• ट्रम्पको राजनीति र कलाकारको अमेरिका मोह

    सम्पादकीय:

    अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि नेपाली कलाजगतमा पनि नयाँ उथलपुथल आएको छ । अब ट्रम्प राष्ट्रपति भएपछि नेपालीलाई रोक्ने रे…. ग्रीन कार्ड बन्द गर्ने रे… मेक्सिकोमा वाल लगाउने रे… डीभी बन्द गर्ने रे… आदि इत्यादी । प्रभवशाली मुलुकको नयाँ नेतृत्व फेरिएपछि केही न केही गरेर चर्चामा त आइ नै हाल्छन् । ट्रम्प फेरि एउटा व्यवसायिक व्यक्ति परे । धनाढ्यको श्रेणीतिर लम्किएका ट्रम्पको प्राय देशमा लगानी रहेको बताइन्छ । तर विडम्वना उनको आगमनसँगै नेपाली कलाजगतमा भने ठूलै आँधीबेहरी आएको देख्न र सुन्न पाइन्छ ।

    पछिल्लो समय कलाकारहरुको लुक्ने थलो वा दोस्रो देशको नागरिकता लिएर पलायन हुने सपनामा अमेरिका पहिलो नम्बरमा पर्छ । प्राय सबै कलाकारको उदेश्य एकचोटी अमेरिका भन्ने गरिन्छ । अहिले कलाकारिता गर्ने भनेकै अमेरिका जान भनेजस्तो भइसकेको छ । एक दुई वटा गीत गाउनेदेखि लिएर सयौं गीत गाउनेहरुको पनि यात्रा अमेरिका भइरहेको छ । यहाँका साहुहरु अमेरिका गएर हली बनिरहेको अवस्था छ । आफूलाई कलाकारितामा नै छु भन्नका लागि नेपाल आउने र एउटा गीत वा एल्बम निकाल्ने परम्परा पनि हामीमाझ बसिसकेको छ । चाहे त्यो प्रेमराजा महत हुन् या यम बराल उनीहरुले म पुनरागमन भएँ भन्दै नयाँ गीत गरे पनि पुनः अमेरिकी ग्रीन कार्डको महत्वमा दौडि नै हाल्छन् । विदेशमा कुन दुःख गरेका हुन्छन् त्यो देख्नेलाई वा भोग्नेलाई नै थाहा हुन्छ ।

    nepali kalakar

    के हाम्रो देशको कला संस्कृति भनेको विदेशीको शरणमा जाने भ¥याङ मात्रै हो त ? कलाकारितालाई विदेश जाने माध्यमका रुपमा ट्रान्जिट प्वाइन्ट बनाउँदै गर्दा त्यहाँ शरण लिन जाने होइन त्यहाँ नेपाली कला संस्कृति देखाएर कलाकारको पहिचानलाई मजबुद बनाउन जाँदा उचित हुने थियो । आधारभूत आवश्यकता, परिवारको भोलिको भविश्य भन्दै विदेशिँदै गर्दा नेपाली कला संस्कृतिको भविश्य छैन भन्न खोजिएकै हो । सबै मिलेर यो क्षेत्रको व्यवस्थापन गर्दा हाम्रो लाखौं सम्पत्ति अर्काले सार्वजनिक प्रयोग गरिरहेका छन् । हामी हाम्रो सम्पत्ति जोगाउन भन्दा पनि कमाउने नाउँमा विदेश पलायन भएर सुखभोग गर्न तम्तयार भइरहेका छौं । सुख त्यहाँ पनि छैन, विदेशमा कुनै रुखमा पैसा फल्ने पनि होइन, १५ देखि १८ घन्टाको दुःख पछि पैसा देख्न पाइन्छ । फेरि कमाइको लगभग आधा हिस्सा त्यहाँको सरकारलाई कर बुझाउँदै गर्दा आफ्नो देश सम्झनुपर्ने दिन आइरहेको हुन्छ । पलपल स्वदेशको कलाकारिताको पहिचानलाई सम्झिँदै विदेशमा नोकरी गर्दाको अवस्थामा कलाकारको पहिचान शून्य नै हुन्छ ।

    मुलुकमा नाम दाम कमाएपछि विदेशको सपनामा जानेहरुले दुःख भोगेर पुनः नेपालमा नै फर्केको इतिहास हाम्रो सामु छ । अब त्यो दिनको तयारी गर्न छाडेर हाम्रो नैतिक, बौद्धिक अधिकारको लँडाइ लड्यौ भने सार्वजनिक रुपमा प्रयोग भएको हाम्रो बौद्धिक सम्पत्ति फिर्ता हुन्छ । हामी एकातिर धनी बन्नेछौं भने अर्कातिर अधिकार प्राप्ति भएर सांगीतिक भविश्य राम्रो बन्ने अवस्थामा पुग्नेछौं । अहिले ट्रम्पलाई गाली गर्दै ग्रीन कार्डको सपना देख्दा तपाईंलाई त्यहाँ कलाकार भनेर गाउन लैजाने होइन भन्ने पनि बुझ्नु पर्नेछ ।

    Facebook comments