लोकसंगीत बिग्रियो भन्ने चिन्ता गायिका शाहलाई पनि उत्तिकै छ । पछिल्लो समय भएको विकृतिलाई कसरी हटाउने भन्ने विषयमा उनले भनिन्….के खाएर के पच्छ भन्ने हो म कहाँको हुँ, कुन संस्कारको हुँ भन्ने बुझ्नु जरुरी छ । एकै छिनमा पैसा कमाउला भन्ने सोचमा नबिगारौं, मौलिकतालाई मर्यादित बनाउनु पर्छ । हो संकलन हुन छाडे कोठामा बसेर लेखिन थाले तै पनि मौलिकतालाई सँगै लैजानु हाम्रो धर्म हो ।


२४ असोज २०७४, काठमाडौं । चन्द्रकला शाह नेपाल लोकसंगीतको एक धरोहर हुन् । दाङबाट काठाडौंसम्मको यात्रा गीतसंगीतले नै उनका यात्रा तय गरिदिए । रापती अञ्चलको मौलिक गीतसंगीतलाई संकलन गरेर ल्याएर देशदेखि विदेशसम्म पु¥याउन सफल चन्द्रकला शाहलाई संगीतप्रति आकर्षण त सानैदेखि थियो । मादल ट्वाँङ बजेको सुनेपछि मन त्यहि मादलतिर जान्थ्यो शाहले पुरानो दिन सम्झिँदै भनिन्  …. त्यो जमाना त्यो नि गाउँ, हारमोनियम हुने कुरै भएन । बाँसुरी हुन्थ्यो । गाई चराउँदै गरेका गोठालाहरुले बाँसुरी बजाएको सुन्दा पनि मन उतिकै रोमाञ्चित हुन्थ्यो । मादलको तालमा, बाँसुरीको धूनमा मन रमाउँथ्यो, गीत गाउँ गाउँ हुन्थ्यो ।


रापती अञ्चलको कला संस्कृतिले उनलाई गीतसंगीतमा लाग्ने प्रेरणा दिएको हो । गाउँको प्रभाव नै आफ्ना लागि आफ्नो संस्कृति रह्यो । त्यसपछि काठमाडौं आएपछि रेडियो नेपालबाट धर्मराज थापाले २०२५ सालतिर हुनुपर्छ, लोकलहरी भन्ने कार्यक्रम चलाउनु हुन्थ्यो । त्यो अञ्चलस्तरीय कार्यक्रम थियो । हरेक अञ्चलको नाम आउँथ्यो, त्यसमा राप्ती अन्चलको नाम आउँछकी भनेर म कान थापेर सुन्थें । आफ्नो गाउँ ठाउँकै मायाले हाम्रो पनि कला संस्कृति प्रसारण गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, शाहले भनिन्…. भक्तराज आचार्यका गीतहरु सुन्दा असाध्यै रमाइलो लाग्थ्यो ।

शाहले सधैं आफ्नो नाम भन्दा आफू जन्मेको ठाउँको नाम नआउँदा चिन्ता लिने गर्थिन् । आफ्नो ठाउँको कला संस्कृति देशभर जानुपर्छ भन्ने चिन्ता थियो उनलाई । हाम्रो पनि कला संस्कृति छ देशको भूभागले चिन्न नसकेको अवस्था छ भन्ने सोचले उनी लोक गीतको क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसैले उनी लोक गीत संकलनको काममा अघि बढिन् । उनले संकलन गरेर ल्याएको गीत नेपालको वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाले गाइन् । ०३२ सालमा संकलन गरेको गीत माथिबाट बगाइल्यायो दही खाने बटुकी गायिका थापाले गाइदिएपछि मेरो यात्रा सुरु भएको हो, गायिका शाहले भनिन् ।


अहिलेसम्म कति एल्बमहरु प्रकाशन गर्नुभया भन्ने प्रशनमा गायिका शाहले भनिन् ३४ वटा जति एल्बम बजारमा आएको छ तर कहाँ छन् के छन् भन्ने थाहा छैन । हरेक स्टुडियोमा गएको बेलामा धेरै गीत गाइयो । त्यसको पनि लेखाजोखा गर्न सकिएको छैन । करिब ५ सयभन्दा बढी गीत संकलन गरेको छु । त्यसो त गायिका शाहले आधुनिक गीत रचना, भजन र राष्ट्रिय गीत गायन, गजल लेखनजस्ता कार्यलाई पनि सधैं सँगै लिएर हिंडिन् । उनको ३७ सालमा आधुनिक गीत रेकर्ड भएको थियो भने ४० सालमा लेखिएको गजल ०६३ सालमा आएर हरिशंकर चौधरीको स्वरमा मधुबाबु थापाको संगीतमा रेकर्ड भएको थियो । त्यसैगरी आँधी आएर नामक हाइकु र तान्का संग्रह पनि प्रकाशित छ । साहित्य लेखनमा पनि उत्तिकै रुचि राख्ने गायिका शाहले नेपाल माटो सुहाउँदो गीतसंगीत र साहित्यलाई प्राथमिकतामा राख्ने गरेकी छन् । उनले लेखेको हाइकु गिट्टी कुटेर, छाक छानुपर्याछ मकै भुटेर पछि लोकदाहोरीको रुपमा बजारमा आयो ।

संगीत के रहेछ भन्ने प्रश्नमा गायिका शाहले भनिन् ….मान्छेलाई स्वस्थ जीवन बनाउने, रमाएर अरुलाई खुशी पार आफू खुशी हाऔ भन्ने नै संगीत रहेछ । संगीतमा लागेर सधैं खुशी छु । कुनै पनि क्षण दुःखी भएको पनि छैन त्यसैले त संगीत मेरो साथीसमेत बनेको छ । गीतसंगीतको क्षेत्रबाट यति ठूलो योगदान गर्दा पनि राज्यबाट केही पाउनुभएको छैन नि भन्ने जिज्ञासामा गायिका शाहले भनिन् …. यस्तो कुरामा मैले ध्यान दिएकै छैन । म के छु कहाँ छु भन्ने आफूले नै बुझ्नु पर्छ । मैले राज्यलाई के दिएँ भन्ने ठूलो कुरा हो । राज्यले देला र खाउँला भन्ने सोच भइदिएको भए, म सुख सुविधा खोजेको भए त आज घर गाडी हुन्थ्यो होला । बरु मैले नै देशलाई केही दिन नसकेको जस्तो लागेको छ । कलाकारले कति राम्रो सिर्जना दिन सक्ने हो त्यो चाहिँ बुझ्नु प¥यो ।

गीतसंगीतको लामो अभनुव बोकेकी गायिका शाहले नयाँ पुस्तालाई संगीत सिक्न आग्रह गर्छिन् । संगीत सिकेर कुनै आफ्नो लोकपन मर्ने होइन त्यसलाई अझ राम्रो बनाउन सकिन्छ उनले भनिन् । पहिला संगीत शिक्षाको अभाव थियो । रेडियो नेपाल मात्र केन्द्रित थियो । पछि टेलिभिजन आयो । तर अहिले जहाँ पनि संगीत सिक्ने ठाउँ बनेको छ । त्यसैले शिक्षाले कहिल्यै मानिसलाई नराम्रो बनाउँदैन बरु अझ उचाइमा लैजान मद्दत गर्छ ।

लोकसंगीत बिग्रियो भन्ने चिन्ता गायिका शाहलाई पनि उत्तिकै छ । पछिल्लो समय भएको विकृतिलाई कसरी हटाउने भन्ने विषयमा उनले भनिन्….के खाएर के पच्छ भन्ने हो म कहाँको हुँ, कुन संस्कारको हुँ भन्ने बुझ्नु जरुरी छ । एकै छिनमा पैसा कमाउला भन्ने सोचमा नबिगारौं, मौलिकतालाई मर्यादित बनाउनु पर्छ । हो संकलन हुन छाडे कोठामा बसेर लेखिन थाले तै पनि मौलिकतालाई सँगै लैजानु हाम्रो धर्म हो ।
– संगीतकार सन्तोष श्रेष्ठसँगको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *