प्रेमध्वजलाई अजर अमर सम्मान, मन्त्रीले भने रोयल्टी भीख होइन अधिकार हो

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७५, शुक्रबार

७ बैशाख, काठमाडौं । गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत तिर्नुपर्ने संगीत रोयल्टी कसैसँग भीख मागेको होइन यो स्रष्टाको अधिकार हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भने– बौद्धिक अधिकारको लागि माग गर्दा भिख भन्छन् भने गीतसंगीतको रोयल्टी तिराउन सरकारले जसरी पनि कानून कार्यान्वयन गर्नेछ । राजधानीमा आजदेखि सुरु भएको ‘मेची महाकाली सांगीतिक अभियान’ कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले स्रष्टाको हक अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताए ।

संगीतकार संघ नेपालले संगीतकर्मी कल्याणकारी कोषको स्थापनार्थ आयोजना गरेको ‘मेची महाकाली सांगीतिक अभियान’को सुरुवातको दिन राजधानीमा विशाल कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको घर बागबजारदेखि आर्मी अफिसर्स क्लबसम्म बग्गीमा राखेर नगर परिक्रमा गराउँदै १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ताम्रपत्र र दोसल्ला सहित लाई ‘अजर अमर सम्मान’ प्रदान गरिएको थियो । प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातबाट गायक प्रधानलाई सम्मान गरिएको हो । सो कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा मन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, एमालेका उपाध्यक्ष वामदेव गौतम लगायत गीतसंगीतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानपछि गायक प्रधानले गोरेटो त्यो गाउँको गीत गाएर सुनाएका थिए ।

शुभ बहादुर सुनामको नेतृत्वमा रहेको बाद्यवादक टोलीको सांगीतिक धूनबाट सुरु भएको ‘मेची महाली सांगीतिक अभियान’मा संगीतकार संघ नेपालको कार्यसमितिले सत्यम् शिवम् सुन्दरम् बोलको गीत गाएर संघको प्रस्तुति दिएका थिए । गायक सत्यराज आचार्यबाट जहाँ छन् बुद्धका आँखाबाट सुरु भएको उक्त कार्यक्रममा गायक योगश वैद्य (सपना भुलाई सारा), दिपक खरेल (तिम्रो त्यो हँसिलो मुहार), कुन्ति मोक्तान (लालीगुराँस), नन्दकृष्ण जोशी र शृङ्खला जोशी (झ्याम्म झ्याम्प), जेबी टुहुरे (आमा दिदी बहिनी हो), मिरा राणा (मखमली चोलो), दीप श्रेष्ठ (बितेका कुराले), शम्भू राई (चलेछ बतास सुस्तरी), नारायण रायमाझी (सुनैले बाँधुला), राजेपायल राई (निष्ठुरीलाई माया गरी) जस्ता गायक गायिकाले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुक गरीब भए पनि संस्कृतिको धनी देश भएको बताउँदै संगीतकर्मीको अभियानमा साथ दिने बताए । त्यस्तै प्रमुख अतिथि प्रचण्डले कलासंस्कृतिलाई बचाउन संगीतकार संघले थालेको अभियानमा आफ्नो साथ रहने बताउँदै संगीतकर्मीहरुलाई रोग, भोकबाट मर्न नदिन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका महासचिव महेश खड्काले स्वागत मन्तव्य दिँदै अभियानको बारेमा प्रष्ट पारेका थिए भने लक्ष्मण शेषको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई मन्दिरा ढुंगेलले संचालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु