सांगीतिक मानवसागरमा श्रीमतीकै अघि किस

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७१, सोमबार

डीबी खड्कासँग गायक रामचन्द्र काफ्लेको अनुभव 


पहिलोपल्ट केटी
पहिलोपल्ट गाउन स्टेज चढ्दा केटीको भेषमा थिएँ । स्कुलहरूको जिल्लास्तरीय दोहोरी प्रतियोगिता थियो । मेरो दाइ गाउने भएकाले सरले भाइ पनि गाउँछ होला भन्दै मलाई गाउन लगाए । म ४ कक्षामा पढ्थेँ, स्वर केटीको जस्तो सुरिलो लागेपछि मलाई केटी बनाइयो । केटीकै ड्रेस र मेकअपमा गाएँ, कसैले पत्तो पाएनन् । केटाको तर्फबाट दाइले लिड गर्नुभयो, केटीका तर्फबाट मैले । हामी त्यो प्रतियोगीतामा दोस्रो भएका थियौँ ।
लाजमर्दाे क्षण
पहिलो एल्बम ‘मनकी रानी’ बजारमा आएपछि स्टेज कार्यक्रमका लागि पहिलो अफर कतारबाट आयो । कतारमा रहने नेपालीमाझ एल्बम सुपरडुपर हिट भइसकेको रहेछ । कसैले चिन्दैनन् होला भनेर दुइटा गीत गाएर फर्किन्छु भन्ने ठानेको थिएँ । दर्शकले अरू गीत पनि गाउन अफर गरे । अरू गीतको न लिरिक्स लेखेर लिएको, न याद गरेको । तैपनि जेनतेन गाउँछु भनेर गुनगुनाएको त दर्शकले सही गाए, मैले गल्ती गाएँ । विदेशमा गीत बबाल हिट भएको तर त्यसको मैले हेक्का नराख्दा लाज मर्नु भएको थियो ।
त्यसैगरी दुबईको बर दुबईमा एउटा कार्यक्रम भएको थियो । मलाई लागेको थियो, बढीमा एक हजार नेपाली दाजुभाइ होलान् । दर्शक हेरिनँ, स्टेज पछाडिबाटै आलाप लिएर स्टेज उक्लिने मेरो स्टाइल छ । त्यही स्टाइलका साथ स्टेज पुगेको त दर्शक देखेर छक्कै परेँ । १५ हजारभन्दा बढी दर्शक रहेछन् । एकछिन आलाप नै रोकिएछ । दर्शक देखेर अनौठो लाग्दै थियो । गाउँदै जाँदा ‘वान्स मोर’ आयो । पहिले नै नर्भस भइसकेको मैले बोल्ने भेउ नपाउँदा दर्शकलाई ‘फेरि पनि आउँछु सर’ भनेछु । सबै गलल हाँसे । दोस्रोपल्ट लाजमर्दाे भयो ।
धनगढीमा मानवसागर
मेरो गायन करिअरमा सबैभन्दा धेरै दर्शक धनगढीमा पाएको थिएँ । दोस्रो औद्योगिक महोत्सव थियो । महोत्सव अवधिभर झन्डै १ लाख ३० हजार दर्शक कार्यक्रम अवलोकनका लागि आएका थिए ।
मेरो कार्यक्रमका दिन स्टेज चढेर हेर्दा दर्शक होइन, मानवसागर देखिन्थ्यो । भीड अलिकति मात्रै बिथोलिँदा जे पनि हुन सक्ने देखियो । प्रहरीलाई कन्ट्रोल गर्न हम्मे परेको थियो । ‘रमाइलो गर्ने स्वतन्त्रता सबैलाई हुन्छ, तपाईंहरूको रमाइलोले अरूलाई असर नपु¥याउने भएमात्रै गाउँछु’ भनेँ । दर्शक त ठाउँको ठाउँ स्थिर भए । वाह, कति अनुशासित दर्शक ! अहिले पनि त्यो माहोल याद आउँछ । मेरो एकवचनमा भीड स्थिर भएको देखेर प्रहरीहरू छक्क परेका थिए ।

ramchandra
अरेबियन पनि नाचे
संगीतको भाषा विश्वव्यापी हुने रहेछ । गीत बुझून् कि नबुझून्, नेपाली मादलको तालमा कम्मर मर्काउन थालिहाल्छन् विदेशी पनि । बहराइनको एक फाइभस्टार होटलको आँगनमा ‘काफ्ले एकल साँझ’ थियो । नेपालीभन्दा बढी अरेबियनहरू नाचे । उनीहरू तालमा ताल मिलाएर नाचेको देखेर अरू दर्शकलाई पो अचम्म भयो । पछि उनीहरूले हिन्दी गीत अफर गरे । मैले हिन्दी नगाएको तर उस्तै गीत भनेर आफैँले गाएको चौधरी गीत ‘चलौरे लडिया, हमार बडिया’ गाइदिएँ । उपहारको त चाङ नै लाग्यो ।
स्विट्जरल्यान्डमा एउटा कार्यक्रम थियो । आयोजक गौरी बर्तौलाले स्विस साथीहरू पनि बोलाएका थिए । नेपाली कल्चर हेर्न आएका उनीहरू रमाए । तीमध्ये एकजना युवती आँखाभरि आँशु लिएर मलाई भेट्न आइन् । उनलाई नेपाली संगीत र मेरो प्रस्तुतिले छोयो रे ।
ठाउँको ठाउँ स्टेज
भारतको उत्तराखण्डमा एक कार्यक्रमका लागि गएका थियौँ । बीचमा एकदिन खाली थियो । हामी मसिल्यारी भन्ने ठाउँ घुम्न निस्क्यौँ । बाटोमा एकजनालाई त्यहाँको प्रसिद्ध ठाउँ सोधेँ । यहाँ मलाई चिन्ने कोही छैनन् भनेर निर्धक्क हिँडिएको थियो, ती मान्छेले त ‘रामचन्द्र काफ्ले होइन’ भने । मलाई खुशी र अचम्म लाग्यो । उनले हामीलाई घुमाए । त्यसपछि गाउँभरिका मान्छेलाई भनेर ठाउँको ठाउँ स्टेज पो बनाइहालेछन् । हामीले कार्यक्रम गर्नु नपरोस् भने बढी पारिश्रमिक माग्यौँ, खुरुक्क दिए । पछि दर्शक हेर्छु त ठूलै भीड ! गीत गाउन थालेको, उनीहरूलाई पनि कण्ठै रहेछन् । लाग्यो, भाषा र संगीतको त सिमाना हुने रहेनछ ।
श्रीमतीकै अघि किस
स्विट्जरल्यान्डमै कार्यक्रम गर्दाको कुरा हो । मसँगै श्रीमती जुनु रिजाल (गायिका) को कार्यक्रम पनि थियो । हामीले कार्यक्रम गर्दा नै आफूहरू श्रीमान्–श्रीमती भएको स्पष्ट भनेका थियौँ । तर, त्यहाँ एकजना महिला मेरो असाध्यै ठूलो फ्यान हुनुहँुदो रहेछ । सँगै श्रीमती उभिरहेकी थिइन्, उहाँ आएर अँगालो मारेर चुम्बन पो गर्न थाल्नुभयो । म त लाजले लाल–लाल भएछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु