सङ्गीतकार विजयसिंह मुनाल रहेनन

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७४, सोमबार

१ माघ, काठमाडौं । प्रसिद्द सङ्गीतकार बिजय सिंह मुनालको निधन भएको छ। स्रोतका अनुसार सङ्गीतकार मुनाल पारिवारिक घुमघामको शिलशिलामा सहकर्मीहरुका साथ् धनगढी पुगेका थिए ।

हिजो बेलुका ९ बजे उनले काठमाडौँ बानेश्वरमा रहेकी आफ्नी छोरी गायिका वृन्दासँग टिकापुर घुमघामको दिनभरिको रमाइलो अनुभूति सुनाएका थिए। रमाइलो घुमघाम गरि परिवारसँग कुराकानी गरेर सामान्य अवस्था मै सुतेका थिए तर बिहान अचानक उहाँ मृत अवस्थामा भेटिएको रेडियो नेपालकी बरिष्ठ रेडियो प्रसारक सुर्य कुमारी पन्तले जानकारी दिइन् । अहिले संगीतकार मुनाललाई धनगढीबाट एम्बुलेन्समा हालेर काठमाडौँ ल्याईदैछ भने भोली विहान ८ बजे श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमा राखिने बताइएको छ ।

बिजय सिंह मुनालका ५ दर्जन भन्दा बढी गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् भने रेडियो नेपाल बाहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन्। उदित नारायण झाको सबै भन्दा मिल्ने साथीका रुपमा मुनाललाई लिइने गरिन्छ । उदितनारायण मधु क्षेत्री र बिजयसिंह मुनालको सहयात्रा कुनै बेला नेपाली संगीतमा निकै जमेको थियो । उदित नारायण झालाई मुम्बैमा स्थापित गराउन समेत उनले महत्वपुर्ण भूमिका खेलेका थिए ।

उनी कुनै ताका रेडियो नेपालका गीत रेकर्डहरुमा कङ्गो बादन गर्थे ,स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रुपमा देखा पर्ने गर्थे ।रेडियो नेपालको गीत रेकर्डको यात्रामा उनी २०३५÷२०३६ साल देखि कङ्गोबादकका रुपमा टेक बेसीस सेवामा रहेका थिए। सयौं गीतहरुमा कङ्गोवादनमा साथ दिँदै आएका छन्।

नयाँ पुस्तामा पनि निकै भिजेका थिए उनी बानेश्वर स्थित आफ्नै निवासमा नयाँ पुस्ताका नवोदित प्रतिभाहरुलाई सङ्गीत प्रशिक्षण गरेर आफ्ना जीवनका अमुल्य पल बिताउने गर्दथे। उनका तमासा भएछु म त मायाको बजारमा, तिम्रो अधरले आदि गीत लोकप्रिय छन् । म्यूजिकखबर परिवार उनको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु