• ‘नयाँ राग’ निर्माण गर्ने सपना अधुरै रह्यो थापाको

    सन्तोष श्रेष्ठ
    मधुबाबु थापा, नेपाली लोक गायनको क्षेत्रले बिर्सन नमिल्ने नाम हो । मौलिक लोकसंगीतलाई आत्मसात गर्दै उहाँले गाउँको वास्तविक ठेट लोकगीतलाई संकलन गर्दै केन्द्रसम्म ल्याएर रेकर्डिङका माध्यमले जनमानसमा पु¥याउन सफल हुनुभएको थियो । विशेष गरेर राप्ती क्षेत्रको मौलिकताका गीतहरुलाई नै संकलन गरेर रेडियो नेपालको स्टुडियोसम्म ल्याउनु भएको थियो । सानै उमेरदेखि गाउँमा हुने पूजाआजा, भजन, रोधी सबैमा संलग्न हुँदै आउनुभएका मधुबाबु थापालाई पनि आफ्नै जन्मभूमिले गीतसंगीततर्फ उन्मुख गराएको देखिन्छ । राप्तीको टप्पा, थारु भाषाका गीत, झ्याउरेलगायतका गीतसंगीतहरुको संकलन, गायनमा थापाले निरन्तरता दिनुभएको छ । जसले गाउँको मौलिक कलालाई मुलुकभरका जनतासामु पु¥याउन सफल भएको देखिन्छ ।

    माता रेखा कुमारी थापा र पिता प्रेम बहादुर थापाका सन्तानका रुपमा २०१० साल बैशाख १ मा सौडियार–५, राजपुर दाङमा जन्मिनुभएका गायक तथा संगीतकार थापाले नेपाली लोकगीतको भण्डारमा ठूलो योगदान दिनुभएको छ । भगवानले दिएको जे छ त्यही पाइन्छ भनेजस्तै उहाँलाई पनि कलिलो उमेरमा भगवानले संसार देख्ने दृष्टि खोसेर लग्यो अर्थात् २ वर्षको उहाँको कलिलो उमेरमा आँखाको दृष्टि गुमेको थियो । दृष्टिविहीन भएर नै आफ्नो किलिलो जीवन पार गर्नुभएका उहाँले गाउँको नेपाली गीतसंगीतलाई संसार सामु पु¥याउन सफल हुनु चानुचुने कुरा थिएन । लौरोको माध्यमबाट गाउँको कुना कुनामा पुगेर त्यहाँको ठेट शैलीलाई संकलन गर्दै राजधानीसम्म ल्याउनु र रेडियो नेपालमा रेकर्ड गराउनु पनि उहाँका लागि ठूलै चुनौतिकै रुपमा उभिएको थियो । उहाँ सधैं संगीतकै विषयमा केही गरौं भनेर नजिकका संगीतकर्मीहरुसँग कुराकानी गरिरहनु हुन्थ्यो । उहाँको सहकर्मीकै रुपमा गायिका चन्द्रकला शाहलाई लिन सकिन्छ । अझ सबैभन्दा नजिक रहेर शाहले थापालाई सहयोग गर्दै आउनुभएको थियो भने सँगै धेरै सांगीतिक कृतिहरु जोडिएर पनि आएका छन् । थापा र शाहको जोडीले दर्जनौं लोकगीतको संकलन र गायनको यात्रा पार गरेको पाइन्छ ।

    madhubabu-thapa_singer
    २०३९ सालमा रेडियो नेपालमा पहिलो गीत ‘भैगो हजुर मायाजाल नबुन– गैगो हजुर माया लाउने दिन’ रेकर्ड गराउनुभएका मधुबाबुले चौतारी, काठमाडौं, रामरस, जोवन कोपिला, रातो पछ्यौरी, धन्यवाला मायालु, तिजको कोसेली भाग १, ३, ४, नौरङ्गी डाँफे, छकछके रेलमा, कर्णालीको सेरोफेरो, कर्णालीको लहर, झुम्के बुलाकी, कृष्णलीला, शोक लहरी, पहुरा भालेपोथी, गिट्टी कुटेर, पानी खोलाको, देउसी भैलोलगायत तीन दर्जनभन्दा बढी गीति एल्बम बजारमा ल्याउनुभएको छ ।
    भारतको इन्दिरा कलानिधि महाविद्यालयबाट ‘संगीत प्रभाकर’को उपाधी पाउनुभएका गायक थापाको २०४४ सालमा निस्किएको ‘काठमाडौं’ दोहोरी एल्बम निकै चर्चित रह्यो । उहाँले २०४७ र २०५० सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत प्रतियोगितामा सर्वोत्कृष्ट लोकगीत संकलकको पुरस्कार पाउनुभएको थियो । राष्ट्रव्यापी खुला दोहोरी प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुभएको थापालाई मध्यपश्चिमाञ्चल सांस्कृतिक परिवार सुर्खेतले २०६३ मा राष्ट्रिय सम्मान समर्पण गरेको थियो । २०६५ मा इन्दिरा कलानिधि महाविद्यालय काठमाडौंले अभिनन्दनसमेत गरेको पाइन्छ । त्यस्तै जन्मभूमि दाङका दर्जनौं संघसंस्थाले उहाँलाई सम्मान गरेको पाइन्छ ।

    रेडियो नेपालमा करिब तीन दशकदेखि कार्यरत रहँदै आउनुभएका गायक थापाले करार सेवामै आफ्नो जिन्दगीलाई अन्त्य गर्नुभयो । उहाँको देह त्याग भएको अन्तिम दिन पनि उहाँ रेडियोमा आफ्नो काम सकेर निवास फर्किनु भएको थियो । सरकारी सेवामा समर्पित गरिरहनु भएका एउटा गायक जसले संसार देख्न नपाएरै सरकारलाई सेवा पु¥याउन सफल हुनुभएको थियो भने नेपालको कला संस्कृतिमा अतुलनीय योगदान दिइरहनुभएको पनि थियो । तर उहाँले नेपाल सरकारबाट आफू उपेक्षित भएको भने महसुस गरिरहनु भएको थियो । मुलुकमा जातीय, क्षेत्रीय, लैंगिक समानताको कुरा गरिरहँदा, आरक्षणको कुरा गरिरहँदा उहाँ भने अरुसरह आफूलाई प्रतिस्पर्धा गरिरहनुभएको थियो । कहिल्यै पनि आरक्षणको कुरा नगर्ने उहाँ नेपाली गीतसंगीतलाई भने उच्च राख्नु पर्छ भन्नेमा प्रष्ट हुनुहुन्थ्यो ।

    २०६८ सालतिर म आफू पनि संगीतकार थापासँग सांगीतिक शिक्षा लिन पुगेको थिएँ । उहाँभित्र भएको एउटा शास्त्रीय संगीतको भण्डारभित्र म पनि केही समय रमाउने र केही सिक्ने मनसायमा नजिक भएको थिएँ । त्यतिबेला उहाँको बारेमा नजिकबाट केही जान्ने मौका पनि पाएँ । उहाँ सधैं भन्ने गर्नुहुन्थ्यो– ‘म नेपाली संगीतलाई नयाँ राग दिएर गरेर मात्र मर्न चाहन्छु । मेरो दृष्टिको कारणले गर्दा तिमीहरुले लेख्न सहयोग गरिदिनु म त्यसको फम्र्याट तयार पार्छु ।’ त्यसो भनिरहँदा मलाई लाग्थ्यो रेडियो नेपालभित्रै उहाँको क्षमता के हो भनेर चिनिएको अवस्था रहेनछ । उहाँ लोक संगीतमा पनि शास्त्रीय संगीतको राग भित्र्याएर गीत निर्माण गर्नुपर्छ भन्नुहुन्थ्यो । अहिलेसम्म नेपाली संगीतमा नभएका नयाँ नयाँ रागहरुको निर्माण गर्ने उहाँको सपना अधुरो नै रह्यो । नेपाली संगीतमा नयाँ सोच शैलीबाट धनी बनाउने उहाँको सपना त अधुरो रह्यो तर उहाँ जस्तो मुलुकको एउटा विभूतिलाई सरकारले उपेक्षित ग¥यो, वेवास्ता ग¥यो भन्ने मैले बुझेको छु ।

    मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल आधुनिक गीत, गजलमा पछाडि परेको महसुस उहाँ गर्नुहुन्थ्यो । आधुनिक गीत गजलको धनी क्षेत्र बनाउनु पर्छ हामी सबै मिलेर भन्ने उहाँको सोच थियो । मलाई सधैं संगीतमा राम्रो गरेको छौं भन्दै तारिफ गर्नुहुन्थ्यो । मध्यपश्चिम क्षेत्रबाट मैले संगीतमा गरेको कामको प्रशंसा उहाँले गरिरहँदा मेरो छाति फुलेर आउँथ्यो, उहाँजस्तो शास्त्रीय विधामा पोख्त एउटा अमर स्रष्टालाई नजिकबाट पाएको थिएँ मैले ।
    सरकारी क्षेत्रको विभिन्न ठाउँमा राजनीतिभित्र विभिन्न आरक्षण भइरहँदा उहाँजस्तो प्रतिभालाई सरकारले सधैं करारको जागिरमै सीमित राख्यो, उहाँको प्रतिभाको कदर पनि गरेन र सरकारको सम्मान पनि मिलेन । जे होस् उहाँको योगदान भने नेपाली संगीतले कहिल्यै भुल्न सक्दैन ।

    Facebook comments