राधानीबाट सुरु हुँदै ७७ जिल्लामा मेची–महाकाली सांगीतिक अभियान

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७५, बुधबार

५ बैशाख, काठमाडौं । ‘गीतसंगीत स्रष्टाको बौद्धिक सम्पत्ति’ भन्ने जानकारी गराउन हेतुले नेपाल संगीतकार संघ ‘मेची महाकाली सांगीतिक अभियान’मा निस्किँदै छ । संघका महासचिव तथा संगीतकार महेश खड्काका अनुसार अभियान देशको ७७ जिल्ल्लामै हुनेछ ।

प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा बहस भइरहेको बेला संघले सांगीतिक अभियान गर्न लागेको हो । ‘मेची महाकाली सांगीतिक अभियान’को पहिलो कार्यक्रम राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा शनिबार हुँदैछ । ‘गीतसंगीत सम्बन्धित स्रष्टाको बौद्धिक सम्पत्ति हो’ भन्नेबारे जान्न यस अभियानले मद्दत गर्ने संघको विश्वास छ ।
त्यस्तै, यस अभियानको अर्को उद्देश्य सांगीतिक स्रष्टाको उपचार तथा अन्य सहयोगका लागि संगीतकर्मी कोषमा वृद्धि गर्नु रहेको संघले जनाएको छ । संघका अनुसार अभियानका लागि ५० भन्दा बढी गायक–गायिका एवं संगीतकार गायन अभ्यासमा व्यस्त छन् ।


अभियानको पहिलो कार्यक्रममा अग्रज पुस्ताका संगीतकार शम्भुजित बाँस्कोटादेखि तन्नेरी पुस्ताका संगीतकारहरू समेत प्रस्तुत हुँदैछन् । कार्यक्रममा गायक प्रेमध्वज प्रधान र योगेश वैद्यलाई १ लाख ११ हजार रुपैयाँसहितको अभिनन्दन गरिने संगीतकार संघले जनाएको छ । ८२ वर्षीय प्रधान अझै गीतसंगीतमा सक्रिय छन् । उनको सक्रियता र योगदानको कदर गर्दै अभिनन्दन गर्न लागेको संघले जनाएको छ ।

संघले देशभर हुने अभियानमा २५० भन्दा बढी कलाकारको सहभागिता रहने जनाएको छ । तर, कुन स्थानमा को कलाकार रहने भन्नेचाहिँ टुंगा छैन । महासचिव तथा संगीतकार खड्काले भने, ‘मुलुकका ७७ जिल्लाको ९० स्थानमा सांगीतिक अभियान गर्दैछौ । जसमा कुन कलाकारलाई कहाँ पायक पर्छ, त्यहाँ प्रस्तुत हुन्छ ।’ यो अभियान नेपालको हालसम्मकै ठूलो नेपाली सांगीतिक अभियान हुने विश्वास संघले दावी गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु