मौलिक गीतसंगीत सधैं सफल हुन्छन् : गायक, विरही कार्की

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७२, मंगलवार

विरही कार्की लोकगायनको क्षेत्रमा चर्चित नाम हो । २०५३ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर यो क्षेत्रमा निरन्तर लागिरहनुभएका कार्की लोक दोहोरीको क्षेत्रमा शब्द, लय र गायनको त्रिवेणी नै हुनुहुन्छ । लोक गायनको क्षेत्रमा मौलिकतालाई केन्द्रविन्दुमा राखेर लोकको मर्मअनुसार चल्न सक्नुपर्छ भन्ने मानसिकताका साथ अघि बढ्नुभएका गायक कार्कीले धेरै म्यूजिक अवार्ड, सम्मान प्राप्त गरिसक्नु भएको छ भने एकल साँझसमेत सम्पन्न गरिसक्नुभएको छ । पछिल्लो समयमा बजारमा आएका दुई गीत ‘आमा–२’ र ‘गुराँस फुल्ने ठाउँतिर’ लाई केन्द्रित गर्दै उहाँसँग म्यूजिकखबरले गरेको कुराकानीः

आमा–२ कस्तो गीत हो ?
आमा–२ समग्र नेपाली लोकगीतको प्रतिनिधि गीत हो । जसले सम्पूर्ण आमाहरुको प्रतिनिधित्व गरेको छ ।

‘आमा–१’ गीतले जति चर्चा पाएको थियो त्यत्तिकै चर्चा यसले नि पाउँछ त ?
त्यो गीतभन्दा बढी चर्चा पाउनेमा म विश्वस्त छु । किनकी आमा–१ मा जन्मदिने आमा र विदेशिएका छोराहरुको कथालाई केन्द्रित गरिएको थियो त्यसले मेरो गायनमा मात्र होइन सम्पूर्ण नेपालीहरुको मनमुटुमा बस्न सफल भएको थियो । आमा–२ मेरो आमाको वास्तविक गीत हो । संयोगले धेरैको वास्तविक जीवनसँग मेल खाएको छ त्यसैले पनि अझ बढी चर्चा पाउँछु भन्नेमा ढुक्क छु ।

आमा–२ सँगै ‘गुराँस फुल्ने ठाउँतिर’ गीत पनि बजारमा ल्याउँदै हुनुहुन्छ, कुनले कति चर्चा पाउला त ?
आमा–२ लोकगीत हो । आमाको माया नगर्ने सन्तान र सन्तानको माया नगर्ने आमा सायदै हुँदैनन् त्यसैले यो गीत सफल हुन्छ । त्यस्तै गुराँस फुल्ने ठाउँतिर समग्रमा राष्ट्र र राष्ट्रियताप्रति समर्पित गीत हो । मौलिक भाका, मौलिक शब्द भएको कारण छिट्टै सबैको जनजिब्रोमा झुन्डिन सफल हुनेछ । दुवै गीतले उत्तिकै चर्चा पाउँछन् किनकी यी गीत फरक फरक विषयवस्तुमा छन् ।

birahi karki

तपाईंका गीत प्राय गरेर वास्तविकतामा नै केन्द्रित हुन्छन् नि ?
नेपाली लोक गीत संगीत भनेकै मौलिक र वास्तविक गीत हुन् । त्यसैले म वास्कवितालाई बढी केन्द्रित गर्छु र गीत गाउँछु । तिनै गीत बढी चर्चामा आउँछन् जसले मेरो गायकीलाई पहिचान दिलाउन सफल भएका छन् ।

विरही कार्कीलाई गायक भनेर चिनाउने गीत कुन हो ?
हुन त धेरै गीतहरु सफल भए तर मेरो गायनमा कोसेढुंगा बनेर ‘सुनखानीमा सुन’ बोलको गीत आयो । त्यो भन्दा अगाडि जति गीत गाए ठीकै मात्र भएको थियो तर त्यो गीतपछि मैले गायनमा नाम, दामसँगै पहिचान बनाउन सफल भएँ । त्यसपछि मेरो शब्द, लय, स्वरमा रहेका मायालु हजार, होला मायालु, जुनकिरी, भन्देउ के हो माया, जय जय नेपालजस्ता गीतहरुले बढी चर्चा पाउन सफल भए ।

पछिल्लो समय बिक्ने र टिक्ने गीत बन्न सकेन भन्ने आरोप गीतसंगीत क्षेत्रमा लागिरहन्छ यसलाई कसरी लिनुहुन्छ ?
बिक्ने गीत आएन भन्दा पनि बिक्ने ठाउँ भएन । अलिकति भएको बिक्ने ठाउँमा पनि खराब मानसिकता भएकाहरुको पहुँच बढ्यो र स्रष्टालाई घाँटी थिच्ने काम भयो । अब टिक्ने गीतको कुरा गर्दा वास्तविक मौलिकतामा रहेर निर्माण गरिएका गीतहरु सदाबहार भइरहेका छन् । मेरो प्राय सबै गीत हिजोदेखि आजसम्म उत्तिकै स्रोताको मनमुटुमा छ भने त्यो टिकेको अवस्था हो । टिक्ने र मौलिकता बोकेकै गीत भएर पनि होला मेरा सिर्जनाहरुले म्यूजिक अवार्डहरु चुमिरहेका छन् भने मुलुकभित्र हुने प्राय म्यूजिक अवार्डमा उत्कृष्ट पाँचभित्र परिरहेकै हुन्छन् ।

गीतसंगीतसँगै सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ नि ?
एउटा गायक भनेको समाजको प्रतिनिधि पात्र हो । गायकले समाजसेवा गर्नु भनेको ठूलो कुरा होइन । समाजको कुनै पनि व्यक्तिले आफ्नो समाजमा आइपरेका कुरालाई समाधान गर्नुपर्छ, समाज विकासको काममा लाग्नुपर्छ । त्यसमाथि पनि गायक गायिकाले जस्तो काम ग¥यो त्यसको सिको गर्नेहरु धेरै हुन्छन् । हो मैले पनि गत वर्ष एकल साँझ गरे, जसबाट आएको रकम चेपाङ बालबालिका शिक्षादिक्षाको लागि खर्च गरेँ । त्यस्तै गोर्खा जिल्लामा गएर मृगौला पीडितका लागि काम गरेँ । यी त केही उदाहरण मात्र हुन् यीभन्दा धेरै सामाजिक काम हामी गायकगायिकाले गर्नुपर्छ ।

birahi karki1

गीतसंगीतमा लागेर कति कमाइयो त ?
कमाइ राम्रै छ । म लोकगीत गाएरै बाँचेको छु, मेरो परिवार पालेको छु, काठमाडौंमा आफ्नो स्टाण्डर्ड मेन्टेन गरेको छु । त्यतिमात्र होइन धेरै स्रोताहरुको नजरमा विरही कार्की भन्ने नाम स्थापित गराउन सफल भएको छु । त्योभन्दा ठूलो कमाई मैले खोज्नुपर्ने नै छैन ।

नयाँलाई पुरानाले प्राथमिकता दिँदैनन् भन्ने गरिन्छ नि ?
त्यो सबै कलाकारमा लागू नहोला । कुनै एक दुई जनाले गरेका होलान् तर सबै कलाकारले नयाँ भनेर हेप्ने कुरै हुँदैन । मेरो कुरा गर्नुहुन्छ भने मैले धेरै कलाकारलाई स्थापित गराइदिएको छु । मेरो शब्द र लयमा नयाँ गायक गायिकाको धेरै गीत सफल भएका छन्, जुन गीतले अवार्ड चुम्नसमेत पछि परेका छैनन् ।

अन्त्यमा ?
लोकगीतमा लाग्ने सबैले लोकको पहिचान हुने मौलिक सिर्जना गर्नुस् भन्न चाहन्छु । नयाँ आउनेले पनि गीतसंगीतमा राम्रो ज्ञान लिएर आउनुहोला, जसले आफ्नो क्षेत्रको इज्जत राख्न सकोस् । पछिल्लो समय लोकदोहोरीमा विकृतिहरु आइरहेका छन्, लोक दोहोरीको नाममा मौलिकता मारिएको छ त्यो अवस्था हुन नदिनका लागि सबै स्रष्टाहरु सजग हुनु आवश्यक छ ।

प्रस्तुतिः सुमन बैरागी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु