प्रधानमन्त्रीको भारत भ्रमण र अम्मर गुरुङ

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७२, शुक्रबार

सविता पोखरेल


भनिन्छ कलाकार भनेका राष्ट्रका गहना हुन् । एउटा कलाकारको कलाले सिंगो मुलुकको चिनारी बोकेको हुन्छ । तर नेपाली कलाकारले यस्तो अनुभूति गर्ने दिन अहिलेसम्म आएको छैन । यौनजन्य कृयाकलापमा लागेकी रुपवती सुन्दरीले जसरी आफ्नो बैशमा रस रहुन्जेल मात्र आफ्नो कर्मलाई निरन्तर दिनसक्छे, त्यस्तै अवस्था छ नेपाली कलाकारहरुको पनि । कलाकारले पनि आफ्नो स्वस्थ्य शरीर रहुन्जेल ‘मेरो मुलुक मेरो परिचय’ भनि मरिमेटि काम गरेको हुन्छ अनि जीवनको उतराद्र्धमा हात लाग्यो शुन्य । प्रसङ्ग हो चर्चित अनि लोकप्रिय संगीतकार अम्बर गुरुङको । अम्बर गुरुङ नेपाली सांगीतिक क्षेत्रका एक स्तम्भ नै हुन् । वि.सं २०१८ सालदेखि नेपाली गीतमा संगीत दिन थालेका गुरुङ यतिबेला जीवन र मरणको दोसाँधमा छन्, तर पनि राष्ट्रले उनको योगदानको कदर गर्न सकेको छैन । उनको प्रतिभा तथा योगदानको सम्मान र कदरको त कुरो परै जाओस्, अहिले कस्तो छ अम्बर जी ? भन्दै आश्वसानका शब्द खर्चिन पनि कन्जुष्याँई गरेको छ सरकारले ।

मुलुकमा प्रजातन्त्र आएको दिन फागुन ७ गते प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा हिंडे । भारतका प्रधानमन्त्री नेपाल घुम्न आउँदा दर्जनको टोली पनि ल्याएनन् तर हाम्रा प्रधानमन्त्री भारतको भ्रमणमा जाँदा भने जम्बो टोली लिएर गए । भ्रमणमा ६ दिनमा ४ दिन त नयाँ दिल्लीमा नै मोजमस्ती र भेटघाटमा बिताएका प्रधानमन्त्रीको जम्बो टोलीले भारतीय प्रधानमन्त्रीदेखि व्यापारीहरुसँग भेटघाट गरे । त्यसो त प्रधानमन्त्री ओलीले हवाई उडान एक घन्टा ढिला भएकोमा छानबिन आयोसमेत गठन गरे अनि भारतीय कलाकारहरुसँग उखान टुक्का उरेन्ठेउला गफसमेत चुट्न भ्याए । तर मुम्बईकै अस्पतालको बेडमा जीवनमरणको दोसाँधमा रहेका राष्ट्रियगानका संगीतकार संगीतज्ञ अम्बर गुरुङलाई भेट्न उनको समय नै मिलेन । झण्डै ३ हप्तादेखि दिल्लीको गुडगाँवास्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका गुरुङलाई सरकारको तर्फबाट हुनुपर्ने केही कुरा अहिलेसम्म भएको छैन । भलै सरकारले उपचार खर्च दिन्छु भनेको नदिए पनि एउटा मुलुकको वरिष्ठ संगीतकारलाई त भेट्ने समय नमिल्ला तर राष्ट्रगानका संगीतकारको हैसियतले भए पनि एकचोटी भेटेर औपचारिकतासमेत प्रधानमन्त्री ओलीको टोलीले निभाएन । बरु भारतका कलाकार गोविन्दा, तब्बु, ग्लोशन ग्लोबर, मनिषा कोइरालासँग उनको भलाकुसारी भने हुन भ्यायो ।

ambar gurung

बलिउडका कलाकारहरुलाई विशेष समय दिएर चियापान पनि गर्न भ्याए । बलिउडकै कलाकार गोविन्दालाई ‘ज्वाँई साव’को संज्ञा दिंदै ठट्यौली पनि गर्न सके तर आफ्नै राष्ट्रका गहना संगीतकार अम्बर गुरुङलाई ‘कस्तो छ गुरुङ भाइ’ भन्नसमेत समय निकाल्न सकेनन् । दिल्लीमा उपचार गराइरहेका गुरुङले नेपाली संगीत क्षेत्रमा ६ सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन् । गुरुङलाई भारत भ्रमणमा आएका प्रधानमन्त्री आफूलाई पनि भेट्न आउँछन् भन्ने आश थियो तर ओलीको टोली भने हँस्यौली ठट्यौली गर्नमै व्यस्त भए । ओलीले मुम्बई गएर अम्बर गुरुङलाई मात्र नभएर नेपाली सिर्जना र सर्जकलाई माया गर्ने सवैलाई निराश बनाईदिए ।

सरकारले देशको लागि जिवन्त योगदान पु¥याउने एउटा सर्जकलाई गर्ने व्यवहार र सोच्ने भावना कस्तो रहेछ छर्लङ्ग बनाईदिए । बरु भारतीय कलाकारलाई निम्तो दिएर नेपालमा फिल्म सुटिङ गर्न आउन भने तर नेपालकै संगीतको खातिर लडिरहेको संगीतयोद्धालाई भने अनुहार पनि नदेखाई नेपाल फर्किए । नेपालमा क्वायर संगीत दिने एक मात्र संगीतकार भइसकेका महान व्यक्तिको जीवन भोगाई यस्तो छ भने भविश्यमा आउने संगीतकर्मीले यो मुलुकमा बसेर संगीत सिर्जना गर्दा सोच्नुपर्ने अवस्था भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु