सहमतिअनुसारको माग पूरा नभए चलचित्र प्रदर्शनमा रोक्ने चेतावनी

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७५, आईतवार

९ वैशाख, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सिनेमा प्रदर्शक र निर्माता विचको शेयर बाँडफाँडको विषयमा भएको सहमति कार्यान्वयन नभए जेठ २ गते बाट सिनेमा प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ । संघले २०६० सालमा निर्माता र प्रदर्शन विच भएको होल्ड ओभरको विषयलाई पुनः कार्यन्वयनमा ल्याउनुपर्ने माग राख्दै पहिले भएको सहमती तोकिएको समयसीमामा कार्यान्वयन नभएको खण्डमा स्वदेशी र विदेशी सिनेमा प्रदर्शनमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिएको हो ।


शनिबार राजधानीमा सम्पन्न संघको भेलाले २ बुँदे माग अगाडी सार्दै सो चेतावनी दिएको हो । २०६० सालमा काठमाण्डौ उपत्यकामा सिनेमा प्रदर्शन पश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले रकम लिने सहमती भएको थियो । तर, चलचित्र संघका सदस्य रहेका ठुला हलहरुले उक्त सहमति उल्लंघन गर्दै आएको र साना हलले पनि देखासिकी गर्दै उक्त सहमति उल्लंघन गरेको संघले आरोप लगाएको छ । संघले उपत्यकासहित देशैभर सो सहमती अक्षरशः कार्यान्वयन हुनु पर्ने र हलमा बजाइने ट्रेलर, पोष्टर, स्थानिय पब्लिसिटी खर्चहरु लगायत अन्य मागहरु चलचित्र संघसँगको छलफलमा निर्णय गर्ने पनि संघका महासचिव रोज राणाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।


त्यस्तै संघले बक्स अफिस कार्यन्वयन सम्वन्धमा नेपाल नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शी ढंगले बक्स अफिस कार्यन्वयनका लागि राज्यसँग जोडदार माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु