जानकीको मुद्दापछि रोयल्टीको ध्यानाकर्षण

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७१, शुक्रबार

काठमाडौं, २७ असार । संगीत रोयल्टी संकलन समाज नेपालको नयाँ निर्वाचन सकिएर कार्यविभाजन बाँडफाँड भएको केही दिनमै निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गीतकार सदस्यतर्फकी उम्मेदवार जानकी पन्थले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा मुद्धा दायर गरेकी छिन् । उनले मुद्दा दायर गरेपछि संगीत रोयल्टी संकलन समाजको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै ती सबै कुरा झुठा भएको दावी गरिएको छ ।
समाजले नेतृत्वका सम्वन्धमा संचार माध्यममा आएका समाचार र सामाजीक सञ्जालमा आएका टिका टिप्पणी प्रति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रमा आफ्नो मत राख्ने अधिकार सवैलाई छ । लोकतान्त्रिक विधिप्रति प्रतिवद्ध जो सुकैले विधि र प्रकृया प्रति आशंका रहे त्यसमा स्पष्ट हुन पाउने अधिकार पनि छ । रोयल्टी संकलन समाजको गएको असार १४ गते सम्पन्न निर्वाचन सम्पूर्ण कानुनी प्रकृया पुरा गरी विधिसम्मत गराइएको निर्वाचन हो र यो निर्वाचनवाट निर्वाचित कार्यसमिति वैधानिक र आधिकारीक हो समाजले विज्ञप्तिमा जनाएको छ । तर गीतकार सदस्यतर्फकी उम्मेदवार जानकी पन्थले भने समाजको विधान विपरीत चुनावी प्रक्रिया भएको मतगणना छानबिन गरी पाउँ भनि रजिष्ट्रारको कार्यालयमा मुद्दा दायर गरेकी छिन् ।
समाजको सदस्य पन्थ र समाजको विज्ञप्तिले गीतकार संगीतकारप्रति नकारात्मक सन्देश गएको अवस्थालाई गम्भीर ध्यानाकर्ष गराउँदै समाजको विज्ञप्ति जारी गरिएको छ । एकातर्फ निर्वाचन प्रक्रिया समाप्त गरी निर्वाचन कमिटिका कुनै एक अधिकृतले मात्रै हस्ताक्षर गरिसकेपछि उक्त मतदान स्वतः रुपमा मान्य हुने कानुनी प्रावधान रहेको अवस्थामा जानकीको मुद्दाको कुनै अर्थ नहरने बताइएको छ भने अर्कोतर्फ जानकीले गैरकानुनी रुपमा निर्वाचन गरिएको दाबी गरिरहेकी छिन् ।
गीतकार सदस्यतर्फकी उम्मेदवार पन्थको एउटा मुद्दा दायर भएकै अवस्थामा हतार हतार समाजले विज्ञप्ति जारी गर्नुमा चाहिँ समाजभित्र केही न केही त्रुटी हुनुपर्छ । किनकी समाजको निर्वाचन सही छ भने एउटा सदस्यको मुद्दा दर्तालाई कानुनी रुपमा बदर गर्न सक्नुपर्छ र हतास मनस्थितिमा होइन । एउटा व्यक्तिप्रति समाजले कानुनी उपचार दिएर उसलाई कारवाही गर्न सक्नुपर्छ ।  समाजको निर्वाचनमा निर्वाचन अधिकृतले मतगणनापछि हस्ताक्षर गरेर सुरेश अधिकारीको कार्यसमितिलाई कानुनी मान्यता दिइसकेको छ भने कसैको मुद्दा दर्ताले निर्वाचन पुनः गणना हुनुपर्छ भन्ने कुरालाई कानुनसम्मत मानिँदैन र विश्वमा यसरी मतगणना भएको अवस्था पनि छैन होला ।
अब यहाँ को चाहिँ विधान विपरीत हो को सही हो भन्दा पनि स्रष्टाको रोयल्टीको हक अधिकारमा अहिलेको कार्यसमिति लाग्नु अनिवार्य छ । स्रष्टाको रोयल्टी र स्रष्टाकै लागि प्रदान गरिएको नर्वेजियनको सहयोगको सदुपयोग होस् तर नयाँ कार्यसमितिले दुरुपयोगको सिद्धान्त अपनाउन थाल्यो भने सबै स्रष्टाहरुले उठ्नु जरुरी देखिन्छ । तर स्रष्टाहरु पनि धेरै बुझ्ने भइसकेका छन् कुन समाचार भ्रामक र गलत हुन् र कुन व्यक्तिलाई कसले उचालेको छ भनेर छर्लङ्ग छन् ।
1061935_654332327991661_842069657_n royalty

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु