सङ्गीतको शक्ति, आशक्ति र सत्ता

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

बुलु मुकारुङ


bulu mukarung_music
संसार शक्ति र सत्तासँग जोडिन, पुग्न वा टाँसिन लालायित हुन्छ । शक्ति र सत्तामा पुग्ने लालसाले मान्छेले जीवन लिन्छ, दिन्छ र नरसंहार नै गरेको पनि देखिन्छ । आखिर शक्ति र सत्तामा के मधु–मोह हुन्छ ? जसले मान्छेलाई लोभ्याउछ, आकर्षित गर्छ र सत्तामा जान मरिहत्ते नै पार्छ । मह मोहनीमा मातिँदा मौरी पनि मृत्युमा पुग्ने डर हुन्छ । मह, मद–मदिराले मान्छेलाई तुरुन्त उर्जा दिए जस्तो भएपनि शक्तिहीन वा मलिन बनाउँछ र मान्छेहरू मात्छन्, मातेर मत्थु हुन्छन् । त्यस्तै पो हो कि शक्ति र सत्ता भनेको ? किनभने मान्छे सत्तासिन भएपछि मद्होस हुन्छ । सत्ता बाहिर मान्छे मुर्मुरिन्छ वा कहिले काहीँ असिम चाहनाले मूर्छित् हुने पनि डर हुन्छ । तर सङ्गीतको सत्ता मनोहारी हुन्छ ।
सङ्गीतको सत्ता मूच्र्छना होे त्यसैले सङ्गीतको सत्ता सदाबहार हुन्छ । मूच्र्छना त्यो मधुरध्वनि हो जसले मान्छेका अन्तरङ्ग अवयवलाई प्रतिध्वनित गरिदिन्छ । त्यस अर्थमा सङ्गीतको आफ्नै संसार हुन्छ । निश्चित खगोल अनि भूगोल हुन्छ । विश्व–परिवेश हुँदाहुँदै पनि फेरि देश अनि परदेश हुन्छ । कन्दरा, खोँच हुँदै सङ्गीत सानो गुफामा पनि सीमित हुन आउँछ । सङ्गीतको विन्दु र व्यापकता बुझ्न सङ्गीतकै योग अनि प्रयोग दुवै बुझ्नु जरुरी हुन्छ ।

पाश्चात्य सङ्गीतको उद्भव १०–११ औँ शताब्दी भन्दाअघि नै भए तापनि यस भन्दा पूर्वको अभिलेख धुमिल नै देखिन्छ । यसको एउटै कारण हुन सक्छ कि यस पछाडिका कर्म, कृति र कलाकारका सबिस्तार आलेखन गरिए वा हुन थाल्यो । विश्व–सङ्गीतको इतिहासले यही प्रमाणित गर्दछ । तर पूर्वीय सङ्गीतको इतिहास प्राचीन वेद कालीन समयसँग जोडिन्छ । जति बेला राजनैतिक सत्ताको भन्दा ज्ञानी, गुणी, विवेकी र साधकहरूको साधना सत्ताले विशेष महत्व राख्दथ्यो । सामगान र सधानासँग सङ्गीतको सत्ता यहीँनिर जोडिनु जरुरी देखिन्छ । यी त भए व्यवस्थित र विधिसम्मत् ढङ्गबाट अगाडि आएको अर्थात् शास्त्रादिले अगुवाई गरेको सङ्गीत जसको सत्ता अहिले पनि निरन्तर चलिरहेको छ । सङ्गीतभित्रका खोला–नाला र भङ्गालाहरू अनेकन् छन् जो असिम, अव्यक्त र अवर्णनीय छन् भन्दा अत्युक्ति नहोला ।
सङ्गीतको विन्दु ध्वनिसँग सम्बन्धित हुन्छ । शास्त्रले यसलाई नाद भनेको छ । यही ध्वनिसँग नाद र नादसँग आहद नाद अनाहद नादको परिकल्पना गरिएको छ । यसको व्यापकता सङ्गीतको सिङ्गो स्वरूप हो जसले विशाल रचनादेखि ससाना टुक्रे रचनालाई समेत अथ्र्याएको देखिन्छ । सङ्गीतको योग शास्त्र, विधि र साधना हो भने प्रयोग प्रस्तुति, प्रदर्शनी र पेसा पनि हो । त्यसैले इच्छा, आकांक्षा, चाहना वा रहर–लहडले सङ्गीतको सत्ता प्राप्तीका लागि विश्वमा राजादेखि रङ्कसम्म होमिएका थिए । जसको सानो उदाहरण रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेका मिथकादिलाई लिन सकिन्छ । सङ्गीतको शक्ति वा सत्ता यहाँनिर जोडिनु जरुरी हुन्छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा वैदिक युगदेखि नै हिमवत खण्डमा सङ्गीत साधनाका लागि योगी, तपश्वी, गान्धर्बहरूले अभ्यास गरेको पवित्र भूमि हो । इतिहासका अहिर, किरात वा गोपालहरूलाई छोडेर लिखित सन्दर्भमा जाने हो भने लिच्छवी कालीन वादित्रगोष्ठी, पे्रक्षमण्डली, ध्वजगोष्ठीका हुँदै आएको मल्लकालीन खलः, खेल, दबु–डबली आदि सङ्गीतको सत्ता र शक्तिको एकाङ्की हो । यी तत्कालीन सत्ताधारी राजा, रजौटा वा शासकादिले जानेर वा नजानी प्रयोग गरे । नेता वा शासकादि आफू स्वयम् गायक, वादक वा रचनाकार हुने उत्कन्ठा पाल्नु पनि साङ्गीतिक सत्ता–शक्तिको नमूना नै हो । त्यस बेला पश्चिमी मुलुकमा सङ्गीतको नवयुग (रेनेसा) सुरू भइसकेको थियो । युरोपेली जनमनमा सङ्गीतको सत्ताले कब्जा गरिसकेको थियो । बाख, विथोबन, मोजार्ट, वेबर आदि तत्कालीन युगका सङ्गीत सत्ताधारी हुन् । जुन परम्परा र प्रचलनलाई विश्वले अहिले पनि पछ्याई रहेको पाइन्छ ।
इतिहासको आधुनिककाल शाह, राणा हुँदै प्रजातन्त्रको उदय नेपाली सङ्गीतको आधुनिक उठानको प्रथम चरण हो । यस बीचमा अनेकन् साधकहरू साङ्गीतिक समर जुटेका देखिन्छन् । सङ्गीतसाधक मात्र होइन राज्य र सत्ताधारीले समेत सङ्गीतको शक्तिलाई आत्मसात् गरेको देखिन्छ । तत्कालीन कतिपय शासक, राजा, नेता सङ्गीतानुरागी हुनुले त्यस कुराको पुष्टि गर्दछ । जसले सङ्गीतको सत्तालाई अष्पृष्य रूपमै भए पनि स्वीकार गरेको देखिन्छ । प्रजातन्त्र प्राप्तीका लागि गरिएको क्रान्ति, विद्रोह र आन्दोलनका लागि प्रयुक्त गीत–सङ्गीत अनि गायन–वादनका हिसाबले पनि सङ्गीतको शक्ति र सामथ्र्यलाई स्वीकार गरिल्याएको पाइन्छ । शुक्रराज शास्त्रीको रचना ‘न घरलाई घर कहिन्छ’ लाई मेलवादेवीले डिस्क रेकर्ड मार्फत् जनजिब्रोमा ल्याएपछि सत्तापलटको आरोपमा दरबारबाट मेलवादेवीलाई निकालिएको थियो । राणा शासनले पनि सङ्गीतको शक्तिलाई बुझेको देखिन्छ । यही क्रमको पछिल्लो बहुचर्चित गीत हो ‘गाउँ गाउँबाट उठ’ । जसको रचना÷सङ्गीत श्याम तमोट र समूह गायन रामेश र साथीहरू हुन् ।
क्रान्ति, विरोध र विद्रोह गायन प्रजातन्त्र पश्चात पनि निरन्तरता रह्यो । तर यसका धेय, ध्यान र उद्देश्य भने पृथक पृथक थिए । कुनै समाजवादी त कुनै साम्यवादी राजनीतिसँग आबद्ध भएर पनि सङ्गीतको शक्ति र सत्ता अगाडि बढ्यो । त्यसैमध्ये पनि आनुष्ठानिक वा प्रार्थना, भक्ति–भजनादि र स्तुति गायन साथै प्रेम, प्रणय वा प्रेमिल गायनको प्रवाह सघनरूपमा प्रदर्शित भयो । गायनमा नारी स्वरले स्थान पाउँदै नर–नारी युगल गायनको विकास वृद्धि भयो । काव्यमा मात्र प्रकाशित रचनादि गायन गलामा आई पुग्नाले सङ्गीतको स्तर–वृद्धि र महत्व बढ्दै गयो । राष्ट्र र राष्ट्रियतासँग सम्बन्धित अनेकन् सङ्गीत सिर्जना भए । व्यक्तिभन्दा देश पहिलो सर्त हुन्छ भन्ने महसुस गरियो । ‘यही हो नेपाल, नेपालीको घर नेपालीको घर’ –स्वर प्रेमध्वज, सङ्गीत उस्ताद गोविन्दलाल नेपाली (१९७१), बोलको मात्र एउटा गीत दमननाथ ढुङ्गानाले रचना गरे । के युरोप के अमेरिका वा अफ्रिका सूचना, सन्देश र जनजागरणका अभियानादि कार्य सङ्गीतको माध्यमबाटै अगाडि बढाइए ।
साङ्गीतिक अभियानबाट संसारका अनेकन् मुलुकमा उलट पुलट आएका तथ्यहरू पाइन्छन् । नेपालको हकमा पनि सिर्जनशील र सम्वाहक सङ्गीत दुवै प्रकारका साङ्गीतिक सुरकर्म भएको देखिन्छ । विभिन्न समूह, ब्यान्ड वा साङ्गीतिक समाजका स्थापना, गठन र प्रस्तुतिले यही स्पष्ट गरेको छ । गीत–सङ्गीत सिर्जनामा कवि–साहित्यकार, हिजोका राजा, राजपरिवार, वर्तमान नेता, शासक, उद्योगी, समाजसेवी, किसान, मजदुर, विद्यार्थी, हली–गोठाला समेतको आकार्षण रहनु सङ्गीतको सत्ता र शक्ति हुनु नै हो । उपयोग, सदुपयोग, दूरुपयोग जस्ता शब्दावली आ–आफ्ना अर्थस्थानमा विसर्जन गर्ने हो भने पनि सङ्गीतको सत्ता, शक्ति र सम्बन्ध कहिले राजनीतिसँग, कहिले खेलकुदसँग कहिले आमोदप्रमोदसँग कहिले प्रार्थना–याचनासँग त कहिले युद्ध र योेद्धासँग गाँसिएको देखिन्छ ।
खगोल र भूगोलको कुरा गर्ने हो भने सङ्गीत ऋतुकालीन छ, प्रादेशिक पनि हुन्छ र जातिगत पनि पाइन्छ । नत्र शास्त्रीय, आधुनिक वा लोक भनेर सङ्गीतलाई वर्गीकृत गरिने थिएन । वास्तवमा सङ्गीतले वर्गीय विभेदको अन्त्य गरेको हुन्छ । जात–जाति बीचको खाडल पुरेको हुन्छ । धनी र गरिबमा रहेको अन्तराल सम्याएको हुन्छ । हिजो दलित भनी अपहेलित गरिएका दमाईले बजाएको सनाई वा गन्धर्बले बजाएको सारङ्गीको मधुरधुन उच्च वा अभिजात भनिएका कानले मिठो मानेकै हुन्छ ।
भोटे गायकले गाएको गीतमा बाहुन नाच्नु वा मधिशे गायकको गीतमा पहाडे नाच्नु जातीय वा वर्गीय विभेदको अक्करमा सङ्गीतले मूलबाटो खन्नु नै हो । अजङ्गको पर्खाल सङ्गीतले ढलाउनु नै हो । गीत–सङ्गीतको डोजर वा स्काभेटर अष्पृष्य रूपमा हुन्छ, भौतिक रूपमा देखिँदैन । विद्यापतिदेखि सेतुरामसम्म, अम्बर गुरुङदेखि रामकृष्ण ढकालसम्म वा नारायणगोपालदेखि रामेस सम्मका सङ्गीत रचनालाई हामीले हार्दिक हार्दिक रूपमा आत्मसात् गरेका छौँ भने सङ्गीतको यथार्थ शक्ति, सत्ता र सत्यलाई आजका बुद्धिजीवि, राजनीतिकर्मी, प्राध्यापक वा पत्रकारादिले पनि मिहिन तौरले बुझ्नु जरुरी हुन्छ । त्यसैले सङ्गीतमा शक्ति छ, सत्ता छ र मिठो आकार्षण पनि छ ।
नेपाली सङ्गीतको मूलमेसोमा समकालीन पुस्ताको ओइरो नै लागिसक्यो । गीत, गजल, सङ्गीत तथा गायनमा अहिले देखिनु कुनै आश्चर्यजनक कुरा होइन । बरू यी र यस खालका विषय सन्दर्भमा प्राज्ञिक बहस, पैरवी र छलफल हुनुपर्ने भइसक्यो । व्यवसायिक विस्तृतिकरण वा पेसा अथवा आजीविका उन्मुख भएको नेपाली सङ्गीततर्फ फराकिलो चक्षु खोलिनु अत्यावश्यक देखिन्छ । नेपाली सङ्गीत प्राज्ञिक भएन भन्नै प्रत्यारोप यस क्षेत्रले लामो समयदेखि नै खेप्दै नआएको होइन । तर त्यसको खण्डन अपत्यक्ष रूपमा नेपाली सङ्गीतले आ–आफ्ना सिर्जना मार्फत् दिई नै रहेको थियो । यसका लागि अनेकन् कालजयी सङ्गीत रचनाहरू जो हामीले उपयोग गरी सक्यौँ ती स्रष्टा र सिर्जना उदाहरण हुन् ।
गोपाल योञ्जनले गाएका अधिकांश देशभक्तिपूर्ण गीत सरकारी वा गैरसरकारी, जाति, जनजाति वा आदिबासी सबै सबै खालका धेय विधेयमा नबजेका होइनन् । तर राजनीतिक सत्ताले वा प्रयोगकर्ता संस्थाले सङ्गीतको शक्ति र सत्तालाई बिर्सि रहेको देखिन्छ । अधिकांश नारीहरू अरुणादेखि अन्जुसम्मका फ्यान छन् । आन्दोलनमा रूविन, रामेस, रायनको उपस्थिति अनिवार्य ठानिन्छ । यी सबै साङ्गीतिक शक्ति, सत्ता र मान्यता हुन् । हिजोआज सङ्गीतको सर्वधिकार वा प्रतिलिपि ऐन पनि आइसकेकाले गीत–सङ्गीत वा निजी सिर्जना वा रचनालाई हेलचेक्राइँ तरिकाले उपयोग वा अपचलन गरिनु वा प्रयोगका नाममा दुरुपयोग गरिनु हुँदैन । स्रष्टा वा सङ्गीत सिर्जना एउटा युगले एकपल्ट जन्माउने हुनाले व्यक्ति, समाज र राज्य संवेदनशील हुनु जरुरी देखिन्छ ।
सङ्गीतमा आशक्तिका कुरा भनेको एक अर्थमा समकालीन पुस्ता र प्रयोगलाई लिनुपर्ने हुन्छ । नेपाली सङ्गीतको समकाल गजल प्रबल रूपमा देखा परेको छ । तर त्यसले त्यति व्यवस्थिति स्वरूप लिई सकेको पाइँदैन । गजल गायनभन्दा रचना बढी नै उर्बर देखिन्छ । भन्नेहरू भन्छन् गजलको बाढी नै आएको छ । बाढी रचना उत्पादनमा देखिएको हो, गायनमा होइन । बाढीको अर्थ नकारात्मक लाग्छ । बाढी सङ्लिनु चाहिँ सकारात्मक हो । बाढी सङ्लिएर नदी हुनु र नदीको पानी स्वच्छ, निर्मल र कञ्चन देखिनु आशक्तिको एउटा पाटो हो । गजल गायनको शक्ति र आशक्ति भिन्न अर्थमा छन् । हिजोआज गाइएका नेपाली गजल के स्वरले वा रचनाले मात्र नेपाली बन्न सक्लान् ? के नेपाली गजल गायनको आफ्नो मौलिक पहिचान र परिचय हुन सक्दैन ? भन्ने सवालादि पनि नउठेका होइनन् । सङ्गीतमा चर्च र स्थापत्य, सत्ता र सदाबहार पक्ष अनि विशिष्टता र विशेषज्ञता आदि सन्दर्भहरू समकालीन नेपाली सङ्गीतले उत्खनन् गरिल्याएका छन् । असल मनसुवा रहँदा पर्गेल्न सकिएला तर विन्दु वृत्त विचारले नेपाली सङ्गीतको भेट्नु पक्रिन सकिँदैन ।

bulumukarung@gmail.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु