प्रतिष्ठानले कहिल्यै शिव वि.क.को कदर गरेन

    शिव वि.., निर्देशक
    चितवन जुटपानी मा जन्मिएका निर्देशक शिव वि.. गाउँको नृत्य, विहे, पूजा, स्कुलको कार्यक्रम लगायतका कार्यक्रमबाट सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै काठमाडौं आइपुगेका हुन् काठमाडौं ५१ सालमा प्रवेश गरेका निर्देशक वि.. आफूलाई आँगनबाटै आएको कलाकार मान्छन् नाचको शौखिन निर्देशक वि.. काठमाडौं अध्ययनका लागि छिरेका थिए तर घरायसी कारणले अध्ययनमा जान नपाएपछि क्यासिनो, स्टेज कार्यक्रम हुँदै निर्देशनको यात्रातर्फ अगाडि बढेका हुन् करिब ३५०० म्यूजिक भिडियोको निर्देशन गरिसकेका शिव वि..सँग म्यूजिक खबरका लागि प्रधान सम्पादक सुमन बैरागीले गरेकोे कुराकानीः

    shiva bk_3

    तपाईंको पहिलो भिडियो कुन हो ?
    पहिला त मैले धेरै म्यूजिक भिडियोमा कोरियोग्राफीको काम गरेँ । आधुनिकतर्फ मैले सिताराम पोखरेलको खोजी हेरिनौंबाट सुरु गरेको हुँ । त्यसपछि नलिना चित्रकारको मेहन्दी लगाउ, शर्मिला बर्देवाको काँसझैं केश, यशकुमारको माया भन्ने यस्तै हो जस्ता गीतहरुको कोरियोग्राफी गरेपछि निर्देशनमा पनि काम पाएँ । निर्देशनमा भने कृष्ण फिल्म्सबाट घुम्तीमा पिपलबोट त्यहीँमाथि चरिकोट बोलको दोहोरीमा निर्देशन गर्ने मौका मिल्यो ।

    तपाईलाई कसले पत्यायो ?
    निर्देशक राजेन्द्र शलभले कोरियोग्राफमा पत्याउनु भयो । सिताराम पोखरेलको खोजी हेरिनौं बोलको पहिलो भिडियोमा मैले काम गर्ने मौका पाएँ ।

    पहिलो भिडियो गर्दाको अनुभव ?
    हामी पनि सिकारु थियौं, मनभरि डर हन्थ्यो तर कोरियोग्राफ र नृत्य त आफूले गरिरहेको थिएँ । तर निर्देशनमा डराइ डराई काम गरेँ । ५ जना केटा ५ जना केटी लिड राखेर नचाएँ, सबैले मन पराए । यसरी कोरस डान्स गराउने सायद म्यूजिक भिडियोमा म नै पहिलो थिएँ ।

    कति पारिश्रमिक पाउनुहुन्थ्यो एउटा म्यूजिक भिडियोको निर्देशनबाट ?
    पहिला यो क्षेत्रमा आउनु नै रहर थियो । पारिश्रमिक यति नै भनेर पाइँदैनथ्यो १ सय जति पकेट खर्च चाहिँ मिल्थ्यो । पछि पछि निर्देशन गरेवापत १ हजार रुपैयाँ पारिश्रमिक पाउन थालियो । कति भिडियोमा त पकेट खर्च पनि नपाइकन खाना र खाजाको भरमा धेरै भिडियो गरेँ । केही पाउन केही गुमाउनु पर्छ भन्नेमै थिएँ, त्यसैले काम भने गर्न छाडिनँ । करिब ८ वर्ष कृष्ण फिल्म्समा रहेर काम निरन्तर गरेँ ।

    एउटा भिडियो निर्माण गर्न खर्च कति लाग्थ्यो नि ?
    त्यतिबेला ७ देखि ९ हजारमा दोहारीको भिडियो बन्थ्यो । त्यही रकमभित्र प्रोडक्सन हाउस, क्यामेरा लाइट म्यान, मेकअप म्यानले पाउँथे पैसा पाउँथे तर डान्सर र निर्देशकले पैसा पाउँदैनथे । त्यसपछि निर्देशकले पैसा नपाए पनि कोरसमा नृत्य गर्नेलाई पैसा दिनुपर्छ भनेर रु १०० का दरले डान्सरलाई पैसा दिनुपर्छ भन्ने सुरुवात मैले नै गरेको हुँ ।

    पुराना दिन सम्झिँदा अहिले कस्तो लाग्छ ?
    समय अनुसार परिवर्तन हो । त्यतिखेरको १०० र अहिलेको हजार उस्तै हो । समयअनुसार भिन्नता धेरै नै छ । त्यतिखेर रेस्पोन्स, सम्मानजनक काम हुन्थ्यो । अहिले कुनै पनि कलाकारको भ्यालु छैन । पारिश्रमिक मात्रै ठूलो होइन रहेछ, सम्मानजनक रुपमा काम गर्नु र अर्काको अगाडि दरिद्री बनेर पैसा मात्र हेर्नु फरक कुरा हो । पहिले र अहिलेमा काम गराईमै पनि धेरै फरक छ । अहिले कमाउने हिसाबमा काम हुन थाल्यो, त्यतिखेर कामलाई पूजा गरिन्थ्यो । त्यतिखेरको काम गराइले लक्ष्यमा पुगेको अनुभव हुन्थ्यो ।

    shiva bk
    अहिले किन कलाको सम्मान हुँदैन ?
    कलाको सम्मान नै छैन । नाचघरको कार्यक्रममा स्टेजमा टेक्न पाउनु नै सम्मान हुन्थ्यो । अहिले पैसाको लागि आफ्नो कला र गलालाई कुल्चिएर झुक्ने प्रवृत्ति बढ्यो त्यसैले कला गलाको पनि भ्यालु छैन । कलाकार धेरै छन् अहिले तर धेरै हुँदैमा बिग्रिएको होइन आफ्नो सम्मान आफैंले अपमानमा बदलेका छन् स्रष्टाले । पहिलेकै उपयुक्त रहेछ भन्ने लाग्छ जुन बेला सम्मानजनक आत्मीयता हुन्थ्यो । अहिले क्वालिटीको मान्छे पनि आएनन् जस्तो लाग्छ, क्वान्टीटीका हिसाबले पनि काम गर्न आउँछन् । नामसँग जोडिएको कामलाई ध्यान दिनु पर्छ । काममा विश्वास र पूजा गर्नुपर्छ । सानो ठूलो नभनी राम्रो गर्नुपर्छ बल्ल सम्मान पाइन्छ भन्ने लाग्छ ।

    अहिले भिडियोमा मुर्गा बनाउने चलन रे नि ? तपार्इंले चाहिँ कतिलाई मुर्गा बनाउनुभयो ?
    शिव विकले मुर्गा बनाको भए शिव विक नै मुर्गा बनिसक्थ्यो । ०५१ देखि ०७३ सम्मको अनुभवले त्यो खालको काम गरेको भए शिव विक यो ठाउँमा हुन्थेन होला । यत्रो ठूलो भिडमा संघर्ष गरिरहेको छु, निरन्तरता पनि छ, अहिले पनि म यहीँ छु । मेरो विश्वास र परिश्रम लगनशीलता जारी छ । पैसा नै सबै कुरा भएको भए पैसा हुन्थ्यो शिव विक हुन्थेन । मैले त्यो काम गरिनँ तर पछिल्लो समय धेरै यस्तो प्रवृत्ति बढेको सुन्छु । म सन्तुष्ट छु, सरस्वति र लक्ष्मी सँगै हुन्न् भन्ने अनुभव छ । शिव विक पैसा कमाउन यो क्षेत्रमा आएको होइन । पैसा कमाउने भए त म विजनेश, घर जग्गाको काम गर्थें । म पुरानो निर्देशक सोचर वा अड मानेर होला त्यस्तो कुरा लिएर आउँदैनन् । कम्पनीसँग मिलेर काम आएको भए मलाई थाहा छैन तर सिधै आएका भने कोही पनि छैनन् ।

    शिव विक महंगो निर्देशक भएर नआएका हुन् कि ?
    शिव विक महंगो छ भनेर हल्ला गर्नेहरु धेरै छन् । पर्ने रेट जे छ त्यही लिने हो । क्यामेरा, गाडी, मोडल र स्पटम्यान सबैलाई चाहिने कुरा नै हो । मेरो लेबल अनुसार एक दुई हजार बढी लिएको हुँला । नयाँ निर्देशकसरह म छैन पनि । मलाई महंगो भनेर आफैं गर्ने र फसाउने धेरै छन् । फसेपछि गुनासो गर्न आउँछन् । बाहिरको प्रोडक्सनमा काम गर्नु परे १५ हजारसम्म मेरो रेट हो, आफ्नै प्रोडक्सनमा काम गर्दा १० हजारभन्दा लिएको छैन । तर कतिलाई सहयोग र सपोर्ट गरेको पनि छु । चार्ज नलिइकन पनि काम गरेको धेरै रेकर्ड छन् । मलाई महंगो भनिदिए काम आफैंलाई आउँछ भन्नेहरु पनि धेरै छन् यहाँ ।

    shiva bk_1
    निर्देशनसँगै मोडलिङ पनि गर्नुहुन्छ कलाकार नभेटेर हो किन आफैं पैसा लिने उद्देश्यले हो ?
    पछिल्लो समय भिडियो बनाउने चलन नै विकृतिका रुपमा आयो, जो पनि कलाकार भए । गीतवालाले आफैं गरिदिनुस् भन्छन्, चार्ज कम लाग्ने र खर्च बचाउने काम गर्न खोज्दा म परेको हुँ । राम्रो लागेको गीत मात्रै गरेको छु । जति कलाकार भित्र्याएँ, चले पनि तर मेरोे नाम कहिल्यै लिएनन् । त्यो कारणले पनि आफैं मोडलिङ गरेको हुँ । आफूलाई चिनाउनको लागि गरेको पनि हुँ । पैसा तिर्न सके राम्रा कलाकार जति पनि भेटिन्छन र पैसा लिएर कलाकार बन्न आउनेहरु पनि धेरै छन् ।

    तपाईंले ब्रेक दिएका कलाकार ?
    पहिला कहि न कहिँ काम गरेका थिए होलान् तर दोहोरीको म्यूजिक भिडियोमा कृष्ण फिल्म्सबाट शंकर बिसी, प्रकाश, विजय, विनोद श्रेष्ठ, सगुन शाही, रश्मी तामाङ, विनु खड्का, कृष्णा रसाइली, पूजना प्रधान, कविता थपलिया जस्ता कलाकारलाई मैले अगाडि ल्याएको हुँ । सेन्टिमेन्टल गीतबाट रञ्जिता गुरुङ, राज तिमिल्सिनालाई पनि मैले म्यूजिक भिडियोमा ल्याएको हुँ । त्यस्तै लोकदोहोरीमा हिरो प्रवेशको काम पनि मैले सुरुवात गरेको हुँ । अभिनेता भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठ, धिरेन शाक्य, आयुष रिजाल, अमृतजंग बस्नेत, श्याम घिमिरे, अभिनेत्री उषा पौडेल, मेलिना मानन्धर, प्रिया रिजाल, निरुता सिंह, सोनिया केसी, बलिउड स्टार कृष्ण सबैलाई लोकदोहोरीमा अभिनय गराएको छु ।

    जीवनमा कतिखेर चाहिँ खुशी लाग्छ ?
    आफूले राम्रो काम गर्दा, प्रोडक्ट गरेको कलाकारले नाम लिँदा, सम्मान गर्दा ज्यादै खुशी लाग्छ । सम्मान भन्दैमा खुट्टा ढोग्नु पर्छ भन्ने होइन, जन्मभूमि, गुरु, मातापिताको सम्मान गर्ने संस्कार बुझेमा पुग्छ ।

    अहिलेसम्म कामको मूल्यांकन कतिखेर भएजस्तो लाग्छ ?
    निरन्तर काम गर्ने मान्छे विश्राम पनि लिँदैन, खुशी पनि हुँदैन, आत्मसन्तुष्टि लिनु ठूलो हो । मैले काम गरेर अवार्ड पाउँदैमा खुशी हुने, नपाउँदा दुःखी हुने वा कार्यक्रममा बोलाए भन्दैमा खुशी हुने पनि होइन । काममा ध्यान दिनु जरुरी छ । अझै राम्रो गरुँ, फरक दिन सकुँ राम्रो गर्ने फरक गर्ने भनेर नाम लिने दिन आओस् । १० वटा काममा २ फरक होस् भन्नेमा लाग्छु । हो, ती दिनहरु देखेर सबैले पक्कै मूल्यांकन गर्नेछन् ।

    कुनै यस्तो दिन आइदिए हुन्थ्यो लागेको कि ?
    सबैको सोचाइ ठूलो हुन्छ तर कहिल्यै यस्तो सोचेको छैन । यो यात्रा हो कहाँसम्म पुगिन्छ आफ्नो बाटो हिंडिरहन्छु । धान रोपेको भए पो यो दिन पाक्छ भन्ने हुन्छ तर यो क्षेत्रमा त्यो पनि हुन्न । अन्तिममा मैले पाउने मरन नै हो । त्यो चाहिँ पक्का छ तर अरु कुनै यस्तो दिनको आश गरेको छैन । जे पाउनु छ अगाडि पाइरहेको छु । मेरो राम्रो काम सुन्न र हेर्न पाउँ त्यो भन्दा आत्मसन्तुष्टि अरुमा मिल्दैन ।

    Shiva BK_5
    यतिका काम गर्नुभयो सम्मान अवार्ड पनि धेरै होलान् नि ?
    यो क्षेत्रमा २१ वर्ष काम गर्दा सम्मान र अवार्ड पाउने हिसाबले काम गरेको छैन । निरन्तर काम गरेँ । पछिल्लो समयमा साथीभाइले पाउँदा आफूले नपाउँदा दुःखी पनि भइँदोरहेछ । आजभोलि मैले किन पाइन भनेर खोजी गर्न थालेको मात्र हुँ । यो क्षेत्रमा बुझेँ कामलाई मात्रै हिंडेको रहेछु । मलाई अवार्ड सम्मान कसैले दिएन । यो क्षेत्रमा अग्रज हुँ जस्तो लाग्छ । काम पनि राम्रै छ, वाही वाही पनि गरेको सुन्छु । कास्टको कारणले हो की कसैसँग घनिष्ट पनि छैन, झुकेर काम पनि गरेको छैन । कामलाई हेरेर काम दिओस् त्यही मूल्यांकन हो । म्यूजिक खबर म्यूजिक अवार्डबाट पहिलो अवार्ड पाउँदा धेरै खुशी भएँ र दुःखी पनि । शिव विक लोकदोहोरीमा काम गर्दा यतिका वर्ष कुनै अवार्ड पाइनँ तर अवार्ड उसले जति माया बोलको आधुनिकबाट पाएँ । लोकदोहोरीको क्षेत्रमा अवार्ड गर्ने वा प्रतिष्ठानले कहिल्यै बोलाएनन् । सम्मान गरेनन् । कामको कदर बल्ल भयो जस्तो लाग्यो, । लोकदोहोरीबाट पहिलो अवार्ड विन्ध्यवासिनी म्यूजिक अवार्डबाट पाएँ । यही वर्ष क्यापिटल नेशनल अवार्ड मेरो मुटुमा तिमी छौ पाएँ । तामाङ म्यूजिक अवार्ड सेलो गीतबाट पनि पाएको छु ।

    भनेपछि प्रतिष्ठानले तपाईंको मूल्यांकन गरेन भन्ने हो ?
    लोकदोहोरी म्यूजिक भिडियो निर्माणको सुरु बनाउने शिव विक हो । अहिले सबैभन्दा राम्रो भिडियो बनाउने पनि मै हँ । राष्ट्रिय लोक तथा दोाहोरी गीत प्रतिष्ठानले कहिल्यै शिव विकको कदर गरेन । बढी काम लोकदोहोरीमा गरेँ, प्रतिष्ठानले कहिल्यै वास्ता गरेन । मैले ल्याएको कलाकार सबैभन्दा प्यारो हुने मैले गरेको काम नराम्रो हुने अनि मलाई नै नबोलाउने किन ? चाप्लुसी नगरेर हो की । खुशीले चल्ने हो घमण्ड गरेको पनि होइन । प्रतिष्ठानभन्दा अगाडि शिव विक आएको हो । अहिले राम्रो गाउने आउँदैमा नारायण गोपाल सक्कियो भन्ने पनि होइन । म प्रतिष्ठान र कलाकारले वेवास्ता गरिएको व्यक्ति हुँ । एक्लो छु, खुबीले मात्र टिकेको छु ।

    Facebook comments