संगीतकार भट्टराईको निधन

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७४, शनिबार

२ मंसिर, पोखरा । निमोनियाबाट ग्रसित पोखरेली संगीतकार दीपक भट्टराईको ५५ वर्षको उमेरमा शनिबार निधन भएको छ । पोखरा सांगीतिक कलाकार संघका संस्थापक अध्यक्ष रहेका भट्टराईको पछिल्लो समय स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । निमोनियाले च्यापेपछि उपचारका लागि गैह्रापाटनस्थित फिस्टेल हस्पिटल ल्याइए पनि उपचार सम्भव नभएपछि शुक्रबार लेकसाइडस्थित घरमै लगेर राखिएको थियो ।


भट्टराई पछिल्लो समय नयाँ गीति एल्वम निकाल्ने तयारीमा थिए । पछिल्लो २ वर्षदेखी नयाँ एल्वमका लागि भनेर उनले कर्णदास, सत्यराज आचार्य, स्वरुपराज आचार्यलगायतको स्वरमा केहि गीतहरु रेकर्ड गरिसकेको गीतकार राजेन्द्र अधिकारीले जानकारी दिए । स्वर्गिय भट्टराईको पहिलो एल्वम ‘प्रथम स्मृति’ बजारमा आइसकेको छ । भट्टराईको शब्द र संगीत रहेको र सर्वज्ञमान शाक्यले स्वर दिएको ‘तिमीलाई दोबाटोमा’ गीत तत्कालीन समयमा लोकप्रिय भएको थियो । भारतको आसाम राज्यबाट पोखरा आएका उनी मेण्डोलियन वाद्यवादक हुन् ।

पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठको शब्द र गायक रामकृष्ण ढकालको स्वरमा रहेको अर्को चर्चित गीत ‘पिरै पिरको पहाड बोकी’मा पनि भट्टराईले संगीत भरेका थिए । स्वर्गीय भट्टराईको शनिबारै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टी गरिएको छ । भट्टराईको पार्थिव शरिरमा उनका माईला भाई कृष्णप्रसाद भट्टराईले दागवती दिएका थिए । उनको कान्छो भाईको एक वर्षअघी मात्र निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु