मातातीर्थ औंशीको अवसरमा योगीले ल्याए ‘आमा’ {भिडियोसहित}

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७५, मंगलवार


काठमाडौं – गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’बोलको गीत सार्वजनिक भएको छ। आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशीको अवसर पारेर सार्वजनिक गीतमा गीतकार तथा कवि अर्जुन पराजुलीको शब्द, बिबी अनुरागीको सङ्गीत छ। सोमबार राजधानीको महराजगन्ज स्थित एम्बास्डर रेस्टुरेन्टमा वरिष्ठ अधिबक्ता, गीतकार तथा सङ्गीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो।

 

जन्म दिने आमाको वेदनामा छटपटाएको एक सन्तानको कथा प्रस्ट्याउने गीतको भिडियो पनि एक साथ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा कलाकार सरोज खनाल, रश्मी भट्ट र सुष्मिता कार्कीको अभिनयले निकै भावुक र मातृत्व वेदनालाई छर्लङ्ग पारिदिएको छ। गीत सार्वजनिक कार्यक्रममा बोल्दै अधिवक्ता भीमार्जुनले शिशिर योगीको स्वरमा जादू रहेको भन्दै अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै शसक्त रहेकाले गीत राम्रो बनेकोमा कुनै शंकै नभएको बताए।

 

गीतमाथि बनेको म्युजिक भिडियो हेरेर आचार्य भावुक बनेका थिए। कार्यक्रममा गीतकार तथा कवि अर्जुन पराजुलीले संसारमा आमा भन्ने शब्द सबैभन्दा प्रिय शब्द रहेको बताउँदै शिशिरको स्वर र बिबी अनुरागीको सङ्गीतमा गीत बनाउन पाँउदा हर्षित भएको बताए। आफ्नी आमाको सम्झनामा रचिएका शब्दहरुलाई संगीतबद्ध लयमा सुन्दा कयौं पटक आँसु झरेको भावना पोख्दै पराजुलीले आमालाई सधैं माया र सम्मान गर्न अनुरोध गरे।

 

गायक शिशिर योगी स्वयंले पनि यो गीत गाउँदा आफू धेरैचोटि भक्कानिएको बताए। आफू सहभागी हुने कुनै पनि सार्वजनिक समारोहमा यो गीत गाउने प्रयास गर्दा पनि आखाँमा आँसु नथाम्मिएर गाउन नसकेका क्षणहरु सम्झँदै, जीवनको रोजाइको एक अर्को उत्कृष्ट गीतमा स्वर भर्न पाउदा धेरैनै खुसी भएको योगीले बताए।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु