द्वन्द्वको चपेटामा परेर भारत छिरें: अर्जुन सुनाम

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७४, शुक्रबार

अर्जुन सुनाम, गायक/सङ्गीतकार


अर्जुन सुनाम युवा गायनको क्षेत्रमा चर्चित नाम हो । गीत गाउनकै लागि कैलालीको चुहा नगरपालिकाबाट सुर्खेत पुगेका उनले ५९ सालबाट गायनको यात्रा तय गरे पनि ६० सालबाट औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । चार दाजु, दुई दिदी र एक बहिनी मध्येका अर्जुनले घर परिवारको सपोर्टमा नै यो क्षेत्रमा टिकीरहेका छन् । चलचित्र बन्धकीमा समावेश गरिएको सुर्खेतामा बुलबुले तालबाट गायनको यात्रा सुरुवात गरेका सुनामले जति गीतको चर्चा पाए तर आफू भने पर्दा पछाडि परिरहे । उनका गीतहरु सलल बगेको भेरी नदी, कहाँ पुग्यौ नेटो काटी, तिम्रै यादमा, रामकसम जस्ता दर्जनौ गीतहरु चर्चित रहेको छ । प्रस्तुत छ म्यूजिक खबरका लागि सुमन बैरागीले गायक सिंहसँग गरेको कुराकानीः

गीत संगीतको दुनियाँमा कसरी प्रवेश गरियो ?
कैलालीमा छँदा तिहारको बेला देउसी भैलोमा मैले गीत गाएकै सुनेर सुर्खेतसम्मको यात्रा गर्ने अवसर पाएको थिएँ । नमुछे आमा दहीमा टीकालाई बिना ट्रयाक गाउँमा गीत गाएको देखेर मलाई मेरो मामा पर्ने जंगबहादुर परियारले सुर्खेतमा रहनु भएका मेरा मामा कुलमान नेपालीकोमा पु¥याउनु भएको थियो । सुर्खेतको बागिनास समूहमा केही महिना सँगै भएर काम पनि गरें । मामा कुलमान नेपाली चलचित्र क्षेत्रमा स्थापित नृत्य निर्देशक हुनुहुन्थ्यो । सोही बेला डाक्टर सिंह गुरुङको लगानीमा बन्न लागेको चलचित्र ‘बन्धकी’ मा मामाले गीत गाउने अवसर मिलाइदिनुभयो । म पहिलोचोटी गीत गाउँदै थिएँ तर निर्देशक किशोर रानाले चाहिँ हुँदैन भन्दै हुनुहुन्थ्यो तर निर्माताको अडानले मैले बन्धकी फिल्मको ‘सुर्खेतमा भुलभुले ताल’ गाउने मौका पाएँ । संगीतको केही पनि नसिकि यो गीत गाउन पुगेको भए पनि पछि यही गीत चर्चित बन्न पुग्यो ।

पहिलोपटक गाएकै गीत चर्चामा पुग्दा कस्तो लाग्थ्यो ?
मेरो त खुशीको सीमा नै रहेन । आकाशै छोएजस्तो लाग्यो त्यतिबेला । न मैले सोचेको थिएँ यसरी अवसर नै पाउँछु भनेर, न पहिलोचोटी गाएको गीत नै चर्चित हुन्छ भन्ने सोचेको थिएँ ।


सांगीतिक क्षेत्रमा यसरी स्थापित भइएला जस्तो लाग्थ्यो कि ?
यो पनि मैले नसोचेकै कुरा हो । गाउँमा छँदा द्वन्द्वको चपेटामा परेर स्कुल छाडेर भारत छिरेको दिन मनमा ताजै छ । भारतमा गएर रोजगारी गर्दाको क्षणमा नेपाली गीतहरु धेरै सुनिन्थ्यो र मनमा लाग्थ्यो नेपालमा गएर यसरी नै गीत गाउने अवसर कहिले आउला भन्ने । भारतका रियालिटी शोहरु हेर्दा लाग्थ्यो यसरी गाउन सकिँदैन होला । तर मनमा रहर थिए आँट थिएन । तिनै गीतहरु सुन्दै गाउँ फर्किएँ । देउसी भैलोमा मैले गाएको त्यो गीतकै कारण मामा कुलमान नेपालीले गीतसंगीतको क्षेत्र मात्र होइन धेरै राम्रा मान्छेको संगतमा पु¥याइदिनुभयो । जसले गर्दा अहिलेसम्म टिक्न सफल भएको हुँ ।

तपाईंलाई अन्य गीतहरुमा चाहिँ कसले विश्वास ग¥यो त ?
मेरो स्वरमा चलचित्र बन्धकीको सुर्खेतमा बुलबुले ताल गीत रेकर्डको बेला रिमा रेकर्डिङमा आएको थिएँ । सोही बेला मेरो स्वर सुनेर वरिष्ठ गायक संगीतकार एवं निर्देशक नारायण रायमाझीले रिमा रेकर्डिङमा नै राख्नुभयो । उहाँले रिमामा धेरै अवसर दिनुभयो धेरै गीत गाउने अवसर पाएँ । नारायण दाइसँगै धेरै कार्यक्रममा हिंड्ने मौका पाएँ । सोही बेला संगीतकार बीबी अनुरागीसँग पनि संगत गर्न पाएँ । त्यतिबेला चलचित्र, पप, आधुनिक, दोहोरी गीतहरुमा स्वर दिने मौका पाएँ । उहाँहरुको विश्वासले नै आज गायक बन्न पाएको हुँ ।

जसरी गीत चर्चित भए तपाईं त त्यति चर्चित बन्न सक्नु भएन नि ?
अवश्य यो कुरा मान्छु । सुर्खेतमा बुलबुले ताल जसरी चल्यो त्यसपछि कहाँ पुग्यौ नेटो काटी, उकाली ओराली जस्ता धेरै गीत चर्चित भए पनि तर म पर्दा पछाडि नै भएँ । धेरैले मैले गाएका गीत स्वरुपराजको होला भनेको पनि पाएँ । यो हुनुमा मेरै दोष हो । म सधैं रोजीरोटीलाई ध्यान दिन थालें । मेरा गीत सुनेर विदेशको अफर आयो । बहराइनको थ्री स्टारमा मैले ३÷४ वर्ष बिताएँ । आर्थिक रुपमा घरलाई केही मजबुत बनाउतर्फ लागें तर मेरो सांगीतिक जीवनमा गीतजस्तो अनुहार हिट भएन । वर्ष वर्षमा नेपाल आउँदा गीत रेकर्ड गराउने काम मात्र गरें ।

संगीत क्षेत्रमा अहिलेको परिवेश देख्दा कस्तो लाग्छ ?
म जुन बेला प्रवेश गरेको थिएँ त्यतिबेला अडियोको बजार थियो तर मैले त्यसलाई सदुपयोग गर्न सकिनँ । मेरो स्वर चल्यो मैले आफ्नै लगानीमा त्यतिबेला गीत बजारमा ल्याउन सकिनँ । विदेशतिर व्यस्त पनि बने । तर अहिले डिजिटल बजार बढेको छ । त्यसलाई हामीले उपयोग गर्न सकेकै छैनौं । अडियो बिक्री नभए पनि भिडियोको जमानालाई हामीले क्यास गर्न सकेकै छैनौं । व्यापार छैन भन्दै गर्दा यसैमा जीविकोपार्जन गर्नेहरु, घर गाडी चढ्नेहरु पनि धेरै छन् । त्यसैले नराम्रो त होइन हामी समय अनुसार चल्न नसकेको हो जस्तो लाग्छ । गीतसंगीतको क्षेत्रमा नियमन गर्न नसकिएको हो ।

गीतसंगीतमा त कमाइ नै छैन पनि भन्छन् साँच्चिकै हो त ?
त्यस्तो पनि लाग्दैन । म पनि गीतसंगीतमै लागेर बाँचेको छु । १५ वर्षदेखि गीतसंगीतमै छु, निरन्तरता ठूलो कुरा हो । गीतसंगीतमा लागेका वाद्यवादक, एरेन्जर र स्टुडियो सबैभन्दा धेरै कमाइ गर्नेमा पर्छन् । संगीतकार पनि त्यस्तै व्यस्त छन् भने प्रस्तोताको हकमा पनि गीत चर्चामा आउनेवित्तिकै देश विदेशमा व्यस्त हुन्छन् । गीत चल्नुप¥यो बाँचिन्छ । तर लगानी गर्नेहरु भने पछि परिरहेको हो की जस्तो लाग्छ । किनकी हामी समयअनुसार चल्न सकेकै छैनौं । समयअनुसार हामी पनि परिवर्तन हुनु जरुरी छ ।


तपाईंको जीवन चाहिँ कसरी चलिरहेको छ त ?
मेरो जीवन पनि गीतसंगीतमै बितेको छ । विहान संगीतको कक्षाहरु संचालन गरिरहेको छु भने बेलुका दोहोरी साँझमा काम गरिरहेको छु । अब यतिबेला विदेशतिर नगएर नेपालमै गीतसंगीतमा नयाँ नयाँ काम गर्ने सोच गरेको छु । रात्रीकालिन व्यवसायमा कलाकारिताका लागि उपयुक्त भए पनि स्वास्थ्यको हिसाबले खराब छ । निन्द्रा नपुग्नु, धुम्रपानको धुवाँमा गीत गाउनुले स्वास्थ्यमा हानी गरिरहेको हुन्छ । त्यसैले यसमा पनि सोच्नु पर्ने बाध्यता छ ।

अन्त्यमा ?
जसरी मलाई जसरी एउटा गायकको रुपमा देश विदेशमा मन पराइदिनु भएको छ । त्यसरी नै आगामी दिनमा पनि मन पराइदिनु हुनेछ भन्ने आशा लिएको छु । मेरा आउने कृतिहरुलाई पनि तपाईंहरुको माया प्रेम र सद्भाव खाँचो छ । गीतसंगीतमा निरन्तरता ठूलो रहेछ भन्ने मैले बुझेको छु र त्यसमा स्रोताहरुको मायाले गर्दा नै आज यो ठाउँमा छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु