पोखरामा ‘मुक्तक महोत्सव’ सुरु

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

पोखरा, चैत २२ गते । पोखरामा बिहीबारदेखि मुक्तक महोत्सव २०७४ सुरु भएको छ । मुक्तक मञ्च पोखराले रोट¥याक्ट क्लब अफ् हेमजासँगको सहकार्यमा आयोजना गरेको महोत्सवको पहिलो दिन अतिथि सत्कारसँगै विशेष मुक्तक गोष्ठी सम्पन्न भएको छ ।

महोत्सवको औचित्यमाथि प्रकाश पार्दै मञ्चका अध्यक्ष प्राञ्जलले मुक्तकको विधागत उन्नयनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशभर छरिएर रहेको मुक्तककारहरुलाई एकै ठाउँमा भेटाएर अन्तरक्रिया गर्ने अवसरसमेत महोत्सवले प्रदान गर्ने भनाइ राख्नुभयो ।

अग्रज साहित्यकार चेतन कार्कीले टिकटमा मुक्तक कार्यक्रम गरेर इतिहास निर्माण गरेको पोखरा मुक्तकका लागि ऊर्वरभूमि भएको बताउनुभयो । यस्तो महोत्सवमा सरिक हुन पाउनु सम्पूर्ण साहित्यकारहरुका लागि गौरवको कुरा भएको कार्कीले बताउनुभयो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रतिष्ठानले मुक्तक मञ्चसँग मिलेर गरेको बृहत् मुक्तक गोष्ठीको स्मरण गर्र्दै पोखरा मुक्तकका लागि ऐतिहासिक थलो भएको बताउनुभयो । पोखरामै मुक्तकको महोत्सव हुनु समग्र नेपाली साहित्यका लागि सत्प्रयासका रुपमा लिएको भनाइ राख्नुभयो ।

मञ्चका सल्लाहकार दीपक समीपले मुक्तक महोत्सव मुक्तक मञ्च र पोखराको मात्रै नभई सिङ्गो नेपाली साहित्यकै क्षेत्रमा विशेष महत्त्व राख्ने बताउनुभयो ।

पहिलो दिनको मुक्तक गोष्ठीमा मुक्तककार चेतन कार्की, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, दीपक समीप, कपिल शर्मा, सञ्जीव पौडेल, डा. वसन्त गौतम, लक्ष्मण थापा, सञ्जय भट्टराई, सरला लामिछाने, के. आर. ढकाल, भरत पौडेल, सुरज गुरुङ, रामजी आचार्य, रोशन तल्कोटे, भरत पोखरेल, श्रीराम अधिकारीलगायतले मुक्तक वाचन गर्नुभएको थियो । महोत्सवको अतिथि सत्कार उपसमितिका संयोजक सञ्जीव पौडेलले संयोजन गर्नुभएको कार्यक्रममा मञ्चका सल्लाहकार दीपक समीपले पोखराबाहिरबाट आउनुभएका मुक्तककारहरुलाई स्वागत गर्नुभएको थियो ।

महोत्सवमा शुक्रबार मुक्तकको सैद्धान्तिक बहस र मुक्तक मञ्च पोखराले प्रकाशन गरेको ८ ओटा मुक्तक सङ्ग्रहको समीक्षात्मक कार्यक्रम हुने मञ्चका सचिव रामजीप्रसाद आचार्यले जानकारी दिनुभयो । महोत्सवको अन्तिम दिन राष्ट्रिय मुक्तक पुरस्कार अर्पण, मुक्तक सङ्ग्रह विमोचनसँगै पोखरा र पोखराबाहिरका ४० जना मुक्तककारको मुक्तक वाचन हुने उहाँले बताउनुभयो । महोत्सवका बाँकी सम्पूर्ण कार्यक्रम पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको सभाहलमा बिहान ११ बजेदेखि हुने उहाँले जनाउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु