पुरीको ९ आइजिपीसँगका अनुभूति

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७४, शनिबार

काठमाडौं । पूर्व डिएसपी तथा कलकार, निर्देशक एवं लेखक आनन्द पुरीले लेखेको पुस्तक ९ आइजिपीसँगका अनुभूति संस्मरणात्मक संग्रहको मंगलबार विमोचन गरिएको छ। बी. एन पुस्तक संसारले बजारमा ल्याएको पुस्तकलाई बी.एन. पुस्तकका तर्फबाट रमेश सुवेदी, कथाकार माया ठकुरी, समालोचकद्वय हरि अधिकारी तथा दामोदर न्यौपाने र लेखक आनन्द पुरीले संयुक्त रुपमा विमोचन गरे।


काठमाण्डौको भृकुटीमण्डपमा भएको कार्यक्रममा पुस्तकको समीक्षा गर्दै हरि अधिकारीले उक्त पुस्तकमा प्रहरी प्रशानभित्र देखिने र अनुभूति गरिने विषयको बारेमा वर्णन गरिएको बताए। यसका साथै पुस्तकमा प्रहरी प्रशासनलाई यो अवस्थामा ल्याउन कुन कुन आइजिपीले के के योगदान गरे भन्ने कुराको बारेमा जानकारी दिइएको हुँदा उक्त पुस्तकलाई प्रहरी विकासक्रमको अभिलेखको रुपमा लिँदा उपयुक्त हुने प्रस्ट पारे। पुस्तकको शीर्षकको बारेमा टिप्पणी गर्दै अधिकारीले भने,‘पुस्तकको शीर्षक ९ आइजिपीसँगका अनुभूतिभन्दा प्रहरी प्रशासनको इतिवृति भन्दा उपयुक्त र बढी सान्दर्भिक हुन सक्थ्यो।’

अर्का समालोचक तथा पत्रकार न्यौपानेले पुस्तकको बारेमा चर्चा गर्दै पुस्तकको माध्यमबाट प्रहरी प्रशासनभित्रको रोमाञ्चक र थाहा नभएको थुप्रै विषयका बारेमा ज्ञान हुने बताए। उनका अनुसार उक्त संग्रहलाई मनोवैज्ञानिक र समाजशास्त्रीय ढंगबाट हेर्न सकिन्छ। उनले समाज–समाज छिर्ने सिपाहीसँग पनि प्रहरी प्रशासनका थुप्रै सूचानाहरु हुने हुँदा उनीहरुका बारेमा पनि यस्ता किताब लेखिनुपर्नेमा जोड दिए। दुबै समालोचकले नेपाली संस्मरणात्मक विधाको विकासमा उक्त पुस्तकले उल्लेखनीय भूमिका खेल्ने भन्दै लेखकलाई बधाई पनि दिए।


त्यस्तै वरिष्ठ कथाकार तथा साहित्यकार माया ठकुरीले प्रहरी प्रशासनका बारेमा थाहा पाउनका लागि सबैले उक्त पुस्तक पढ्नुपर्ने बताउँदै आफ्नो मनमा लागेको प्रतिक्रिया लेखकलाई दिनुपर्ने बताइन्। कार्यक्रमको अन्त्यमा बोल्दै लेखक पुरीले उक्त पुस्तकको माध्यमबाट आफूले संगत गरेको विभिन्न आइजिपीहरुको असल र खराब पक्षका बारेमा वर्णन गर्न खोजिएको बताए। साथै उनले प्रहरी र जनताबीचको सम्बन्ध राम्रो भएमा मात्र समाजमा सन्तुलन कायम रहन्छ भन्ने कुरा उक्त पुस्तकको माध्यमबाट देखाउन खोजिएको पनि बताए। पुरीले प्रहरी संगठनमा रहँदा रेडियो र टेलिभिजन कार्यक्रम प्रहरी अनुरोधको निर्माण, निर्देशन र लेखन कार्य गर्थे भने त्यसमा प्रस्तुत हुने सिरीयलमा अभिनय पनि गर्दथे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु