राजबंशीको मायाको नशा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७४, बुधबार

जेष्ठ १०, काठमाडौं । गायक बलराम राजवंशीको आधुनिक गीतगजलसंग्रह ‘मायाको नशा’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजिक बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त एल्बम सार्वजनिक गरिएको हो । बलाराम राजवंशीका संगीत गुरु गुरुदेव कामत, संगीतकार संघ नेपालका महासचिव लक्ष्मण शेष, गायक प्रमोद खरेल, संगीतकार हरि लम्साल लगायतका विशिष्ट अतिथिहरुको हातबाट गीतगजलसंग्रह मायाको नशा सार्वजनिक गरिएको हो ।

balram rajbanshi
विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गायक बलराम राजवंशीले गीतबाट उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । राजवंशी भाषामा आधा दर्जन एल्बम सार्वजनिक गरिसकेका राजवंशीले नेपाली भाषामा भने पहिलो एल्बम सार्वजनिक गरेको बताएका थिए । विगत लामो समयदेखि संगीत स्कुल संचालन गरिरहेका राजवंशी स्टार होटलहरुमा आफ्नो प्रस्तुति दिँदै पनि आएका छन् । भारतको इलाहवादबाट संगीतमा ज्ञान हासिल गरेर अहिले निरन्तर पनि गुरुदेव कामतसँग संगीत शिक्षा लिइरहेका राजवंशीको स्वरको प्रशंसा सबैले गरेका थिए ।

balram_rajbanshi
बलरामका सहपाठी प्रमोद खरेलले राम्रो स्वर, संगीतको शिक्षक भएर पनि चर्चाका हिसाबले पछाडि रहनु भएका भन्दै राजवंशीभाषाबाट नेपाली भाषामा गीत गाउनु चुनौति भएको उल्लेख गरेका थिए । त्यस्तै संगीतकार महेश खड्काले बलराम राजवंशी सम्भावना लुकाएर बसेको गायकका रुपमा चिन्न पाएको हुँदा आफ्नो संगीतमा गीत गाउने अवसर दिने बताएका थिए । खड्काले गीतसंगीतको क्षेत्रमा अधिकारको लँडाई लड्दै आएको हुँदा कुनै दिन समाजले मेरा छोरा छोरी गीतसंगीतमा लगाउनुपर्छ भन्ने वातावरण सिर्जना अब छिट्टै हुने बताए । त्यसैगरी प्रमुख अतिथि शम्भुजित बास्कोटाले राजवंशीको स्वरको प्रशंसा गर्दै सम्भावना धेरै भएको गायकका रुपमा पाएको बताए । कुनै दिनको उनको प्रस्तुति सुन्दा आफूले जुन गीत भन्यो त्यो गीतलाई न्यायपूर्वक गाएको देख्दा यो व्यक्ति भविश्यमा राम्रो गायक बन्नेछ भन्ने आशा लिएको थिएँ त्यो दिन अब आइसकेको छ बास्कोटाले भने । कार्यक्रम संचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए । एल्बममा ५ वटा गीत समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु