प्रमोद र अन्जु नै भए रोयल्टी धेरै बुझ्ने, एनटीसीसँग अझै लफडा

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार

६ जेठ, काठमाडौं । प्रस्तोता समाज नेपालले बितरण गर्ने रोयल्टी बुझ्नेमा यसपाली पनि गायक प्रमोद खरेल र गायिका अन्जु पन्त नै अगाडि देखिए । पछिल्लो तीन वर्षदेखि रिङ ब्याक टोन (आरबीटी) बाट संकलित रकममा उनीहरूले अरूको भन्दा बढी रोयल्टी बुझ्दै आएका छन् ।
प्रस्तोता समाज नेपालले एनसेलको पीआरबीटीबाट संकलित रोयल्टी रकम शनिबार ५१ जना गायकगायिकालाई वितरण गरेको थियो । एनटीसीसँग चाहिँ आरबीटीका विषयमा ‘लफडा’ भइरहेको प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले बताए ।

गएको जुलाईदेखि नोभेम्बरसम्मको कुल ५ लाख २५ हजार ८८ रुपैयाँमध्ये अञ्जुले १ लाख २५ हजार ६ सय र प्रमोदले १ लाख ९ हजार रुपैयाँ पाएका हुन् । निरन शाही, कालीप्रसाद बाँस्कोटा, मल्लिका कार्की, विष्णु माझी, राजनराज शिवाकोटी, दीपक बज्राचार्य, हेमन्त शिशिर र १९७४ एडीका गीत पनि आरबीटीका रूपमा निकै प्रयोग हुँदा रहेछन् । रोयल्टी बुझ्ने टप टेन आर्टिस्टमा यिनको नाम आयो । कार्यक्रममा खुमन अधिकारी, मेलिना राई, अविनाश घिसिङ, भरत सिटौला, देवी घर्ती, भानुभक्त ढकाल, मीना निरौला लगायतलाई रोयल्टी रकम दिइयो ।
समारोहमा न्यूनतम पाँच सयदेखि बढीमा झन्डै साढे एक लाख रुपैयाँसम्म रोयल्टी रकम बाँडिएको थियो । यो थिति बसेकोमा गायक प्रमोदले खुसी व्यक्त गरे । ‘मैले रोयल्टी पाउनु ठूलो कुरा होइन,’ उनले भने, ‘चलन बस्नु ठूलो कुरा हो । मैले एक लाख पाएँ, म पछिकाले २० लाख पाउन् यो राम्रो सुरुवात हो ।’ एउटा क्षेत्रबाट यत्तिको रोयल्टी रकम पाइहँदा प्रस्तोता समाजले पहिचान गरेका ३६ मध्ये १० वटा क्षेत्रबाट मात्र रोयल्टी उठे पनि स्रष्टाको दिन फिर्ने उनले बताए ।


‘आजभन्दा १७५ वर्षअघि पेरिसबाट रोयल्टी संकलनको चलन सुरु भएको थियो,’ संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले भने, ‘हामी अझै यसमै अल्झिरहेका छौं । तर, आजको भोलि मिलिहाल्ने कुरा होइन यो । सूक्ष्म व्यवस्थापकीय कानुनी प्रक्रिया हुन्छ, हामी सबै मिलेर पूरा गर्नुपर्छ ।’
संगीत उत्पादक संघका निर्मल ढकालले रोयल्टी संकलनको काम जटिल मोडमा पुगेको बताए । उनका अनुसार नेपाली संगीत क्षेत्रमा लुट मच्चाउने ठूलो गिरोह सक्रिय छ । ‘रोयल्टी संकलनको संक्रमणकालमा छौं हामी,’ उनले भने, ‘लागूऔषध बिक्रीवितरणका माफियाजस्तै संगीतका पनि माफिया छन्, ढकालले भने– ‘हाम्रा गीतसंगीत करोडौं मूल्यमा बेचेर खाइरहेका छन् ।’

प्रस्तोता समाजको आठौं साधारणसभासँगै रोयल्टी वितरणको कार्यक्रम राखिएको कार्यक्रममा समाजका अध्यक्ष तुलसी पराजुलीले भने– ‘यातायात क्षेत्रबाट सिन्डिकेट हटेझैं संगीतको सिन्डिकेट तोड्नुपर्छ,’ पराजुलीले भने, ‘हरियो घाँसभित्र लुकेको हरिया सर्प खोज्दै छौं हामी ।’ साथै पराजुलीले सम्पूर्ण गायकगायिकालाई पान नम्बर बनाउन सल्लाह दिए । आफूहरूले वितरण गरेको रोयल्टीमा १५ प्रतिशत कर काटिएको अवगत गराए ।


त्यसैगरी प्रस्तोता समाजका निवर्तमान अध्यक्ष गायक हेमन्त शर्माले पिरामिड शैलीमा रोयल्टी नबाँड्न सुझाव दिए । ‘हरेक पटक एउटैले रोयल्टी पाउनुभएन,’ उनले भने, ‘पाउनेले पाइरहँदा पिरामिडजस्तो बन्ला । दुर्गमका र जायज स्रष्टालाई पनि रकम छुट्याउनुपर्छ ।’ विभिन्न क्षेत्रबाट संकलित रोयल्टी रकमबाट कलेक्टिभ म्यानेजमेन्ट अर्गानाइजेसन (सीएमओ) ले २५ प्रतिशत काट्ने गरेको छ । त्यसबापत् अग्रज स्रष्टालाई सम्मान गर्ने रीत रहेको भन्दै प्रस्तोता समाजले यसपटक वरिष्ठ गायक योगेश वैद्यलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान ग¥यो । उनीसहित पत्रकार कृष्ण कट्टेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार राजेन्द्र सिग्देल लगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु