रेडियो छिरेका थिए तर सोचे जस्तो नपुग्दा बिद्रोह गरेर त्यहाँ बाट बाहिरिए र जनताकै घर गाउँलाई सांगीतिक अधार शिबिर बनाए । साहित्यकार पारिजातका यिनी अत्यन्तै प्रिय भाई हुन् जसबाट प्रसस्तै ज्ञान ग्रहण गरेका छन् यिनले । देशमा भएको शोषण उत्पीडनका विरुद्ध उनकै नेतृत्वमा राल्फा निर्माण भयो । जसले एउटा साँस्स्कृतिक रुपान्तरण ल्यायो देशमा । संकल्पको स्थापना पछि झन् यो यात्रा अझ कसिलो रुपमा अघि बढ्यो ।
रामेशले २०४७ सालमा लक्ष्मी (स्मृति) श्रेष्ठसंग बिवाह गरे । उनले हाल सम्म ३२५ भन्दा बढी आफ्नै संगीतका देशभक्तिपूर्ण गीतहरु गाएका छन्, १५० गीतहरुमा संगीत मात्र भरेका छन् र ३० वटा गीत लेखेका पनि छन् । उनी लामो समय सम्म बाल मन्दिरमा समेत संगीत प्रशिक्षक भएर कार्य गरे । शायद यसैले हुन सक्छ उनका दुई दर्जन जति बालगीतका एल्बमहरु छन् बजारमा । उनका लोकप्रिय गीतहरुमा आउ मिलाउँ हाम्रा हातहरु, गरिबको चमेली, मुट्ठी उचाली, गोठाला दाइले, कोइत भने जहाजमा हरर, हाम्रो अदम्य क्रान्ति, आउ हामीसंगै बसौं आदि छन् ।
समाज परिवर्तन र रुपान्तरणमा चेतनामुलक देशभक्तिपूर्ण गीतहरुको भूमिका कति भन्ने बिषयमा रामेश द्वारा गाइएका र संगीतबद्ध गीतहरुको अध्ययन आजका पुस्ताका अध्येताहरुका लागी निकै महत्वपुर्ण छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु