मन्जु प्रकरण: वार्ता अझै अन्यौल । कहाँ लुके संघका अध्यक्ष ?

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७०, आईतवार

काठमाडौं, १६ चैत । यतिखेर गायिका मन्जु महतको प्रकरणले सडक तातिरहेको छ । सम्पूर्ण कलाकारहरु सडकमा उत्रिएर दोषीमाथि कारवाहीको माग गरिरहेका छन् भने त्यसको प्रतिकारमा सरकार लागिरहेको छ । गोंगबु देखि रत्नपार्क चल्ने माइक्रो बस व्यवसायी संघका अध्यक्ष सानुकाजी महर्जन हिजोसम्म काठमाडौंमा भेटिएका थिए भने अहिले वार्ताका लागि उनी मलेखु आइपुगेको भनी वार्तास्थल १६ खुट्टे प्रहरी कार्यालयमा भनिरहहिएको छ । किन यसरी लुकाइँदैछ सानुकाजीलाई ? गायिका मन्जु महत सवार रहेको स्कुटरलाई ठक्कर दिने माइक्रो पनि उनै अध्यक्षको रहेको पुष्टि भइसकेको छ भने मन्जुको निधन भएको पनि दुई दिन भइसकेको छ । शान्तिपूर्ण रुपमा कलाकारहरुले पीडितले पाउनुपर्ने न्यायको बारेमा वकालत गरिरहँदा सरकार मौन रहेको छ । पीडित पक्षले मन्जुको अहिलेसम्म लागेको हस्पिटल खर्च, उनले पाउनुपर्ने क्षतिपूर्ति र दुई बच्चाका पालनपोषणको जिम्मा लिनुपर्ने माग राख्दै आइरहेका छन् । विहीबारदेखि महत उपचार रहेको ग्राण्डी हस्पिटलले हिजो ४ बजे मात्र निधन भएको घोषणा गरेको हो । त्यसपछि सम्पूर्ण कलाकारहरु कानुनी उपचारका लागि सडकमा उत्रिए पनि हिजो र आज भएको वार्ता असफल भइरहेको अवस्था ।
हिजो भएको वार्तामा महाराजगन्ज प्रहरी प्रभागका डिएसपी प्रभु ढकालले तपाईंहरु अब सडकमा आउनुस् उतै भेटुला भन्दै पीडितलाई न्याय दिनबाट पन्छिएपछि आज भएको सडकको धर्ना कार्यक्रममा पनि प्रहरीबाट नै हस्तक्षेप बढिरहेको छ । महतलाई माइक्रोले ठक्कर दिएको स्थान गल्कोपाखामा धर्ना दिइरहेका कलाकारहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा केही कलाकारहरु घाइते बनेका थिए भने गोंगबुमा भएको जुलुसमा १२ जना कलाकारलाई पक्राउ गरिएको थियो । अहिले वार्तास्थल भएको १६ खुट्टे प्रहरी कार्यालय वरिपरि कलाकारहरु धर्नामा छन् भने वार्ता अझैसम्म निचोडमा पुग्न सकेको छैन । जसका कारण गायिका महतको शब अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु