म्यूजिक भिडियोको प्रिमियरमा मन्त्री भक्कानिए, गायक रोए

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार

३ जेठ, काठमाडौं । राजधानीमा दिनदिनै म्यूजिक भिडियो सार्वजनिक भइरहेको हुन्छ । भिडियो सार्वजनिक गर्ने आ–आफ्नै तरिका हुन्छ । म्यूजिक भिडियो प्रिमियरमा रुनेभन्दा हाँस्ने नै धेरै हुन्छन् । तर गायक प्रकाश सपुतको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई हेरिसकेपछि धेरैका आँखा रसाए होलान् । म्यूजिक भिडियोलाई सार्वजनिक गर्न आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट भक्कानिएर आँसु झार्न थाले भने गायक प्रकाश सपुत आफैं रुन पुगे । ‘बोल माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा यसरी मन्त्री भावुक बनेका थिए ।

मन्त्रीले म्यूजिक भिडियो हेरिसकेपछि भने– ‘युवाहरु पलायन भएपछि कफनमा बन्द भएर नेपाल भित्रिनुको पीडाभित्र रुमलिएको नेपाली समाजको कथाले मेरो मन भक्कानियो, भावुक भएँ ।’ वैदेशिक रोजगारमा युवाहरुलाई नपठाउने दिनको निर्माणमा म जुट्नेछु भन्दै मन्त्रीले स्वदेशमै स्वरोजगार अभियान चलाउने उद्देश्य रहेको समेत बताए ।


कार्यक्रममा वरिष्ठ लोक गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीले आफूले निर्माण गर्न नसकेको सबैभन्दा फरक सोचमा प्रकाश सपुतले गीतसंगीतको साथमा भिडियो निर्देशन गरेको बताए । साथै आफूलाई पनि गाउन दिएको धन्यवाद व्यक्त गरे । त्यस्तै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्ष प्रजापति पराजुली, निवर्तमान अध्यक्ष चन्द्र शर्मा, अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष रमेश बिजी लगायतले प्रकाश सपुतको सिर्जना क्षमताको प्रशंसा गर्दै सफलताको शुभकामना मन्तव्य दिएका थिए ।


त्यस्तै कार्यक्रममा गायक प्रकाश सपुतले भने– ‘आफ्नै हातले विधाइ गरेको दिदीको, फूपुको श्रीमानको लास जब एयरपोर्टमा बुझिन्छ तपाईंलाई कस्तो फिल हुन्छ त्यो मैले फिल गरेको छु । श्रीमान स्वर्गमा तर्ला किन तर्ला भनेर किरिया बसिरहेकी श्रीमतीलाई उठाएर ल्याउँदा श्रम र बिमाको लागि ल्याउँदाको पीडाभित्र मैले महसुस गर्न पाएको छु ।’ नयाँ पुस्ताको सबैभन्दा कान्छो अनुहार भए पनि मलाई पीर छ, चिन्ता छ नेपाली संगीतको उनले रुँदै भने – ‘तर मलाई डर पनि छ । मैले चिन्ता र पीर मात्रै गरेर मेरो हुर्किँदै गरेकी छोरीले भात खान पाउली, श्रीमतीको इच्छा पूरा गर्न सकुँला ?’ म भन्न केही आएको छैन सबैलाई आभार प्रकट गर्न आएको हुँ, प्रकाशले आँसु पुछ्दै भने । पृथ्वी थकालीको कारण आफू यो ठाउँमा आएको बताए । पृथ्वी थकालीजस्तो अरुको मन बुझ्ने मान्छे मैले नभेटेको भए आज यो स्टेजमा आएर बोल्ने मौका हुँदैनथ्यो म खाडीमा हुन्थें होला सपुतले भने ।

 

गीतको शीर्षक हेर्दा लाग्छ माया प्रेमभित्रको एउटा कथा होला तर भिडियो हेरिसकेपछि लाग्छ एउटा समाजको कारुणिकताभित्रको यथार्थ कथा । गीत सुन्दै जाँदा र भिडियोलाई मनभित्र राख्दै जाँदा आँखा रसाउनु, भावुक हुनु र भक्कानिनु सरल रुपमा देखिन थाल्छ । हो त्यही म्यूजिक भिडियोको निर्माण गरेका थिए गायक, गीतकार, संगीतकार प्रकाश सपुतले । त्यही गीतभित्र वरिष्ठ गायक नारायण रायमाझी र शान्तिश्री परियारको स्वरले पनि मन दुखाउन पुग्छ । हरेक शब्दसँगै बहकिएको दृश्यले मानिसका मनलाई विक्षिप्त पार्न पछि पर्दैन । यो एउटा समाज बोकेको म्यूजिक भिडियो र गीत बनेको छ ‘बोल माया’ ।

भिडियोलाई प्रकाश सपुतले निर्देशन गर्नुको अलावा आफैं अभिनय समेत गरेका छन् । त्यस्तै मोडल अन्जली अधिकारीको अभिनय अहिलेसम्मकै उत्कृष्टताको सूचिमा ठहरिएको धेरैले बताएका थिए । करण चैंसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको यस म्यूजिक भिडियोमा देवेन्द्र बब्लुले सहनिर्देशन गरेका छन् । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले प्रकाशन गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु