‘झोलामा कम्पनी बोकेर विजनेश हुँदैन’

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७४, बुधबार

सुमन पण्डित÷म्यूजिकखबर

निर्देशक उमेश गुरुङ नेपाली गीतसंगीतको क्षेत्रमा म्यूजिक भिडियो निर्देशकको रुपमा व्यस्त सूचीमा पर्छन् । लमजुङदेखि काठमाडौं प्रवेश गर्दा हिरो बन्ने लक्ष्यका साथ आए पनि उनी सोचेजस्तो हिरो भने बन्न सकेनन् तर सफल निर्देशकको सूचीमा भने आफूलाई दर्ज गराए । काठमाडौं आएपछि आफ्नो सपनाअनुसार उनले नृत्य र अभिनय सिक्दै आए । ०६० सालबाट निर्देशकीय यात्रा प्रारम्भ गरेका निर्देशक गुरुङले लोकदोहोरीको म्यूजिक भिडियोको यात्रा नै फरक बाटोमा मोड्न सफल भए । त्योभन्दा पहिला म्यूजिक भिडियो निर्देशन गर्नेहरुले लोकदोहोरी भनेपछि सेन्टिमेन्टल गीतमा पनि चौरमा ग्रुप लगेर नचाउने गर्थे तर निर्देशक उमेश गुरुङले भने गीतको कथा अनुसार म्यूजिक भिडियोलाई कथानक बनाउन सफल भए ।
उनले निर्देशन गरेको म्यूजिक भिडियो ‘तिमी बिना एक्लै भाछु म’ ले एकैचोटी चर्चाको शिखरमा पु¥याइदियो । विष्णु माझी र बलवीर थापाको स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियोमा झरना थापा र दयाराम दाहाललाई मोडलिङ गराउँदै निर्देशकीय यात्राको बाटोमा निर्देशन भनेको यस्तो हुनुपर्छ भन्ने सबैलाई बनाइदिए र फरक रुपमा स्थापित पनि भए । तर उनलाई यो अवसर भने पशुपति म्यूजिकका शिव पौडेलले नै दिएका थिए । बालाजुको चियापसलमा गफ गर्दागर्दै चिनजान भएको र त्यो अवसर जुरेको निर्देशक गुरुङ सम्झन्छन् । शिव पौडेलले ‘तपाईं त फिल्मको मान्छे दोहोरी गीत गर्नुहुन्न होला ?’ भन्ने प्रश्नमा गुरुङले आफ्नो परम्परा, मौलिकता नै दोहोरी भएकोले गर्ने अठोट गरेपछि त्यो अवसर मिलेको थियो ।
निर्देशक गुरुङको सुरुवातमा लागेको ठेस अहिलेसम्म पनि दुखिरहने गर्छ । काठमाडौं प्रवेश गरेपछि नृत्य, अभिनयको शिक्षा लिइरेका उनीसँग एकदिन एकजना निर्देशकको भेट भयो । उनको कला देखेर ती निर्देशकले उनलाई भने – ‘तिमीलाई म म्यूजिक भिडियोको हिरो बनाइदिन्छु, कालो कालो हिस्सी परेको रैछौ, २५ हजारजति लगानी गर तिमी हिरो पक्का बन्ने भयौ ।’ गुरुङलाई पनि मनभरि रहर थियो, लगानी गरे, म्यूजिक भिडियो पनि सुटिङ भयो । अब सपना पूरा हुने भयो भन्ने सोचमा रहेका थिए तर म्यूजिक भिडियो कहाँ चल्यो, के भयो केही देख्न पाएनन् झन् निराश बनायो । तै पनि उनी निरन्तर रुपमा आफूलाई कलाको क्षेत्रमा क्रियाशील गराईरहे ।


तत्कालिन समयमा निर्देशक गुरुङ चलचित्रमा मुख्य सहायक निर्देशकका रुपमा काम गर्न सुरु गरेका थिए । निर्देशक दयाराम दाहालको मुख्य सहायक निर्देशकका रुपमा रहेका उनले आफ्ना गुरु निर्देशक दाहाललाई नै म्यूजिक भिडियोमा खेलाउन सफल भएका थिए । भिडियो निर्देशन गर्दा शिक्षामूलक, कथानक हुनुपर्छ भन्ने सोचका साथ उनले निर्देशन सुरु गरेका थिए । रुने गीतमा पनि गु्रपमा नचाउने प्रचलन थियो त्यसलाई ब्रेक गर्दै कथानक बाटोमा मोडिएका निर्देशक गुरुङले त्यसपछि पछाडि फर्केर हेर्न परेन । जुन गीत निर्देशन गरेको गीत थियो त्यो गीत पशुपति म्यूजिकको सबैभन्दा धेरै व्यापार गरेको गीत हुनुपर्छ ।

उमेश गुरुङले निर्देशन गरेको गीतले फरिया चोलीबाट अरु फेशनमा पनि जानुपर्छ भन्ने सुरुवात भएको दाबी गर्छन् उनी । लोकदोहोरी भन्दैमा गुन्यूचोली मात्र हुनुपर्छ भन्ने छैन तर सभ्यता भने हुनुपर्छ । मौलिकता भनेको ड्रेस मात्र होइन जुन फेसनका भए पनि समाजलाई पाच्य हुने हुनुपर्छ उनले भने– ‘म दाबीका साथ भन्छु मैले निर्देशन गरेको भिडियोमा भल्गारिटी कहिँ पनि भेटिँदैन । म पनि समाजकै मान्छे हुँ समाज अनुसार चल्न जानेको छु ।’ कथाले मागेअनुसार गीतले मागेअनुसार मैले ड्रेस लगाएको छु र निर्देशन पनि कथासँगै बगाएको छु जस्तो लाग्छ । विकृति छाउने खालको भिडियो भने मैले बनाएको छैन, निर्देशक गुरुङले भने ।


अहिलेसम्ममा यति नै भिडियो गरेको छु भन्ने आँकडा नभए पनि उनले पहिलो गीत हिट भएपछि लगालग दिनमा २–३ वटासम्म भिडियो निर्देशन गर्ने अवसर पाए । त्यतिखेर अवसर पाइयो भनेर काम गरियो तर त्यो निर्देशकका लागि हानिकारक रहेछ भन्ने अहिले फिल भएको उनले बताए । निर्देशकको कला देखाउने ठाउँ कम हुँदो रहेछ र गीतको भावअनुसार काम नहुने हुँदा अहिले त्यस्तो गर्न छाडिदिएँ । होला कमाइको हिसाबले मैले लाखौं कमाएँ तर अझै तीभन्दा पनि स्तरीय भिडियो गर्नुपर्छ भन्नेमा मेरो मन सन्तुष्ट भएको छैन, गुरुङ भन्छन् – ‘कामको ओइरो भयो, कसको चित्त बुझाउने भन्नेमा चिन्ता बढ्यो । दिनमै ६ वटासम्म मोडल राखेर काम गरेको अनुभव छ, तर अहिले दिनको एउटा गर्छु राम्रो गर्छु ।’
सुरुको दिन रमाइलोको लागि भिडियो खेलियो । गाउँमा साथीभाइले हिरो खेलेछ भन्ने सोचमा खेलें तर अहिले समुन्द्रमा पौडिरहेको रहेछु भन्ने लाग्छ । यसको गहिराई भेटेको छैन, गहिराई भेट्नका लागि क्रियाशील छु । निरन्तर काम गरिरह्यो भने संगीतबाट नै मान्छे धनाढ्य बन्छ भन्नेमा विश्वास दिलाउन चाहन्छु । मेहनत, आफ्नो कला र निरन्तर काममा ध्यान दिएर अघि बढे सफल जिन्दगी जीउनका लागि कुनै चिन्ता लिनु नपर्ने बताउँछन् ।
पछिल्लो समय निर्देशनसँगै क्वालिटि फिल्म्स् संचालन गर्दै आएका गुरुङले कमाइको स्रोत भने गीतसंगीत भन्दा अरु सोच्न सकेका छैनन् । आरबिटी, यूट्यूबबाट अहिलेको मुख्य कमाई भएको बताउँदै उनले निर्देशनबाट पनि राम्रो कमाइ भइरहेको बताए । विजनेशमा योजना र नयाँ सोच चाहिन्छ, गुरुङले भने – हामीले पछिल्लो समय विजनेश गर्न नजान्दा संगीत क्षेत्रमा कमाइ छैन भनिरहेका हुन् । झोलामा कम्पनी बोकेर विजनेश हुँदैन, कसरी, कहाँबाट व्यापार गर्ने भन्ने बुझ्नु जरुरी छ । म्यूजिक कम्पनी सुरु गरेपछि कहाँबाट आउँदो रहेछ भन्ने बुझे, डिजिटल मार्केटमा पनि उत्तिकै व्यापार छ, यसलाई कन्सेप्ट चाहिँदो रहेछ भन्ने बुझेको छु ।


आफ्नो समुदायको गीतसंगीत मात्र होइन निर्देशक गुरुङले आफ्नो भाषाको चलचित्र पनि निर्माण गरेका छन् । छोटा चलचित्रहरु पनि दर्जनौं निर्देशन गरिसकेका उनले नेपाली कथानक चलचित्र ‘जे सुकै होस्’ यतिबेला निर्माण र निर्देशनको काम सकेर प्रदर्शनको तयारीमा रहेका छन् । चलचित्र अहिलेको बजारमा भएको विकृति कलेज पढ्ने विद्यार्थी कसरी बिग्रिन्छ र कसरी सपार्न सकिन्छ भन्ने सन्देशमा निर्माण भएको बताउँछन् । क्वालिटि फिल्म्स्को व्यानरमा निर्माण भएको यो चलचित्रले राम्रो सन्देश मात्र होइन राम्रो कमाइ गर्नेमा उनी ढुक्क छन् । पछिल्लो समय चलचित्र राम्रो चल्न थालेको हुँदा जेसुकै होस्ले पनि राम्रो व्यापार गर्ने ठूलो आशा राखेका छन् । यो चलचित्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने उनको सोच रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु