२०७४ मा संगीत क्षेत्रले गुमाएका स्रष्टाहरु

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार

म्यूजिकखबर । नेपाली संगीत क्षेत्रले प्रत्येक वर्ष संगीतका खम्बाहरु गुमाइरहेको छ । कलाकारहरु धेरै विभिन्न रोगका कारण मृत्युवरण गरिरहेका छन् भने कतिले अल्पायूमै जीवन गुमाउनु परेको पीडा संगीत क्षेत्रले भोग्दै आएको छ । कलाकारको कला छउन्जेल सबैको वाही वाही पाउँछन् तब रोग लाग्न थाल्छ अनि उपचार खर्च नपाएर मृत्युवरण गर्न पुगेको अवस्था हाम्रो सामु जगजाहेर छ । जे जसो भए पनि २०७४ सालले पनि नेपाली कलाकारिताका महान हस्तीहरु धेरै गुमाएको छ । हामीले कुन स्रष्टा कसरी र के कारणले गुमाउनु प¥यो भन्ने सामान्य विवरणसहित उल्लेख गरेका छौं ।

बैशाख ९ः नेपाली चलचित्रका कलाकार प्रदीप सिंहको उपचारका क्रममा निधन भएको हो । नेपाली चलचित्रका निर्माता, कलाकार र चलचित्र कलाकार संघका पूर्व पदाधिकारी समेत रहेका सिंहले ‘देउता’, ‘अन्याय’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेका थिए ।

जेठ १३ः पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा निधन भएको हो । दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढल्न पुगेका उनको उपचारको क्रममा निधन हो । केवलका आधा दर्जन कृति प्रकाशित छन् । पछिल्लो पटक उनको गुरुङको उद्भव र संस्कृति सम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो ।

जेठ १४ः चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको ७५ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो । माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए । हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन् ।

बैशाख २४ः वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको अल्जाइमरलगायत रोगबाट निधन भएको हो । प्रगतिशील साहित्यकार शर्मा राणा शासनविरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए । उनले सिर्जना गरेका ‘बहिनीलाई चिठी’, ‘लेखक कसरी बन्ने ?’, ‘तँ, तिमी, तपाईं, हजुर’, ‘केही कविता केही गीत’, ‘राम्रो नराम्रो’, ‘श्यामप्रसादका निबन्धहरू’ जस्ता दर्जनौं कृतिले समाजमा प्रकाश छरिरहने र सामाजिक एवं सांस्कृतिक रूपान्तरण रहेको छ ।

जेठ १६ः नेपाली सेनाका पाइलट कैलाश गुरुङको बाजुरामा भएको विमान दुर्घटनामा निधन भएको हो । नेपाली सेनाका नामुद साहित्यकार एवं गीतकार तथा बहुप्रतिभाशाली व्यक्ति थिए कर्णेल गुरूङ । गुरूङका पाँचवटा गीति एल्बम पनि सार्वजनिक भएका छन् ।

जेठ १८ः चलचित्रको गीति लेखनमा अमुल्य योगदान दिएकी गीतकार कुसुम गजमेरको कलेजोसम्बन्धी रोगको उपचारको क्रममा निधन भएको हो । ७२ वर्षकी कुसुम प्रसिद्ध सङ्गीतकार रन्जित गजमेरकी श्रीमती हुन् । मोहनी लाग्ला है, वीरताको चीनो, झझल्को लिएर आएछ सावन, के सोचेँ मैले, यो मुटुलाई, चिया बारीमा हो चिया बारीमा, माया के होला आदि उनका लोकप्रिय गीत हुन् । बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुसहितका नेपाली फिल्ममा उनले गीत लेखेकी छन् । भारतको दार्जिलिङमा विसं २००२ असोज १७ गते जन्मेकी उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी थिइन् । उनी निर्देशक तुलसी घिमिरेकी सासू पनि हुन् ।

१८ असारः चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निर्देशक निलु डोमा शेर्पाको हार्ट अट्याकपछि निधन भएको हो । उनले निर्देशन गरेको फिल्म ’हाउ फन्नी’ले व्यावसायिक सफलता हात नपारेपनि ’शिरैमा शिरबन्दी’ बोलको गीत चर्चित बन्यो । निलु लामो समयदेखि अस्वस्थ थिइन् । उनले फिल्म ’सुनगाभा’मा मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेकी थिइन् भने फिल्म ‘पुन्टे परेड’मा मुख्य भूमिका समेत निर्वाह गरेकी थिइन् ।

असार २८ः धनकुटाका साहित्यकार तथा शिक्षाविद् शिवकुमार श्रेष्ठको ८२ वर्षको उमेरमा क्यान्सरको उपचारका क्रममा निधन भएको हो । ६ दशकसम्म निरन्तर साहित्य सृजनामा समेत सक्रिय श्रेष्ठले लोक साहित्यमा कमल चलाउदै आएका थिए । उनका २०४२ सालमा लिम्बुवानको पहिलो ऐतिहासिक अध्ययन, किराती लोककथाहरु २०४२ र किराती कथा २०४९, प्राचिन मानव सभ्यताको अध्ययन, विश्वको इतिहास, आठपहरिया जातिबारे ऐतिहासिक आर्थिक सामाजिक अवस्था लगायत ८ पुस्तक प्रकासित छन् ।

भाद्र २६ः ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइलाको लमजुङको सुन्दरबजारस्थित निवासमा निधन भएको हो । ८४ वर्षीय भेडीखर्के साइँलालाई दमका साथै ज्वरो, खान मन नहुने आदि समस्या थियो । ब्राह्मण समाजमा छोराले गीत गाउनु हुँदैन भन्ने प्रचलन रहेको बेलामा पनि उनले खासगरी आफ्ना पिताजीको आँखा कान छल्दै ठाडो भाका गाउँदै आएका थिए । नौ वर्षको उमेरदेखि गाउन थालेका अधिकारी अतिथिका रूपमा आमन्त्रण भएको समारोहमा पनि गीतको भाकाबाट नै मन्तव्य व्यक्त गर्ने गर्थे ।

भदौ २८ः गीतकार देव बज्राचार्यको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । देव बज्राचार्यका एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् ।

असोज १२ः रेडियो प्रस्तोता एवम् गायक बासुदेव मुनालको ६८ वर्षको उमेरमा घाँटीको क्यान्सर रोगको उपचारको क्रममा निधन भएको हो । वि.सं. ००६ सालमा बिराटनगरमा जन्मिएका मुनालले रेडियो नेपालमा करिब ४ दशक काम गरेका थिए । २०२९ सालमा रेडियो नेपाल प्रवेश गरेका उनले रेडियो नेपालको बाल कार्यक्रमको प्रस्तुतीले उनलाई निकै चर्चित बनायो । ‘आऊ मेरा प्यारा प्यारा भाइ बहिनी हो, रेडियो नजिक आऊ‘’ भनेर सुरु हुने बाल कार्यक्रमबाट उनले धेरैको मन जितेका थिए । उनका लालुपाते फुलेर लाल भयो, झमझम इस्टकोट लगायतका धेरै गीतहरु चर्चित छन् । उनले ७५ वटा बालगीति नाटक, २० वटा लोक गीत र ११ वटा राष्ट्रिय गीतमा स्वर दिएका छन् ।

असोज २०ः चर्चित लोकदोहोरी गायिका कृष्णा परियार तथा र गायक एवं संगीतकार तथा सामाजिक अभियन्ता रामजी नेपालीकी छोरी, बाल कलाकार काजल नेपालीको उपचारकै क्रममा अन्तर्राष्ट्रीय बाल मैत्री अस्पतालमा निधन भएको हो । नेपाली गीतसंगीतको क्षेत्रमा बालकलाकारको रुपमा अभिनय गर्दै आएकी काजल २०६८ सालदेखि म्युजिक भिडियोहरुमा देखिँदै आएकी थिइन् । काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन । आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, बैश गयो हाँसेरलगायत म्युजिक भिडियोमा अभिनय गरेकी काजल केही वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।

असोज २४ः साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको हो । गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । राणाको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । राणा मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

कार्तिक ७ः साहित्यकार तथा समाजसेवी सूर्यप्रसाद सुवेदीको फोक्सोको क्यान्सरको उपचारको क्रममा निधन भएको हो । सुवेदीले विक्रम सम्वत् २०३० देखि २०७० सम्म नेपालका प्रख्यात साहित्यकार र श्रष्टाका ‘सिर्जना र दृष्टिकोण’ नामक अन्तरवार्ता संगालो प्रकाशित गरेका थिए । यसैगरी उनको उपन्यास ‘दिशाहीन यात्रा’ र ‘सूर्य सुवेदीका कथाहरू’ नामक कथा संगालो प्रकाशित छन् । २०३० सालदेखि रेडियो नेपालबाट पत्रकारिता शुरु गरेका सुवेदी २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी भएका थिए ।

मंसिर २ः निमोनियाबाट ग्रसित पोखरेली संगीतकार दीपक भट्टराईको ५५ वर्षको उमेरमा निधन भएको हो । पोखरा सांगीतिक कलाकार संघका संस्थापक अध्यक्ष रहेका भट्टराई पछिल्लो समय नयाँ गीति एल्वम निकाल्ने तयारीमा थिए । पछिल्लो २ वर्षदेखी नयाँ एल्वमका लागि भनेर उनले कर्णदास, सत्यराज आचार्य, स्वरुपराज आचार्यलगायतको स्वरमा केहि गीतहरु रेकर्ड गरिरहेका थिए । भट्टराईको पहिलो एल्वम ‘प्रथम स्मृति’ बजारमा आइसकेको छ । भट्टराईको शब्द र संगीत रहेको र सर्वज्ञमान शाक्यले स्वर दिएको ‘तिमीलाई दोबाटोमा’ गीत तत्कालीन समयमा लोकप्रिय भएको थियो । भारतको आसाम राज्यबाट पोखरा आएका उनी मेण्डोलियन वाद्यवादक हुन् ।

मंसिर ४ः लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित बरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको ७० वर्षको उमेरमा लन्डनमा निधन भएको हो । २००४ माघ ११ गते ओखलढुंगामा जन्मेका श्रेष्ठ नेपाली साहित्यमा ‘अस्वीकृत आन्दोलन’ का प्रवर्तक थिए । बीसको दशकबाटै नेपाली साहित्यमा लागेका उनले २०३६ सालमा ‘अस्वीकृत आन्दोलन’ घोषणासँगै ‘अस्वीकृत जमात’ बनाएका थिए । प्रजातन्त्रका पक्षमा साहित्यकारहरूले चलाएको ‘बुट पालिस आन्दोलन’ मा पनि उनको संलग्नता थियो । २००८ देखि सपरिवार बेलायतमा बस्दै आएका श्रेष्ठले ‘कालो कथा’, ‘मुक्ति प्रसंगका अस्वीकृत कथाहरू’, ‘विघटन’ लगायत नेपाली र अंग्रेजी भाषाका गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।

मङ्सिर ४ ः लोकदोहोरी गायक सागर बोहराको आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत भेटेका थिए । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित उपचारपछि सामान्य रुपमा फर्किएका गायक बोहराको मादक पदार्थ सेवनका कारण मृत्यु भएको थियो । सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए । गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् ।

मङ्सिर ६ः जनताका मर्म, वेदना र भोगाईलाई शब्दको माध्यमबाट संगीतमा उनेर गीत गाउने जनवादी गायक खुशिराम पाख्रिनलाई बाम गठबन्धनले आयोजन गरेको प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै हृदयघात भएको थियो । उनलाई उपचारका लागी नारायणी सामुदायीक अस्पताल भरतपुरमा उपचारका क्रममा निधन भएको हो । विक्रम संवत २००९ साल कार्तिक ९ गते जन्मनु भएका पाख्रिन २०३८ सालमा सगरमाथाको काखवाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक यात्रा आरम्भ गर्नुभएका पाख्रिनका ५ सय भन्दा बढी रचना प्रकाशित भएका छन् ।

१ पुसः पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको ६१ वर्षको उमेरमा ब्रेन ट्युमरका कारण निधन भएको हो । पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन् । स्वास्थ्य सेवाबाट अवकास लिएका पहारी सामुदायिक रेडियो मदनपोखरामा समेत कार्यरत रहनुभएको थियो ।

६ पुषः वरिष्ठ संगीतकार नेपाल कलाभूषण चन्द्रराज शर्माको त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा निधन भएको हो । झण्डै ९ सय गीतमा संगीत दिएका नेपाल कलाभूषण शर्माको जन्म विंस २००० असार २४ गते काठमाडौंको डिल्लिबजारमा शर्माको भएको हो । शर्माले २०२० सालमा भारतको इलाहवादको प्रयाग संगीतबाट संगीतमा प्रभाकर गरेका थिए । उनलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत भरेका शर्माले श्रीस्वस्थानी र महाकवी देवकोटासहित चलचित्रमा पनि संगीत भर्नुभएको छ । ‘म मरे पनि मलाई मेरो देशको माया छ’ तथा ‘मुटुको हरेक नशा नशामा’, ‘मनमा माया तनमा माया’ सहितका गीत चर्चित छन् । गीतिनाटक मुनामदन, सत्यनाग, क्रसमा टाँगिएको जिन्दगीमा लगायतमा शर्माले संगीत दिएका छन् ।

६ पुसः पछिल्लो समय अमेरिकामा बस्दै आएकी साहित्यकार प्रेमा शाहको इन्टर माउण्टेन हस्पिटलमा निधन हो । साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि यौन मनोविज्ञानमा आधारित पँहेलो गुलाफ (कथा संग्रह ०२३) मा प्रकाशित भएको थियो । त्यसपछि ०२८ सालमा प्रकाशन भएको ‘विषयान्तर’ पनि यौनकै परिवेशमा लेखिएको कथा थियो भने ‘ममी’ पनि उनको अर्को चर्चित कृतिको रुपमा चिनिन्छ । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

माघ १९ः साहित्यकार मनु ब्राजाकीको ७५ वर्षको उमेरमा मस्तिष्कघातबाट निधन भएको हो । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्थे ।

चैत्र ६ः परदेशी बाबु आँगनमा दिनु हुन्न वास, सल्लाई हो जोवन कल्लाई हो, सहि दिन्छु कुट बरु बोलिले नकुट, सरर मलेवा, तारे भिरमा बाबियो लसरि, ईश्वर तैंले रचेर फेरी कसरि बिगारिस् जाँदा जाँदा बाटो बिराएँ, तिम्रो विश्वासले, खेली बढी हुर्की, कसरि म भनु,म बाँच्ने उमेर, यो केटि कहाँको उदयपुरको, मुना मदनमा कसरि खायो आगोले दिदी, लगायतका कालजयी गीत गाउने गायिका कमला श्रेष्ठको धुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगकोउपचारको क्रममा बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । विसं २०२४ सालमा नौगेडीको माला मेरो बोलको गीत गाएर रेडियो नेपालमा प्रथम भएकी उनले मुना मदनमा गाएको गीत सर्बत्र चर्चामा रह्यो भने अन्य आधुनिक गीतहरु समेत एक से एक छन् । कमलाले बि.स. २०१७ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेकी हुन् । उनी चलचित्र हिजो आज भोलि नामक चलचित्रमा नृत्यकारका रुपमा समेत रहिन् । राष्ट्रिय नाचघरकी जागिरे कलाकार कमलाले गायन क्षेत्रमा अमुल्य योगदान यसै संस्था माध्यमबाट पु¥र्याएकी हुन् ।

चैत १८ः नेपाली शास्त्रीय संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महत्वपूर्ण योगदान सीतारवादक विजय वैद्यको दिएका छाति र कलेजोको रोगबाट निधन भएको हो । शास्त्रीय वाद्ययन्त्र सितारको आवाजलाई विद्युतीय तरंगबाट निकालेर ‘रक सितार’ अभियान चलाउने कलाकार विजय वैद्य आफूलाई ‘सितार योगी’ भनेर चिनाउँथे । झण्डै १० वर्षअघि विजय सुरसुधाबाट अलग भएपछि उनले व्यक्तिगत अभ्यासबाटै ‘रक सितार’ अभियान थालनी गरे । सितारको यो नौलो आवाजलाई उनले विदेशमा पनि लैजान सफल भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु