दोहोरीमा अब्बल देविका

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

सविता पोखरेल/म्यूजिकखबर


लामो समय देखि लोक संगीतमा सक्रिय र सफल नाम हो गायिका देविका केसी । सिन्धुपाल्चोकको बाँडे गाउँमा जन्मेकी देविका गाउँकै सबैभन्दा सानो उमेरमा एसएलसी दिने विद्यार्थी हुन् । उनी पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि उतिकै तेज थिइन् । विद्यालयस्तरमा आयोजना हुने वादविवाद, वक्तृत्वकला, लगायतका साहित्यिक तथा मनोरञ्जनमुलक प्रतियोगीताहरुमा उनी अब्बल थिइन् । आफैं मादल बजाएर, आफैं गीत गाउन सक्थिन् । कविता लेख्न र नाच्न पनि उतिकै सिपालु । देविका रेडियो सुन्न भनेपछि भुतुक्क हुन्थिन् । उनी भन्छिन्–‘रेडियो सुनेरै गीत गुनगनाउन सिकें अझ भनौं रेडियो भित्र पसेर कसरी र कहिले गीत गाउने होला भन्ने भावना आयो । गीत गुनगुनाउँदा गुनगुनाउँदै मलाई आपैंmप्रति विश्वास लाग्थ्यो कि म पनि गायिका बन्न सक्छु भनेर ।’

एसएलसी सकाएर अध्ययन सँगसँगै गायिका बन्ने सपना लिएर काठमाडौं छिरिन् । बाल्मिकी क्याम्पसमा उच्च शिक्षाका लागि जोडिएकी उनले पढाईसँगै गीतसंगीतलाई कर्म र सोखको रुपमा लिएर अघि बढिन् । पहिलो पटक स्टेजमा गाएको अनुभव पनि बाल्मिकी क्याम्पसमै लिइन् । रेडियो नेपालमा स्वर परीक्षा पास भइन् ।’ दरमार्गको नर्वुलिङगा दोहोरी साँझमा गायिकाको रुपमा काम गरेर उनले आफ्नो कला र गलालाई अझ माझ्दै गइन् ।
व्यवसायिक रुपमा उनले ‘घर हाम्रो नुवाकोट’ गीतबाट गायनमा डेब्यु गरेकी हुन् । तर ‘गोल्डेनको सारी’ गीतले उनलाई धेरैले चिन्न थाले । त्यसपछि पशुपति शर्मासँगको तीज गीत ‘बाजी ठोकम आउ झिल्के’ ले त उनलाई अझै चर्चाको शिखरमै पु¥यायो । यो गीतलाई उनी आफ्नो करियरको टर्निङ प्वाइन्ट नै मान्छिन् । त्यसपछि अरु गीतहरु गाउन गाउन थालिन् । शुरुशुरुमा गाउँछु भन्दा पनि कम्पनीले नपत्याएको अनुभव छ उनीसँग । तर कर्मशील र सघर्षशील बानीका कारण उनले ३ सयभन्दा बढी गीतमा स्वर भरेकी छिन् । उनले गाएका ‘हामी नेपाली’ ‘पैसो’ ‘रातो सारी’ ‘फेसबुक चल्ने मोबाइल’ ‘घुम्रेको केश राम्रो’, ‘बाजी ठोकम’, ‘गोल्डेनको साडीमा’ टलक्क ऐना टल्क्यो’ लगायतका एक दर्जनभन्दा बढी दोहोरी गीतहरु हिट छन् । कसैको सिफारिस र अनुरोधमा नभई आफ्नै प्रतिभा, कला र चाहनाले यो क्षेत्रमा होमिएकी केसीले संघर्षबाट आफुलाई स्थापित बनाएकी छिन् । यो समयसम्म पनि आफूलाई संघर्षमै रहेको बताउँछिन् ।

संगीतप्रतिको अथाह लगाव, त्यसमै समर्पित देविकाले १६ वटा एल्बम बजारमा ल्याएर नेपाली संगीत उद्योगलाई धनी बनाएकी छिन् । देविकाका अधिकांश पशुपती शर्मासँग गाएका गीतहरु हिट भएका छन् । कतिले त उनलाई पशुपतीसँग मात्र गीत गाउने भनेर आरोप पनि लगाउँछन् । तर देविका भन्छिन्– ‘पशुपती शर्मा र म टुबोर्ग लोकदोहोरी प्रतियोगितमा प्रतियोगी थियौं । पहिलो र दोश्रो विजेता भएका हामीले गायन यात्रा पनि सँगसँगै थालेका हौं । शुरुवातका दिनमा उहाँसँग गाउँदा नै मलाई फाप्यो । तर पछिल्लो समयमा खुमन अधिकारी, रामजी खाँण, सन्दिप न्यौपाने, याम क्षेत्री लगायतका अन्य कलाकारसँग पनि गाएकी छु । तर पशुपती र मेरो स्वरको केमेष्ट्रीलाई दर्शक श्रोताले मनपराइदिनुभएको हो जस्तो लाग्छ ।’
युके, जापान, युरोप, अमेरिकालगायतका ३६ वटा देशमा उनले प्रस्तुति दिइसकेकी छिन् । पछिल्लो समयमा स्वदेशभन्दा विदेशमा बढी समय बिताउँदैछिन् । कसैको आर्शिवाद अर्थात् भनसुनबाट कुनै पनि स्टेजमा अहिलेसम्म नचढेको उनी बताउँछिन् । आयोजकको रोजाइमा पर्नलाई उत्तेजक बनिरहनु पर्दैन, सभ्य भएर पनि उत्कृष्ट प्रस्तुति दिन सकिन्छ, त्यो विचार गरौं स्टेज पाइन्छ देविकाले भनिन् । जति विदेश घुमेपनि उनलाई त्यहाँको विकास र सुविधा भन्दा आफ्नै देशको धुवाँ धुलो र हिलो प्यारो लाग्छ रे । उच्च सुविधाको उपयोग गर्दै व्यवसायी श्रीमान्का साथमा कतारमा बस्दै आएकी उनलाई विदेश पलायनको मोह पनि छैन । आफ्नै देशमा केहि गर्न पाए भन्न हुन्थ्यो भन्ने लाग्छ । बिदेश बसेरै भएपनि नेपाली लोक गीत संगीतकी प्रचारकको भूमिका निर्वाह गरिहेकी छिन् देविका ।

लोकगीत लोकमा पच्ने किसिमको हुनुपर्छ, युरोप अमेरिकाको सभ्यतासँग तुलना गर्नुहुँदैन । परिमार्जन जरुरी छ, तर त्यसको महत्व र मौलिकतामा ठेस पुग्न दिनु हुँदैन । चल्नकै लागि उच्छृंखल बनाउनु हुँदैन । समाजले पचाउने, सकारात्मक सन्देश बोकेको सिर्जना गर्नुपर्ने उनको धारणा छ । नेपालको संगीत क्षेत्र अत्यन्तै कठिन मोडमा छ । स्टेजबाट चलेकालाई त अलिकति राहत नै छ तर स्टुडियोमा मात्र भर पर्नेलाई त अन्धकार नै छ । स्टेजमा गाउनेका लागि पनि यो क्रेज सँधै रहने होइन । स्टेजमा नाम कमाइरहेकाहरु २ – ४ वर्षमा गुमनाम पनि हुनसक्छन्, त्यसैले भविष्यका लागि पनि सोच्नु पर्ने स्थिति छ । देविकाले अब भविष्यका लागि र संगीत क्षेत्रका लागि सानो योगदान होस् भन्ने उदेश्यले आफ्नै देशमा व्यवसाय गर्ने सोच लिएकी छन् ।


लोकगायिकाको परिचय बनाउन सफल भएकोमा आफुप्रति गौरव गर्छिन् देविका । हुन त उनी सबै विधाका गीतहरु खुलेर गाउन सक्छिन्, रेकर्ड मात्र नभएको हो । दोहोरीमा काम गर्दा पनि उनले दोहोरी, लोक, लोकपप, आधुनिक लगायतका सबै गीतहरु गाउने गर्थिन् । त्यो समयलाई स्मरण गर्दै भनिन् लोकपप र आधुकि तिर पनि स्वर म्याच हुन्छ भनेर प्रशंसा गर्नुहुन्थ्यो । अहिले पनि मेरा फ्यान र आफन्तहरुले आधुनिक गीत गाउन अनुरोध गरिरहनुहुन्छ । फेरि म पनि लोकपप गीत गाउन मनैबाट आतुर छु । केही समयअघि चन्द्र दोङ दाईसँग गीत गर्न खोजेकी पनि हुँ । तर समयले साथ दिइरहेको छैन, आशा गरौं चाँडै गाउनेछु ।

हरेक वर्ष तीज गीत तयार पार्दै आएकी देविकाले यो वर्ष पनि तीज गीत सार्वजनिक गरेकी छिन् । यो वर्ष सन्दिपले ‘नैना रेशम’ बोलको गीतमा देविकालाई स्वरमा साथ दिएका छन् । याम क्षेत्रीसँग गाएको अर्को ‘तीजैमा नाँच्न बोलायो मलाई पारीको संगीले’ गीत पनि छिट्टै सार्वजनिक हुँदैछ । दुइटै गीत मौलिक भएको उनले दावी गरिन् । नैना रेशम गीत मौलिक भएकाले यसपटक पनि दर्शकको पर्याप्त माया पाउने आशामा छिन् देविका । यो सालको तीजमा देविकाले जापानमा प्रस्तुति दिने पक्का भएको छ ।

म्यूजिकखबर पाक्षिकबाट साभार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु