नेपाली सङ्गीतमा विशिष्टीकरणको आवश्यकता

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७३, सोमबार
santosh shrestha

सन्तोष श्रेष्ठ

देशले वा राष्ट्रले हामीलाई के दियो भन्दा पनि आफ्नो देश वा राष्ट्रका लागि हामीले के दिन सक्यौं ? अनि नेपाली सङ्गीत मार्फत के गर्न सक्यौं ? भन्ने दर्शनलाई आत्मसाथ गर्दै थुप्रै सङ्गीत साधकहरुले आफ्नो जीवनभर केवल साधना गरिरहेको पाइन्छ । सङ्गीत भनेको जीवनको साधना हो । सङ्गीत नै जीवनको आनन्द हो । सङ्गीत आत्मशान्ति पनि हो ।

सङ्गीत जीवनको ठूलो उर्जा हो । यी आदि इत्यादि कुराहरुलाई मुख्य विषय बनाएर साधकहरुले अविछिन्नरुपमा साधना गरको पाइन्छ । साच्चिकै साधकहरुले अनवरतरुपमा कर्म गरिरहन्छन् । तर कर्मको फलको आशा गर्दैनन् । कर्म गर्नु फलको आश नगर्नु एउटा असल साधकको उच्च विचार हो । राम्रो कर्म गर्न सक्ने हो भने साधकलाई प्रतिफल अवश्यपनि हात पर्दछ । सङ्गीत आध्यात्मिक आनन्द पनि हो । जसले गर्दा सङ्गीत साधनामा डुब्न चाहाने साधकहरुले त्यसैबाट आनन्द लिन्छन् अनि प्रतिफलको आशा नै गर्दैनन् । जो भौतिकवादीहरु छन् अर्थात् जो आध्यात्मिक आनन्दमा रमाउन सक्दैनन् उनीहरु जहिले पनि काम गर्नु भन्दा पनि अगाडी नै प्रतिफलको हिसाव किताव गर्दछन् । कुनै काम गरेर आफूलाई प्रत्यक्ष प्रतिफल प्राप्त हुने भएन भने त्यो काम गर्दैनन् । तर सङ्गीत वा सङ्गीत साधना भनेको केवल प्रत्यक्ष फाईदा हुने विषय मात्रै होइन यसका अन्य फाइदाहरुबाट पनि सन्तुष्टि प्राप्त गर्न सक्नु पर्दछ । नेपाली सङ्गीत पछिल्लो समयमा साधकहरुको साधनाभन्दा पनि केवल व्यापारिकरणको बाटोमा गएको महसुश भइरहेको छ ।

एउटा साधकको साधना वा स्रष्टाको सिर्जना व्यवसायीकरुपमा अगाडि बढ्न सक्नुु राम्रो पक्ष हो । तर सिर्जनाको व्यवसायीकता कति हदसम्म हुने भन्ने महत्वपूर्ण विषय हो । एउटा असल साधक व्यवसायीकतामा परिणत हुँदा कतिसम्म व्यवसायीक बन्ने अनि व्यवसायीक साधक बन्दाको फाइदा र वेफाइदाहरु के के हुन् त्यो अग्रिम जानकारी लिनु आवश्यक देखिन्छ । व्यवसायीक रुपमा एउटा साधक अगाडि बढ्दा आफ्नो सिर्जनाको गुणात्मकतामा कुनै असर पर्छ कि पर्दैन त्यो कुरा सोच्नु अति आवश्यक देखिन्छ । व्यवसायीकताको नाममा केहि पैसाको लागि आफ्नो क्षणिक अप्ठ्यारो टार्नको लागि आफ्ना अमूल्य सिर्जनालाई सस्तो बिक्री वितरणमा पु¥याउनु आफैंमा ठिक हो वा बेठिक हो यो कुरा पनि सोचनीय विषय हो । अनि साधक व्यवसायीक भइसकेपछि आफ्नो सिर्जनशिलताको विशिष्टतामा कत्तिको असर पर्दछ यो पनि गहिरिएर सोच्नै पर्ने विषय हो । जीवनलाई एउटा महत्वपूर्ण साधनाको रुपमा लिने तर त्यसको विशिष्टता वा विशिष्टीकरणमा ध्यान दिन नसक्दा पनि थुप्रै साधकहरुको साधकीय जीवन यथास्थितीमा रहिरहेको पाइन्छ । कुनै पनि एउटा असल साधकले आफ्नो विषयमा जीवनभरी मेहनत गरेर विशिष्टता हासिल गर्ने हो भने आफ्नो मुख्य विषय के हो त्यसमा ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ । कुनै पनि साधकले आफूलाई अरुको अगाडि ठूलो साधक देखाउनका लागि थुप्रै काम गरिरहेको पाइन्छ । थुप्रै काम गर्नु नराम्रो कुरा होइन । तर थुप्रै काम गरेर पनि कुनै पहिचान बनाउन नसक्नु त्यति उचित काम होइन जस्तो लाग्दछ । एउटा साधकले जीवनमा थुप्रै विधामा हात हालेर कुनै पनि विशिष्टता हासिल गर्न नसक्नु भन्दा एउटै विषयमा मेहनत गरेर विशिष्टता हासिल गर्नु महत्वपूर्ण विषय हो ।

नेपाली सङ्गीतको क्षेत्रमा पछिल्लो समयमा थुपै्र साधकहरुमा यो समस्या देखिन्छ । एउटै व्यक्ति रचना, सङ्गीत, गायन, अभिनय, सङ्गीत संयोजन, निर्देशन आदि सबै आफैं भएको पाइन्छ । दर्शक, स्रोताहरुले के भनेर चिन्ने र कसरी विशिष्टता हासिल गर्ने ? सबै काम एउटै व्यक्तिले गर्दा सबै पक्ष बलिया नहुन पनि सक्छन् । त्यसैले एउटै व्यक्तिले थुप्रै काम आफैं गरेर पहिचान नै स्थापित गराउन नसक्नु भन्दा अर्थात् माथि उल्लेख गरिए झैं सबै विधामा आफैं हाबि हुनु भन्दा एउटै विधामा विशिष्टता हासिल गर्नु नै महत्वपूर्ण कुरा हो । को व्यक्तिको पहिचान के हो भनेर छुट्याउन अप्ठ्यारो पर्ने अवस्था हुन लागेकोले पनि नेपाली सङ्गीतमा विशिष्टीकरणको आवश्यकता महसुश गरिएको छ ।

लेखकः युवापुस्ताका चर्चित संगीतकार हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु