tika-bhandari-2

टीका भण्डारी

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे,
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ….

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ (प्रेमध्वज प्रधान र साथीहरू), आज र राति के देखें सपना मै मरिगएको, (नारायण गोपाल), सपना भुलाई सारा आँसु पिएर जाऊ, (योगेश वैद्य), एउटा तारा झर्दा पनि आकाश सिंगै रित्तो लाग्छ, तिम्लाई हाँसेर बिदा मात्र दिइसकेथें, (तारा देवी), यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कैले कैले (फत्तेमान), पर लैजाऊ फूलहरू, छोपिदेउ तारा जुन (प्रेमध्वज प्रधान), उकाली ओरालीहरूमा, फूलको थुँगा बगेर गयो गंगाको पानीमा, न आऊ जुन कोठामा एक्लै कोठामा, सान्नानीको गालैमा कालो कोठी रै’छ, देशका लागि नबग्ने त्यो रगत होइन त्यो पानी हो आदि सदाबहार संगीतहरू हन्, नातिकाजीका नेपाली संगीतमा ।

fateman-rajbhandari
परिवार, अध्ययन र जीवन
नातिकाजीको पूरा नाम नातिकाजी मलेकु हो । उनको वास्तविक नाम भने अमृतलाल हो । उनको जन्म ३ पुस १९८२ साल पुल्चोक ललितपुरमा भएको हो । आमा चम्पादेवी पिता मोहनलालका सुपुत्रका रूपमा जन्मिएका नातिकाजीले प्रारम्भिक शिक्षा पशुपति पाठशालाबाट, माध्यमिक शिक्षा चाबहिल रात्री स्कुलबाट र आईए तहको अध्ययन त्रिचन्द्र कलेज घन्टाघरबाट गरेका हुन् । नारायणगोपाल भन्दा १६ वर्ष जेठा उनी तर नारायणगोपालसँगै त्रिचन्द्र कलेजमा पढेका थिए । उनी संगीत पढ्न भारतको इलाहाबाद पुगे जहाँ उनले धेरै मेहनत र लगनका साथ संगीतमा बिसारद गरे ।
उनी आफ्नो कक्षाका अब्बल बिद्यार्थी थिए । उनलाई संगीतका कुनै कुरा घोकाउनु या दोहो¥याई रहनु पर्दैन थियो । साहै्र छिटो पाठ ग्रहण गर्थे । संगीतका सिद्धान्त र प्रयोगात्मक परीक्षामा सधैं अगाडि हुन्थे । २०१७ सालमा उनले सरस्वती राजभण्डारीसँग विवाह गरे जुनबेला उनी १४ वर्षका मात्र थिए सरस्वती आफूभन्दा अझै सानी थिइन् । आफूले केटी हेरेनन्, परिवारले हेरिदिएको केटीसँगै उनको परम्परागत रूपबाट विवाह भएको थियो । उनी भन्थे, ‘सायद मैले हेरेको भए म बेठिक पनि हुन सक्ने थिएँ होला, मातापिताको आशीर्वादले नै म वैवाहिक जीवनमा सफल भएको हुँ, सरस्वती साँच्चिकै सरस्वतीकै वरदान हुन् ।’ नातिकाजीका तिन सन्तान भए, तिनैजना छोरी । संगीता, कविता र सविता । तिनैजना व्यावहारिक जीवनमा उत्तिकै सफल छन् । नातिकाजीको मूल घर पाटन भए पनि मावली गुहेश्वरीका आचार्य हुन् । गुहेश्वरी मन्दिरमा पूजाआजा गर्ने आचार्य नेवार समुदायका नै हुन् । त्यस्तो धार्मिक परिवारमा नातिकाजीको बालापन बित्यो । यसैले उनी भजन–कीर्तनमा खप्पिस नै थिए ।

जीवन, कला र संघर्ष
२००७ साल चैत २० गते रेडियो नेपालको स्थापना भएपछि नै नेपाली संगीतको प्रचारप्रसार पनि सूक्ष्म रूपबाट सुरु भएको थियो । स्थापनाकालमा नातिकाजी, धर्मराज थापा, हरिप्रसाद रिमाल आदि अग्रणी स्थानमा थिए, त्यसमा नातिकाजी संगीत विधाको लिडरकै रूपमा थिए । नेपाली संगीतलाई दरबार, दरबारिया, हिन्दुस्तानी उस्तादहरूको बोलाबाला र ग्रामोफोेनको एक किसिमको कस्टकर रेकर्ड प्रणालीबाट मुक्त गरी रडियो नेपालमै गीत रेकर्ड गराउने कार्यमा नातिकाजीले महत्वपूर्ण योगदान पु¥याए । स्वर्णीम युग स्थापना गर्ने पहिलो सांगीतिक सर्जक हुन्, उनी । नातिकाजी जुन बेला नेपाली संगीतमा उदाए त्यसबेला नेपालमा हिन्दी संगीतको प्रभाव निकै गहिरो थियो । नातिकाजीले हिन्दी गीत संगीतको गहिरो प्रभावलाई विस्थापित गर्न नेपाली भाव, नेपाली रस माधूर्यपनले भरिएका गीत–संगीतको सिर्जना गर्दै आफ्नै परिवेशका गीत निर्माण गर्न थाले । उनी नेपाली संगीतमा हिमालझैं उभिए । विदेशी संगीतको एक किसिमको अतिक्रमणमा पहाडझैं ढाल बनेर बसिदिए, अरू सर्जकहरूका लागि । यही रफ्तारमा कलकत्तामा गएर नेपाली गीत–संगीत रेकर्ड गरेर नेपालमा प्रसारमा ल्याउने परम्परालाई पनि यिनको कदमले बिस्तारै नेपाली संगीतप्रेमीहरूको हितमा काम गर्दै गयो। पहिचान खोजिरहेको नेपाली संगीतको वास्तविक पहिचान दिलाउन तन, मन र जीवन अर्पण गरे । नेपाली आधुनिक सुगम संगीतको वास्तविक जीवन तस्बिर कोर्ने महामानव नै भने हुन्छ, उनलाई । नेपाली संगीतको वास्तविक धुन या लय र त्यसको मिठास कस्तो हुन्छ भन्ने कुराको वास्तविक पहिचान पनि यिनैले दिएका हुन् । वास्तवमा यिनी पूर्वीय पाश्चात्य र नेपाली लोक परम्पराको बारेमा गहिरो जानकार थिए । उनले गीतमा संगीत मात्र दिएनन् चलचित्र, नाटक, गीति नाटक, अपेरा, ब्याक ग्राउन्ड संगीत, लोकगीत संकलन, संगीत संयोजन, वाद्यवादन सबै खाले विधामा आफूलाई अभ्यस्त राखेका थिए ।

nati-kaji-shrestha-and-tara-devi-shrestha
नातिकाजी साइकल चढेर रेडियो नेपाल आउँथे । उनी जीवनभर शाखा अधिकृत पदमै रहे र त्यही पदबाटै अवकाश पनि भए । उनी अफिसबाट कुनै किसिमको अतिरिक्त सुविधा लिएका थिएनन् र पाएनन् पनि । अफिस आउने जाने क्रममा धेरै पछि मात्र उनले सानो सय सीसीको मोटरसाइकल चढ्न थालेका थिए । अत्यन्तै साधारण जीवन जिउन मन पराउँथे उनी । राष्ट्रलाई दिने कुरा मात्र सोच्दथे, लिने कल्पनासमेत गर्दैनथे । क्रोध, लाभ, लोभ, ईष्र्या आदिबाट पनि टाढा थिए, उनी । उनले चाहँदा रेडियो नेपालको कार्यकारी निर्देशक नै परिवर्तन गर्न सक्ने क्षमता थियो तर कहिलै दुरुपयोग गरेनन्, भएनन् पनि। उनी पार्किन्सन रोगले ग्रसित थिए । नातिकाजी यो संसार छोडेर जानु केही समयअघि मात्र गीतकार राममान तृषितलाई इसारा गर्दै गीत लेखेका छौं भनेका थिए तर त्यो चेतन अवस्थामा थिएन उनको । राममानले तैपनि जवाफ फर्काए, नातिकाजीलाई तपाईं अहिले संगीत गर्न सक्नुहुन्न भने । राममानले सबैलाई हेर्दै भने, ‘उहाँको अचेतनतामा समेत संगीत छ । ७–८ वर्षको उमेरदेखि नातिकाजीले हार्माेनियम बजाएका थिए भने संसार त्याग्नुभन्दा केही दिनअघिसम्म पनि उनी हार्मो्नियममै औंला चलाइरहेका थिए, भावमा । सम्भवतः सबैभन्दा लामो समय जीवनभरि हार्मोनियम बजाएर हजारौं कृति निर्माण गर्ने स्रष्टा पनि उनी नै हुन्, नेपाली संगीतमा । नातिकाजीलाई श्रद्धाञ्जली दिन एकेडेमी पुगेका राष्ट्रकविले भनेका थिए, ‘आजदेखि मेरो आधा मृत्यु भयो । यसबाट पुष्टि हुन्छ कि धेरै स्रष्टाका लागि उनी आधा जीवन, आधा अंगझैं बनेका थिए । उनले २००७ देखि २०३४ सालसम्म नायब सुब्बा स्तरको कलाकारको पदमा संगीत शाखाको नेतृत्व गरे भने २०३४ सालदेखि २०३४ सालसम्म संगीत प्रबन्धक पदमा रहेर संगीत शाखालाई डोहो¥याए । त्यसपछिका दिनमा सल्लाहकार भएर पनि केही वर्ष काम गरे। २०६० सालमा उनी सबैलाई छोडेर सदाका लागि नेपाली सांगीतिक संसारबाट अस्ताए ।

नातिकाजी र तारादेवीबिचको ट्युनिङ
नातिकाजी र तारादेवीबिच अति आत्मीय सम्बन्ध थियो । नातिकाजी कुनै राम्रो गीत–संगीत हुनेबित्तिकै सबैभन्दा पहिला तारादेवीलाई नै सुनाउँथे । तारादेवी पनि नातिकाजीको स्वीकृतिबेगर अरू संगीतकारहरूका गीत गाउँदिन थिइन् । त्यही भएर नातिकाजीले संगीत गरेका अधिकांश गीत तारादेवीले नै गाएकी पनि छन् । सुरुआती चरणमै नातिकाजीको संगीतमा ताराले गाएका गीतहरू काली पारे दाइ कति राम्रो, टाडाबाट बोलाएको तिमीलाई नै हो मैले, आकाशको तिर्मिरे तारा म गन्न सक्दिनँ, ढल्के टोपी नलाउनु दाजु, उकाली ओरालीहरूमा, जताततै खोजें मेरो मुटुभित्रलगायतका दर्जनौं गीत तारादेवीले नातिकाजीकै संगीतमा गाइन् । ती गीतहरू रेडियो नेपालका श्रोताहरूको रोजाइमा वर्षौंदेखि गुन्जिरहेका छन् । तारादेवीले गाएका बहुचर्चित गीतहरू उकाली ओरालीहरूमा, शुभकामना भरि, आऊ नआऊ तिम्रो खुसी (किरण खरेल), तिम्रा पाउहरूमा सधैं, आँसु र सुस्केरा, तिमीलाई हाँसेर बिदा मात्र, एक्लो जीवनमा, मनको निश्चलता, यति ठुलो संसारमा, तिमीले दिएका, सोचेजस्तो हुन्न जीवन (दिनेश अधिकारी), फूलको थुंगा (संगीत नातिकाजी शिवशंकर), मलाई हाँसी देऊ नभन (नातिकाजी–गोपाल योञ्जन), धेरैले लेखे (डा.कृष्णहरि बराल), नौ गेडीको मेरो माला, यो नेपाली शिर उचाली, आमा भएर बोकी हेर सन्तानका पिरहरू आदि गीतहरू संगीतकार नातिकाजीको संगीतमा तारादेवीले गाएकी छन्, जुन गीतहरू तारादेवीको सांगीतिक जीवनका बहुमूल्य गीत नै हुन् भने नातिकाजिका लागि पनि यी संगीतहरू त्यति नै बहुमूल्य छन् र श्रोताका लागि त झन् अमूल्य नै मानिन्छन् । उनको संगीतमा सबैभन्दा बढी गाउने गायिका तारादेवी नै हुन् ।

गायकका रूपमा नातिकाजी
संगीतकार नातिकाजी एक कुशल गायक पनि हुन् । उनले रेडियो नेपालमा झन्डै ४ दर्जन गीत आफ्नै स्वर र आफ्नै संगीतमा लाइभ रेकर्ड गरेका छन् । सुरुवाती चरणमा उनले गाएका आधुनिक गीत स्वर्गीय मविवि शाह, स्वर्गीय मोतीराम भट्ट, रवीन्द्र शाह, पुष्प नेपाली, किरण खरेल, माधव घिमिरे, लक्ष्मण लोहनी, कालीप्रसाद रिजाल, श्यामदास वैष्णव, निरविक्रम प्यासी, रमेश धिताल, केएस गुरुङ, भावुकलगायतका रचनामा गाएका छन् । ती गीत उनी आफैंले नै संगीतसमेत गरेका छन् । गायक संगीतकार दीपक जंगमले पछि गुलाम अलीका लागि संगीतबद्ध गर्नुभएको मविवि शाहले रचना गर्नुभएको ‘के छ र दिऊँ तिमीलाई मैले’ बोलको गीत पनि नातिकाजीले पहिले नै आफ्नै संगीत र स्वरमा रेकर्ड गराइसकेका हुन् ।

nati-kaji-shrestha-and-tara-devi-shrestha
सम्झना
नातिकाजी सदाभन्दा त्यो दिन केही चाँडो स्टुडियो छिरेका थिए । उनी स्टुडियो प्रवेश गर्ने्बित्तिकै हामी पनि हतारिँदै स्टुडियो छिरयौं । त्यो दिन स्टुडियो छिर्ने्बित्तिकै उनले रिसाएर भने, ‘मैले पहिलेकै राम्रो भनेको थें तर यिनीहरूले मानेनन् ।’ हामीले बुझेनौं उनको कुरा । के कुरा हो दाइ, भनेर हामीले नै सोध्यौं । उनले प्रस्ट्याए – बेलुका घर जाने बेलामा रेडियो नेपालका डाइरेक्टरले बोलाएर ७ बजेको समाचारको धुन परिवर्तन गर्नुप¥यो, भोलिदेखि नै बज्नुपर्छ निर्देशन छ भन्या रै’छ । नातिदाइको निद्रा नै खल्बलिए छ त्यसले, वास्तवमा निक्कै रिसाएका थिए नातिकाजी त्यो दिन । धुन परिवर्तन गर्ने कुराले उनको मन पटक्कै छोएको थिएन । यिनीहरू बुझ्दा रहेनछन् भन्दै नातिकाजी निकैबेर भुतभुताए । वास्तवमा डाइरेक्टरले पनि केही त नबुझेकै पनि हुन् भन्ठान्यौं हामीले पनि। समाचारको धुनजस्तो कुरा आजको भोलि हुने कुरा थिएन तर उनले ट्रयापमै पारिदिएछन् भोलि नै चाहिन्छ भनेर। भर्खर प्रजातन्त्र आएको हुनाले धुन परिवर्तन गर्न मन्त्रालयबाटै निर्देशन भएबमोजिम निर्देशकले नातिकाजीलाई निर्देशन दिएको कुरा हामीले बुझ्यौं, यो २०४६ सालको जनआन्दोलन पछिको कुरा हो । प्रजातन्त्र आएको आभास दिन, परिवर्तनको अनुभूति दिलाउन नयाँ धुन गर्न खोजिएको होला सोच्यौं। जे भए पनि दाल–भात हो र यस्तो काम भन्दै ल सुरु गरौं भन्ने मुडमा बल्ल पुगे । त्यहीं कम्पोज गर्न सुरु गरे। १५–२० मिनेट आँखा चिम्लेर हर्मो्नियम खेलाउँदै उनले धुन निकाले, हामीलाई सुनाए। हामीले वाह, आहा भनेनौं। उनले प्रतिक्रिया बुझेका रहेछन् । हाम्रो प्रतिक्रिया विचार गरेर फेरि अर्को धुन गुन्गुनाउन थाले । आधा घन्टा के घोत्लिएका थिए, उनले मिठो धुन निकाले । हामीले वाह यो राम्रो आयो भन्यौं । समाचारको नयाँ धुन सुनेर हामी खुसी भएको देखेपछि हाम्रो खुसीले उनको मुहारमा पनि खुसी छचल्क्यायो । उनी मुस्कुराए । ल ठिक छ गरौं न त भने। हामी रेकर्ड गर्न तयार भयौं । एरेन्ज आफैंले गरे उनले । संगीतकार भुपेन्द्र रायमाझीले सन्तुर, मैले मेन्डोलिन, विद्या मुकारुङले सितार, सुशील विश्वकर्माले बाँसुरी, राजु अग्रवाल, निरन्जन महर्जन, शिशिर क्षत्रीले तबला बजाए। धुन रेकर्ड भयो जुन धुन लोकतन्त्रको अघिल्लो बिहानीसम्म बज्यो, १८ वर्ष । निकै गर्व लाग्थ्यो, हरेक बिहानको ७ बजे आफूले बजाएको धुन बजेपछि मात्र समाचार सुरु हुन्थ्यो, रेडियो नेपालबाट ।

लेखकः रेडियो नेपालका उपनिर्देशक एवं वरिष्ठ संगीतकार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *