भाइरल बन्दैछ ‘बाच्छिले धान खायो’

असार २८, काठमाडौं । लोक तथा दोहोरी गायक चन्द्र शर्माले तिजको छेको पारेर झ्याउरे गीत सार्वजनिक गरेका छन् । ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित गीतमा शर्मालाई गायिका टीका तारमी मगरले साथ दिएकी छिन् । तिजको शुभकामनासहित बजारमा ल्याइएको झ्याउरे गीत यतिखेर चर्चाको शिखरमा छ । सामाजिक सञ्जालमा हुन् या रेडियो टिभीमा बाच्छीले धान खायोले अग्रस्थान पाइरहेको छ ।

chandra_sharma
शर्माले अहिलेसम्म आफूले गाएका गीतको म्यूजिध भिडियोभन्दा यो उत्कृष्ट बनेको दाबी गरेका छन् । ‘मैले अहिलेसम्म गरेका गीतहरूभन्दा धेरै उत्कृष्ट बनेको अनुभव गरेको छु’, गायक शर्माले भने, ‘झ्याउरे गीतमा आधारित यो गीतले तिज मात्र नभएर सधैं चर्चा पाउनेछ ।’ ‘बाच्छीले धान खायो’ गीतलाई शर्माले आफ्नै यूट्युब च्यानमा अपलोड गरेका हुन् ।


लोक तथा दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानका निवर्तनमा अध्यक्ष समेत रहेका गायक शर्माले थुप्रै गीतहरूमा स्वर दिइसकेका छन् । उनका स्वरमा रहेका लोक तथा दोहोरी गीतहरू राम्रो चल्ने गरेका छन् । लामो समय संस्थागत रुपमा क्रियाशील रहेका शर्माले पछिल्लो समय आएर भने गीतसंगीतमा आफूलाई सक्रिय गराउनेतर्फ लागेका छन् । ‘बाच्छीले धान खायो’का शब्द नेत्र अर्यालका हुन् । खेम सेञ्चुरीको लय रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन बाबु थापाले गरेका हुन् । मौसम हिमालको कोरियोग्राफ, दुर्गा पौडेल छायाँकन र सम्पादन प्रवीण ढकालको रहेको गायक शर्माले बताए ।

Facebook comments