निर्देशक दोङको अन्त्येष्टि सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७०, सोमबार

काठमाडौं, १ पुस । मंसीर २१ गते शुक्रवार हृदयघातका कारण मलेसियामा निधन भएका तामाङ चलचित्र निर्देशक सुदिप दोङको अन्तिम अन्त्येष्टि आइतबार गरियो । तामाङ चलचित्र संघका सदस्य समेत रहेका दोङको शवलाई अन्तिम अन्त्येष्टिका लागि आइतबार नै काठमाडौं ल्याइएको थियो । मलेसियाबाट काठमाडौं आइपुग्ने वित्तिकै शवलाई सीधै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको थियो । झण्डै एक घण्टा चलेको श्रद्धाञ्जली सभामा उल्लेख्य संख्यामा उपस्थित तामाङ चलचित्रकर्मीका साथै गायक, गायिका, समाजसेवी एवम् सर्वसाधारणहरुले अन्तिम श्रद्धाञ्जलीस्वरुप खादा र पुष्पमाला चढाएका थिए । सोही अवसरमा आयोजित शोकसभामा स्वर्गीय दोङलाई चलचित्र क्षेत्रमा ल्याएका निर्देशक दीपेन्द्र दोङ तामाङ, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, पत्रकार प्रतीक ङेसुर,तामाङ चलचित्र संघका संस्थापक अध्यक्ष सन्तलाल घिसिङ र संघका वर्तमान अध्यक्ष जेनिश दोङ लगायतले स्वर्गीय दोङको व्यक्तित्व र योगदानबारे बोलेका थिए ।

त्यसपछि लामा बाजागाजा र मोटरसाइकल स्कर्टिङ सहित कमलादीबाट शुरु भएको शवयात्रा स्वयम्भूमा पुगेर बौद्ध परम्परा अनुसार अन्तिम अन्त्येष्टि कार्य सम्पन्न भएको थियो ।
२०३५ सालमा काभ्रेको पिन्थलीमा जन्मेका स्वर्गीय दोङले मयुङ, आङाला मिख्ली, ह्युल्ला माया, कर्म, दोर्जे डन र आले च्याङ्बा लगायतका चलचित्रको निर्देशन गरेका थिए । उनको निधन हृदयघातबाट भएको हो । तामाङ चलचित्र संघको पहलमा उनको शवलाई नेपाल ल्याउन अमेरिका, जापान, मलेसिया लगायतका विभिन्न मुलुकमा बस्दै आएका तामाङहरुले आ–आफ्नो तर्फबाट आर्थिक,नैतिक र भावनात्मक रुपमा सहयोग गरेका थिए । स्वर्गीय दोङको श्रीमति सहित एक छोरा र एक छोरी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु