स्रष्टालाई घाँटी थिच्ने काम भयो

म्यूजिक खबर
प्रकाशित: ३१ चैत्र २०७३, बिहीबार

विरही कार्की, गायक

विरही कार्कीलाई गायक भनेर चिनाउने गीत कुन हो ?
हुन त धेरै गीतहरु सफल भए तर मेरो गायनमा कोसेढुंगा बनेर ‘सुनखानीमा सुन’ बोलको गीत आयो । त्यो भन्दा अगाडि जति गीत गाए ठीकै मात्र भएको थियो तर त्यो गीतपछि मैले गायनमा नाम, दामसँगै पहिचान बनाउन सफल भएँ । त्यसपछि मेरो शब्द, लय, स्वरमा रहेका मायालु हजार, होला मायालु, जुनकिरी, भन्देउ के हो माया, जय जय नेपालजस्ता गीतहरुले बढी चर्चा पाउन सफल भए ।

birahi karki
पछिल्लो समय बिक्ने र टिक्ने गीत बन्न सकेन भन्ने आरोप गीतसंगीत क्षेत्रमा लागिरहन्छ यसलाई कसरी लिनुहुन्छ ?
बिक्ने गीत आएन भन्दा पनि बिक्ने ठाउँ भएन । अलिकति भएको बिक्ने ठाउँमा पनि खराब मानसिकता भएकाहरुको पहुँच बढ्यो र स्रष्टालाई घाँटी थिच्ने काम भयो । अब टिक्ने गीतको कुरा गर्दा वास्तविक मौलिकतामा रहेर निर्माण गरिएका गीतहरु सदाबहार भइरहेका छन् । मेरो प्राय सबै गीत हिजोदेखि आजसम्म उत्तिकै स्रोताको मनमुटुमा छ भने त्यो टिकेको अवस्था हो । टिक्ने र मौलिकता बोकेकै गीत भएर पनि होला मेरा सिर्जनाहरुले म्यूजिक अवार्डहरु चुमिरहेका छन् भने मुलुकभित्र हुने प्राय म्यूजिक अवार्डमा उत्कृष्ट पाँचभित्र परिरहेकै हुन्छन् ।

गीतसंगीतसँगै सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ नि ?
एउटा गायक भनेको समाजको प्रतिनिधि पात्र हो । गायकले समाजसेवा गर्नु भनेको ठूलो कुरा होइन । समाजको कुनै पनि व्यक्तिले आफ्नो समाजमा आइपरेका कुरालाई समाधान गर्नुपर्छ, समाज विकासको काममा लाग्नुपर्छ । त्यसमाथि पनि गायक गायिकाले जस्तो काम ग¥यो त्यसको सिको गर्नेहरु धेरै हुन्छन् । मेरी आमाको नामबाट मैले फूलमाया कार्की फाउन्डेसन संचालन गरेर केही न केही भए पनि समाजमा सहयोग गर्न खोजेको हुँ । पहिला एकल साँझ गरे, जसबाट आएको रकम चेपाङ बालबालिका शिक्षादिक्षाको लागि खर्च गरेँ । त्यस्तै गोर्खा जिल्लामा गएर मृगौला पीडितका सहयोगको पाइला चालेँ । क्यान्सर पीडित, मृगौला पीडित, आर्थिक अभावमा उपचार नपाएका कलाकार एवं कुनै पनि जनताका लागि मैले फूलमाया कार्की फाउन्डेसनबाट सहयोग गर्दै आएको छु । यस फाउन्डेसनमा आजीवन सदस्यहरु बन्ने र सहयोग गर्नेहरुबाट म पुलको माध्यम भएर समाजसेवामा सक्रिय रहेको छु । यी त केही उदाहरण मात्र हुन् यीभन्दा धेरै सामाजिक काम हामी गायकगायिकाले गर्नुपर्छ ।

गीतसंगीतमा लागेर कति कमाइयो त ?
कमाइ राम्रै छ । म लोकगीत गाएरै बाँचेको छु, मेरो परिवार पालेको छु, काठमाडौंमा आफ्नो स्टाण्डर्ड मेन्टेन गरेको छु । त्यतिमात्र होइन धेरै स्रोताहरुको नजरमा विरही कार्की भन्ने नाम स्थापित गराउन सफल भएको छु । त्योभन्दा ठूलो कमाई मैले खोज्नुपर्ने अरु केही पनि देख्दिनँ ।

birahi_karki
पछिल्लो समय अरु मौलिकता हरायो भन्दै गर्दा तपाई चाहि मौलिकतातर्फ देखिनुभएको छ नि ?
नेपाली लोक गीत संगीत भनेकै मौलिक र वास्तविक गीत हुन् । त्यसैले म वास्कवितालाई बढी केन्द्रित गर्छु र गीत गाउँछु । तिनै गीत बढी चर्चामा आउँछन् जसले मेरो गायकीलाई पहिचान दिलाउन सफल भएका छन् । हो पछिल्लो समय लोकदोहोरी उद्योगलाई आरोप लागिरहेको छ तर हामीले आफ्नो माटो सुहाउँदो सिर्जना निर्माण गर्न सक्नुपर्दछ । मेरो गुराँस फुल्ने ठाउँतिर, जूनकिरी, डाँडैमा विजुली आयो, झ्याउँकिरी, मनकामना केबुलकार झिने चुरा लगायतका दर्जनौं गीत सबै मौलिकतामा नै छन् । मेरो आमा १, २, ३ पनि लोकगीतको क्षेत्रमा मलाई स्थापित गराउने गीत हुन् । लोकअनुसारको लोकगीत हुनुपर्छ भन्ने मान्यता म राख्छु ।

तपाईंको प्रतिस्पर्धी को हो ?
मेरो प्रतिस्पर्धी म आफैं हो । म आफूले गरेको सिर्जनाभित्र नै म प्रतिस्पर्धा गरिरहेको छु । कसरी सिर्जना राम्रो हुन्छ भन्नेमा मेरो ध्यान केन्द्रीत हुन्छ । एकपछि अर्को राम्रो बन्यो कि बनेर भन्नेमा मेरो प्रतिस्पर्धा चलिरहन्छ ।

अहिले त आधुनिक, चलचित्रको गीततिर पनि लाग्नुभएछ, कत्तिको सजिलो रहेछ ?
म संगीतको विद्यार्थी हुँ, क्रियशन गर्दै जाँदा हुने रहेछ । मैले पहिलोपटक आधुनिक गीत गरे, सबैले मन पराइदिनु भएको छ । चलचित्र रुमालै छ चिनोमा पनि संगीत गर्ने मौका मिल्यो । एउटा सर्जकलाई कुनै पनि सिर्जना गर्न गाह्रो हुँदैन जस्तो लाग्छ । हुन त लोकदोहोरी गीत गाउनेहरुसँग संगीतको ज्ञान हुँदैन भन्ने सोचले त्यसो भन्नुभएको होला । एउटा गायक गायिकामा संगीतको पूर्ण ज्ञान भएन भने त्यो अधुरो हुन्छ ।

birahi_karkee

नयाँलाई पुरानाले प्राथमिकता दिँदैनन् भन्ने गरिन्छ नि ?
त्यो सबै कलाकारमा लागू नहोला । कुनै एक दुई जनाले गरेका होलान् तर सबै कलाकारले नयाँ भनेर हेप्ने कुरै हुँदैन । मेरो कुरा गर्नुहुन्छ भने मैले धेरै कलाकारलाई स्थापित गराइदिएको छु । मेरो शब्द र लयमा नयाँ गायक गायिकाको धेरै गीत सफल भएका छन्, जुन गीतले अवार्ड चुम्नसमेत पछि परेका छैनन् । यसै वर्ष पनि मैले पाँच जना नयाँ कलाकारलाई अवसर दिएको छु । गत वर्ष पनि चार जना नयाँ कलाकारले मेरो शब्द र भाकामा गीत गाउनुभएको थियो । अब अरुले के गरेको छन् भन्नेतिर म लाग्दिनँ, नयाँ कलाकार जन्माउनु वा गारेटो देखाउनु पुरानोको दायित्व हो ।

अन्त्यमा ?
लोकगीतमा लाग्ने सबैले लोकको पहिचान हुने मौलिक सिर्जना गर्नुस् भन्न चाहन्छु । नयाँ आउनेले पनि गीतसंगीतमा राम्रो ज्ञान लिएर आउनुहोला, जसले आफ्नो क्षेत्रको इज्जत राख्न सकोस् । पछिल्लो समय लोकदोहोरीमा विकृतिहरु आइरहेका छन्, लोक दोहोरीको नाममा मौलिकता मारिएको छ त्यो अवस्था हुन नदिनका लागि सबै स्रष्टाहरु सजग हुनु आवश्यक छ ।
–प्रस्तुतिः सुमन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु