‘प्रस्ताव धेरै आउँछन् तर मन चोर्ने युवक भेटेकी छैन’

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार

सबिता पोखरेल÷म्यूजिकखबर
अर्घाखाँची जिल्लाको सन्धीखर्ककी सरस्वती श्रेष्ठ यतिबेला सांगीतिक क्षेत्रमा गायिका सहिमा श्रेष्ठको नामले चर्चित र लोकप्रिय बनेकी छिन् । सांगीतिक यात्राको शुरुवात सँगै सरस्वतीबाट सहिमा बनेकी उनी सानो छँदा नाँच्न र गाउन भनेपछि भुतुक्क हुन्थिन् । सांगीतिक पथमा ६ वर्षे यात्रा तय गरिरहेकी उनले २०० भन्दा बढीको संख्यामा गीत गाइसकेकी छिन् । साधना र मेहनतमा विश्वास गर्ने गायिका सहिमाले सांगीतिक यात्राको शुरुवाती दिनमा परिवारबाट सपोर्ट पाइनन् । छोरी राज्यको उच्च ओहोदा पुगोस् भन्ने चाहना थियो परिवारको । पढेर केही गर्न नसके बरु व्यापारीकी छोरी व्यापारी बनोस् तर कलाकारीताको बाटोमा नहिंड्दियोस्, परिवार चाहन्थ्यो । कलाकारीतालाई नै लक्ष्य र सपना बनाएकी सहिमाले गायिका तथा नायिका नै बन्ने लक्षण पनि सानैदेखि नै देखाएकी थिइन् । गाउँमा आयोजित सांस्कृतिक कार्यक्रम, देउसी भैलोका कार्यक्रममा समेत उनले सहभागिता जनाउने गर्दथिन् । तर उनको त्यो सपना र लक्ष्यलाई परिवारले पुरा गर्ने पक्षमा थिएन । कार्यक्रमका लागी जाँदा बिच बाटोबाटै दाजुहरुले जबरजस्ती खोसेर ल्याएको स्मरण पनि छ उनीसँग । कलाकारितामा लागेपछि छोरी÷बहिनी बिग्रीने पो होकी भन्ने भय थियो उहाँहरुमा । तर यो यात्राका लागि दिदी मधु श्रेष्ठको साथ सहयोग भने शुरुदेखि अहिलेसम्म उतिकै रहेको बताउँछिन् । परिवारलाई कला क्षेत्र नराम्रो होइन भन्ने बुझाउन सहिमाको साथमा दिदीको मधुको साथ रहिरह्यो । उनलाई यतिबेला भने घरपरिवारको पनि उतिकै सपोर्ट रहेको छ । यो क्षेत्र नराम्रो होइन, यहाँ केही व्यक्तिहरु पो खराब रहेछन् रहेछन् भन्ने अहिले परिवारले राम्रोसँग बुझ्नु भएको छ । त्यसमा पनि दिदी मधु श्रेष्ठको सहयोगको त आफू ऋणी नै भएको बताउँछिन् । मर्ने बेलामा पनि संगीत र दिदी मधुको नाम नै जप्दै मर्नेछु होला ।

16143029_1165760870208313_1925618470077746427_n
आकर्षक अनुहार, मिलेको जिउडाल र सुरीलो स्वरकी धनि सहिमाको संगीत त शरिरको रक्तसंचारमै प्रवाह भएको बताउँछिन् । २०६५, ६६ सालको ‘खोजी प्रतिभा रियालीटि सो’ बाट उत्कृष्ट ४ भएसँगै उनले गायनलाई पेशा बनाउन हिम्मत कसिन् । पहिलो सांगीतिक कोशेली स्वरुवप एल्बम ‘सहिमा’ आधुनिक गीतिसंग्रह सार्वजनिक गर्दै क्रमसः गायनलाई अगाडी बढाउँन थालिन् । त्यसपछि ‘मस्ति’ र श्रृंगार निकाल्दै संगीतमा निरन्तरता दिंदै आएकी छिन् । नेपालको सांगीतिक पेरिफेरिमा महंगो रकम खर्च गरेर एल्बम निकालेर के गर्नु उपलब्धी शुन्य जस्तै छ । तर, देश तथा विदेशमा आयोजना हुने थुप्रै महोत्सव र मेलामा गाएर उनले खर्च निकालेको बताइन् । उनका एल्बमका धेरै जसो गीतहरुलाई दर्शक श्रोताले मन पराएका छन् । उनलाई ‘हेरेको हेरेकै’ बोलको गीतले सांगीतिक उचाई दिलायो । गायिका मात्रै नभएर उनले केहि म्यूजिक भिडियोमा मोडलिङ पनि गरेकी छिन् । तर सानोमा नायिका बन्ने सपना भएता पनि अब गायनमै रमाउन चाहन्छु, मोडलिङ त कथाको माग मात्र हो, मैले गाएको गितमा मलाई सुहाउने छ भने अवश्य मोडलिङ गर्ने छु –उनले भनिन् । हालसम्म तीन सोलो एल्बम र दर्जनौं नेपाली चलचित्रमा गाइसकेकी छन् । आधुनिक गीत गायनको संख्या पनि उनको नाममा धेरै छ । यतिबेला चौथो एल्बम ‘स्वर्ग’ को तयारी गरिरहेको सहिमाले बताइन् ।
क्वान्टिटी भन्दा पनि क्वालिटीमा विश्वास गर्ने सहिमा सांगीतिक क्षेत्रमा भने मिडियाबाट पाएको अपार साथले पनि यो क्षेत्रमा निरन्तर रहनलाई उर्जा मिलिरहेको बताउँछिन् । सानो काम गर्दा पनि मेरो चर्चा गरिदिनुहुन्छ जसले मलाई ठूलो सपोर्ट मिलेको छ । उसो त सांगीतिक धरातलका थुप्रै व्यक्तित्वहरुले पनि उनको कामलाई सहयोग गरिरहेका छन् । जसमा संगीतकार दिपक शर्माको साथ सहयोग पनि उतिकै मिलेको बताउँछिन् । सांगीतिक यात्राकै क्रममा जब दिपक शर्माको साथमा काम गर्न पाइन् तबबाट नै आफ्नो नाम चर्चित बन्दै गएको बताउँछिन् उनी । जसका कारण स्टेज कार्यक्रममा पनि व्यस्तता बढ्दो छ । सहिमा स्टेज प्रस्तुतिमा गायनसँगै नृत्य गर्नमा माहिर छिन् ।
आधुनिक गीतका अलावा पाश्र्वगायनमा समेत चम्किँदै गरेकी सहिमाले फिल्म ‘हवल्दार सुन्तली’ को गीत ‘तिम्रो डोला–डोला हातमा’ हिट भएपछि स्टेज कार्यक्रममा व्यस्त हुन थालेको खुलाइन् । सहिमाले छोटो समयमै जापान, बेल्जियम, सिंगापुर, मलेसिया, दुबई, बहराइन, नेदरल्याण्डजस्ता दर्जनभन्दा बढी मुलुकमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । उनि भन्छिन्–‘यसै वर्ष दर्जन मुलुकमा सांगीतिक प्रस्तुति दिएँ, सबै देशमा रहेको श्रोता तथा दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया पाएँ,जसले मलाई थप हौसला र प्रेरणा मिलेको छ’ । सहिमा विदेशका बाबजुद नेपालमा हुने कार्यक्रम र गीत रेकर्डिङ पनि व्यस्त छिन् .

sahima
तीजको गीत, आधुनिक,लोकपप देखि ३ दर्जन फिल्मका गीतमा समेत आवाज भरिसकेकी सहिमाले थुप्रै अवार्ड र सम्मानहरु समेत प्राप्त गरेकी छिन् । ‘हेरेको हेरेकै’ बोलको गीतबाट म्यूजिक खबर म्यूजिक अवार्डमा नवगायिका तर्फको अवार्ड र ‘तिम्रा डोला डोला’ बोलको गीतले एलजी डिसिने अवार्डमा पाश्र्व गायिकाको अवार्ड जितेकी छन् । त्यस्तै मस्ती एल्बमको ‘मस्ती’ बोलको गीतबाट म्यूजिक खबर म्यूजिक अवार्डमा पप गायन तर्फको अवार्ड उचालेकी उनका थुप्रै गीतहरु चर्चित छन् । तिम्रा डोला डोला, ढिकीच्याउँ ढिकीच्याउँ, तिमी किन ल्याङ ल्याङ, पिक्चर हिट लगायतका गीतहरु हिट छन् । आजसम्म प्रेममा नपरेकी सहिमालाई प्रेम प्रस्ताव भने धेरै आएका छन् । तर करिअरलाई नै अगाडि बढाउन चाहेकाले प्रेममा नपरेको उनको वुझाई छ । आइलभ यु भन्नेहरु त पलपलमा पाउँछिन् तर उनलाई आजसम्म कुनै पनि यूवकले तानेका छैनन् । आफुलाई माया गर्ने सम्पुर्ण श्रोताहरुलाई धन्यवाद दिँदै आफ्नै नामबाट युटुब च्यानल ‘सहिमा श्रेष्ठ’ लेखेर आफ्ना गीतहरु हेर्न आग्रह गर्छिन् । सहिमाले भनिन्– दर्शक श्रोताहरुले माया गर्नु भएको छ, श्रोताहरुको माया बिना हामी कलाकारलाई टिक्न गाह्रो हुन्छ । त्यसैले अझै धेरै माया गर्दिनु हुनेछ भन्ने आशा अनी अपेक्षा गरेकी छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु