छ्या ! तीज गीत

    [likebtn]

    टीएन रेग्मी

    तीज हिन्दू धर्मावलम्बी नारीहरूले मनाउने नेपालको एक प्रमुख चाड हो । भाद्र शुक्लपक्षको द्वितीयादेखि पञ्चमी तिथिसम्म ४ दिन यो चाड मनाइन्छ । तीजमा भगवान शिवको आराधना गर्ने, व्रत बस्ने आदि कार्य गरिन्छ । ऋषिपञ्चमीको दिन ऋषिपूजासँगै यो चाड समापन हुन्छ । तीजको धार्मिक पाटो पूजा–आराधना र व्रतसँग सम्बन्धित छ ।

    त्यससँगै नाचगान, खानपान र मनोरञ्जन तीजको अभिन्न पक्ष हो । हिन्दू महिलाहरुले परम्परागत रुपमा यो चाड मनाउँदै आएका छन् । हालका दिनमा तीजपर्वको धार्मिकसँगै सामाजिक महत्वमा समेत बढोत्तरी भएको पाइन्छ । तीजका अवसरमा नाचगान, खानपनसँगै रसरङ्गमा अन्य धर्मावलम्बीहरु पनि सामेल हुने गरेका छन् । यसले तीजलाई सम्पूर्ण नेपालीको एक सामाजिक पर्वको रुपमा स्थापित गराउनुका साथै नेपाली समाजको धार्मिक सहिष्णुतालाई अझै प्रगाढ बनाउन मद्दत पुगेको छ ।

    नाचगान यो पर्वको आधारभूत विशेषता हो । तीजपर्वका अवसरमा महिलाहरु अलि बढी स्वतन्त्र र आनन्दित हुने गर्दछन् । त्यस्तो स्वतन्त्रताको छनक नाचगान र अन्तरक्रियामा समेत पाइन्छ । यद्यपि हालका दिनमा यो पर्व विकृत बन्दै गइरहेको छ । यस आलेखमा खासगरी तीज गीतमा देखिएको विकृतिमाथि टिप्पणी गर्ने कोसिस गरिएको छ ।

    अर्थ न बर्थका ‘तीज गीत’
    “धत् ! कस्ता बेसरम् ! दिनदहाडै तिजेगीत बजाएर बस्याछन् !“ उल्लेखित उद्दरण राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाको कार्टुनबाट लिइएको हो । उल्लेखित उद्दरणले समसामयिक तीज गीतको स्तर र विकृतिका विषयमा बुझ्न मद्दत गर्दछ । पछिल्लो समय तीज गीतमात्रै नभएर सम्पूर्ण लोकगीतको क्षेत्रमा उरन्ठेउला, लोकसंगीतको बारेमा ज्ञान नभएका वा अल्पज्ञानीहरुको बोलबाला छ । बेतुकका, नेपाली संस्कृति र पर्वको मर्यादा, महत्वसँग छेउटुप्पो नमिल्ने, मनगढन्ते र उल्का विषयमा गीत बनाउने होडबाजी चलिरहेको छ । तिनै गीतको बुई चढेर देश–विदेश चहार्ने रहर भन्दा बढी ती गीतको उदेश्य छैन । तीज पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व के हो ? कस्तो गीतले त्यसको प्रतिनिधित्व गर्न सक्छ ? भन्नेसम्म ज्ञान नहुने भीडले बजार कब्जा जमाउनु दुस्खद विषय हो ।

    Women dance on the occasion of Haritalika Teej Festival at Pashupatinath Temple in the Capital on Wednesday. Married women fast for the whole day on this day for the prosperity of their husbands whereas unmarried women fast to be blessed to get a caring and a loving husband. September 16 2015. PHOTO/SANJOG MANANDHAR


    जे गर्दा बजार हल्ला र चर्चा हुन्छ त्यही गर्ने छुट न लोकगीतको नाउँमा छ, न अन्य कुनै विधामा । यतिसम्म पनि ज्ञान नहुनेहरुको होडबाजीले दिने प्रतिफल योभन्दा बढ्ता के हुन्छ ? त्यसैले अहिले लोकगीतको नाममा चरम विकृति फैलिएको छ । अर्थ न बर्थका बेढङ्गी शब्द र भावमा मादल बजाउँदै तमासा देखाउने काम नयाँ पुस्ताका मै हुँ भन्नेहरुले गरिरहेका छन् । यसले न उनीहरुलाई फाइदा छ, न समाजलाई । भावी पुस्ताले अर्थ न बर्थका सन्दर्भहरुलाई सन्दर्भ सामग्री बनाएर हुर्किरहेको छ । यसतर्फ सोच्नुपर्ने समय आइसकेको छ ।

    उच्छृंखलहरुको जगजगी
    संसारभर गाइने गीतहरुको प्राथमिक उद्देश्य मनोरञ्जन हो । यद्यपि ती गीतको उद्देश्य केवल मनोरञ्जन प्रदान गर्नु मात्रै होइन । लोकगीत अन्य शास्त्रीय, पाश्चात्य शैलीका र आधुनिक गीतभन्दा पृथक हुन्छ । हुनुपर्छ पनि । स्मरण रहोस्, संसारको कुनैपनि कुनाको मानिस अर्को कुनामा प्रचलित लोकगीतमा रमाउन सक्छ । भाषागत ज्ञान नहुने व्यक्तिसमेत लोकलयमा आनन्दित हुन्छ । दक्षिण एसियामा जन्मिएको व्यक्तिले अफ्रिकन लोकलयबाट पनि आनन्द लिन सक्छ । त्यस्तो विशेषता लोकगीत बाहेक अन्यमा हुँदैन । लोकगीत लोकजीवन र लोकसंस्कृतिमा केन्द्रित हुनुपर्छ । यसले लोक परम्परालाई जीवन्त बनाउन मदत गर्नुपर्छ । तर, अहिले नेपाली संगीत बजारमा उच्छृङ्खलता हाबी भइरहेको छ । लोकगीतका नाममा अचेल आइरहेका अधिकांश शीर्षकले लोकगीतकै अपमान गरिरहेका छन् । ’तीज गीत’ नाम दिएका गीतले तीज गीतको मानमर्दन गरिरहेका छन् । नेपाली पर्व र परम्परा, कर्म र संस्कारमा गाइने गीतहरुको आफ्नै मौलिकता छ । ती गीतहरुको आफ्नै किसिमको शैली र विशेषता छ । तीज गीत र तिहारको गीतमा फरक छ । रत्यौली र तीजमा गाइने गीतमा आकाश जमिनको फरक छ । रत्यौलीमा गाइने गीतमा हास्यरस अलि बढी हुन्छ तर त्यो उच्छृंखल हुनु हुँदैन । तीजको गीत होस् वा रत्यौलीको उच्छृङ्खलता र द्विअर्थी शब्दको प्रयोगलाई नेपाली संस्कृतिले छुट दिएको छैन । अचेल परिवार, साथीभाइसँग बसेर सुन्न नमिल्ने खालका ’गीत’को खेती भइरहेको छ । यो हदसम्मको उच्छृंखलता निन्दनीय छ ।


    पुरुषहरुको ‘तँछाड् मछाड्’
    तीजको गीतलाई महिला–पुरुषको संवादको शैलीमा ढालेर गाउने परिपाटीको सुरुवात लोकगायक प्रजापति पराजुलीले गरेका हुन् । त्यसअघि तीज गीत र नाचगानमा पुरुषको भूमिका ’सेकेन्डरी’ हुन्थ्यो । पराजुलीको शैलीलाई पछ्याउँदै पुरुषोत्तम न्यौपाने लगायत उनका समकालीनले तीज गीतमा नयाँ नयाँ थेगोको प्रयोग गर्न थालेको पाइन्छ । यद्यपि त्यो शैली आफैमा नराम्रो होइन । त्यही शैलीलाई पछ्याउने नाउँमा दोस्रो पुस्ताले तीज गीतलाई हदैसम्म विकृत बनाउँदै लगेको छ । आजको मितिसम्म आइपुग्दा तीज गीत गायनमा पुरुष कलाकारको ’तँछाड् मछाड्’ देखिन्छ । तीज गीतमा अश्लिलता भित्र्याउने र त्यसलाई बढावा दिने काम दोस्रो पुस्ताका पुरुष कलाकारहरुले गरिरहेका छन् भन्दा अत्युक्ति हुँदैन । आफुले गर्दै नगरे पनि हुने काममा अघि सर्नु र त्यसको मर्यादा राख्न नसक्नु लाजमर्दो विषय हो ।

    अन्त्यमा,
    वर्षैभरी हुने मेला(महोत्सवमा माइक पाउने बित्तिकै ’कलाकार’ले तीजका गीत सुनाइहाल्छन् । यो शैली बेमौसमी राग समाएर आफुलाई लोकप्रिय बनाउने र दुईचारपटक ताली पाउने लालसा भन्दा बढ्ता केही होइन । ठाउँ÷कुठाउँ तीज गीत गाउँदैमा कसैको ख्याति बढ्ने र नगाउँदैमा कोही हराएर जाने पनि होइन । फेरि पनि यही तरिकामा सबै मस्त छन् । नेपाली संगीत बजारमा दुनियाँको व्यापार र बजार शास्त्रीय मान्यता विपरीतका अभ्यास हुन्छन् । त्यसैले संगीतमा लगानी गर्नेहरुले केवल ’युट्युब भिउअर्स’को आश गर्छन् र त्यसैका खातिर काम गर्छन् । तीज गीतका नाउँमा विकृति भित्रिनुमा यो प्रवृत्ति पनि केही हदसम्म जिम्मेवार छ । नेपाली संगीत बजारले प्रविधिको उपयोग गर्दै लगानीकर्तालाई प्रतिफल दिने, ’प्रोपोगन्डा’को सट्टा गुणस्तरले बजारमा स्थापित हुने समय कहिले सुरु हुन्छ ? आजको मितिमा सायद यो प्रश्नको उत्तर कसैसँग पनि छैन । त्यसैले अब धेरै ढिला नगरी गीत संगीतको नाउँमा विकृति बढाउनेहरुलाई निरुत्साहित गर्ने कार्यमा जुट्नु आवश्यक छ । पुराना, हाइप्रोफाइल गायक–गायिकाहरु, लोकसंस्कृति र लोक परम्परा तथा लोकवार्ताका मर्मज्ञ र विद्वानहरुको मौनता अब तोडिनु पर्छ । तीज गीतमा चरम विकृति देखिएको छ । ’छ्या तीज गीत! मैले त सुन्दिनँ’ भन्नुपर्ने समय आइसकेको छ । यसबाट पार पाउनका लागि बहसको थालनी गर्नुपर्ने समय भएन र ?

     

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो