तीलाकुमारी साहित्य पुरस्कार असफललाई

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७०, शुक्रबार

वि.सं. २०५५ सालदेखि निरन्तर प्रदान गरिदै आएको तीलाकुमारी साहित्य पुरस्कार २०७० यो वर्ष पछिल्लो पुस्ताका चर्चित साहित्यकार असफल गौतमलाई दिइने भएको छ। पुरस्कारको राशी नगद पाँच हजार एक सय १५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ। प्रतिष्ठानको मंगलबार बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो। यस अघि उक्त पुरस्कारबाट वार्षिक २ जनाका दरले ३५ जना भन्दा बढी स्रष्टा सम्मानित भइसकेका छन्। ठूलाडिही–६, स्याङ्जामा जन्मेका असफल पछिल्लो पुस्ताका चर्चित साहित्यकार हुन्।

हालसम्म उनका चट्टै कम्मरमा (लोकदोहोरी एल्बम, २०६०), पीपलपाते ओठ (लोकदोहोरी एल्बम, २०६१), सङ्घर्षका पाइलाहरू (सामाजिक उपन्यास, २०६६), सिलोक बन्दैछन् (मुक्तकसङ्ग्रह, २०६७), नेपालका भाट जातिको अध्ययन (इतिहास, २०६९), ‘दुर्गाबहादुर शाह ‘बाबा’ व्यक्तित्व र कृतित्व’, समावेशी रचनाहरूको सङ्गालो ‘बिस्कुन’ (२०६८), ‘समसामयिक तीजे गीत सङ्ग्रह’ (२०६७), हाइकु आलेख र अभिलेख २०७० लगायतका काव्यकृति प्रकाशित रहेका छन्। सङ्घर्षमा कलम त्रैमासिक विविध, मानवअधिकार आवाज मासिक, रजस्थल साहित्यिक त्रैमासिक, जनमत मासिक बनेपाका सम्पादक तथा अतिथि सम्पादक रहेका असफलका ५०० बढी फूटकर मुक्तक, गजल, कविता, दजनौं अनुसन्धानमूलक तथा समीक्षात्मक लेखहरू प्रकाशित छन् भने दर्जन बढी पुस्तकहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन्।

यस अघि उनले नेपाली वाङ्मयको क्षेत्रमा पुर्‍याएको योगदानका कदरस्वरुप उत्कृष्ट लोकगायक सम्मान (२०५३), उत्कृष्ट पटकथा लेखन सम्मान (२०५९), शारदा स्वर्ण सम्मान (२०६५), रानाभाट साहित्य सेवा सम्मान (२०६८), रानाभाट कला तथा साहित्य सम्मान (२०६९), खुल्ला गजल प्रतियोगिता द्वितीय पुरस्कार (२०६७) लगायतका सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन्। जनमत प्रकाशन काभ्रे, अपाङ्ग समाज स्याङ्जा, गजल यात्रा पोखरा नेपाल, स्वतन्त्र पत्रकार सङ्घ नेपाल, रानाभाट सेवा समाज पश्चिमाञ्चल, सङ्घर्षमा कलम साहित्य समाज पोखरा, ‘बाबा’ साहित्य साधक सम्मान कोष पोखरा, मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) कास्की, अमरज्योति पुस्तकालय, पिपलटारी लमजुङ, गजल संगम पकवादी, स्याङ्जा साहित्य प्रतिष्ठानलगायतका विभिन्न वाङमयिक तथा सामाजिक संस्थामा रहेर कार्य गर्दै आएका छन्।

असफलले आफ्ना अभिभावकका स्मृतिमा ऋषिराम रानाभाट प्रतिभा सम्मान, अभिभावक स्मृति अक्षयकोष र ऋषिराम रानाभाट स्मृति अक्षयकोष स्याङ्जा स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार पनि वितरण गर्दै आएका छन्। असफल सँगसँगै २०६९ को तीलाकुमारी साहित्य पुरस्कारबाट लोकहरि पाण्डये क्षितिज स्याङ्जा, विमला कार्की मकवानपुर र रविन केसी स्याङ्जालाई पनि सम्मान गरिने भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु