जीवन भनेको रोमान्टिक हुनुपर्छ

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७२, मंगलवार

रविन्द्र आशिष शैली


एक दशकको गीति लेखनको यात्रा पूरा गरिसकेका बनेपा नगरपालिका तीनधाराका रविन्द्र आशिष शैलीको सांगीतिक एवं साहित्यिक जीवन कविताबाट सुरु भएको हो । बनेपामा एसएलसीसम्मको अध्ययन गरेर उच्च शिक्षका लागि काठमाडौं छिरेका शैलीले स्कुलदेखि नै कविता र गीत लेख्दै आएका थिए । कवितासंग्रह आजको आकाश भाग १ र २ बजारमा ल्याइसकेपछि साहित्यिक यात्राको क्रमलाई उनले सांगीतिक यात्रातर्फ मोड्दै गए । पछिल्लो समय निरन्तर कविता र गीत लेखन गर्दै आएका शैलीले दुईवटा एल्बम पनि बजारमा ल्याइसकेका छन् । मायाले बोलाउँछ भाग– १ र २ एल्बम बजारमा ल्याइसकेका शैली गीति लेखनको यात्रामा पनि फरक शैलीमा नै उभिएका छन् । गीतकार शैलीसँग म्यूजिकखबरका लागि सुमन बैरागीले गरेको कुराकानी:

तपाईंलाई चिनाउने गीत कुने हो ?
मेरो पहिलो एल्बम मायाले बोलाउँछ भाग–१ को बाटोमा हिंड्दा बोलको गीत हो । जुन गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने विनोद पछाइको संगीत रहेको छ । यो गीतको चर्चाबाट नै मलाई गीतकारको रुपमा स्थापित गराएको हो । जुन गीत मैले पनि बाटोमा हिंड्दाको अवस्थामा भेटिएको कथालाई नै लेखेको थिए ।

कस्ता गीत बढी लेख्नुहुन्छ ?
प्रेम प्रसंगका गीत नै बढी लेख्ने गर्छु किनकी बजारमा प्रेमभाव भन्दा बाहिरको गीत चल्दै चल्दैन । अरु आत्मरतिका लागि लेख्ने हो भने प्रेमभाव स्थापित हुनका लागि लेख्ने हो जस्तो लाग्छ ।

rabindra asshish

प्रेमप्रसङ्गबाहेकका गीतले बजार पाउँदैन र ?
धार्मिक गीत धर्ममा लाग्नेहरुको आत्मसन्तुष्टिका लागि प्रयोग हुने भयो । त्यस्तै राष्ट्रिय गीतले देशप्रेमको भावना बोक्ने भयो । यी गीत भनेको शोखको लागि मात्र लेखिन्छ । प्रेमको गीत एकातिर बजाउने र अर्कोतिर देशप्रेमको गीत बजाउने हो ने प्रेमको गीत सुन्नेतिर धेरैको ध्यान आकर्षित भइरहेको हुन्छ । पक्कै पनि कुनै न कुनै बेला मान्छे प्रेमको गहिराइमा डुबेको हुन्छ त्यसले गर्दा प्रेम प्रसङ्गका गीत नै बढी प्राथमिकतामा रहन्छ । एउटा प्रेम प्रसङ्गकै गीत हिट भयो भने गीतकारको परिचय स्थापित हुन्छ ।

दुईवटा एल्बम निकाल्नुभयो, एउटैको सिक्वेल गर्नुभयो नि ?
लेखकका लागि एउटै नामले चिनाउने हो । जुन नाम जनमानसमा सरल बनिरहेको छ त्यही नामको सिक्वेल गर्दा एल्बम पनि चिनाउन सकिन्छ जस्तो लाग्छ मलाई । मलाई मायाले बोलाउँछ भन्ने एल्बमले गीतकारको रुपमा चिनायो त्यसैले मायाले बोलाउँछ –२ लाई नै प्रकाशनमा ल्याएको हुँ ।

गीत लेखनमा संयोगान्त कि वियोगान्त लेख्नुहुन्छ ?
संयोगान्तकै गीत लेख्न सजिलो हुन्छ । जहाँ मिलन हुन्छ त्यहाँ सधैं सकारात्मक धार हुन्छ । हामीले सदैव सकारात्मक धारबाट हे¥यौं भने समाज पनि सकारात्मक बाटोमा जान्छ भन्ने हो । वियोगान्त गीत लेख्दा पीडा महसुस हुन्छ । पीडाको गहिराइमा डुबेर गीत लेखिसकेपछि पीडामा परेकालाई थप पीडा दिनका लागि बजारमा ल्याइएको हो जस्तो लाग्छ त्यसैले वियोगान्तभन्दा संयोगान्तमा मेरो कलम बढी चल्छ । जीवन भनेको रोमान्टिक हुनुपर्छ ।

आजभोलिको गीतसंगीत सदाबहार बन्न सकेनन् नि ?
समय अनुसार हामी चल्न गाह्रो हुन्छ । तेश्रो मुलुकबाट आएका गीतको प्रभावले हाम्रो उद्योगलाई पनि छोएको छ । पहिलाका गीतमा सिस्टम र मेलोडी दुईवटै थिए जसले सदाबहार बनाउन ठूलो सहयोग ग¥यो । अहिले सबै भताभुंग अवस्थामा संगीत उद्योग चलिरहेको छ । कसले कपी ग¥यो, कसले चो¥यो भन्ने भन्दा पनि छिटो आउने र हराउने प्रवृत्तिमा गीतसंगीत हिंडिरहेको छ त्यसैले सदाबहार बन्न सकेन ।

अहिलेको गीत कस्ता लाग्छ ?
अहिलेको गीत टिक्ने पनि भएनन्, बिक्ने पनि भएनन् । समय बिताउनका लागि मात्र गीत रेकर्ड गरिरहेका छन् कि जस्तो लाग्छ ।

तपाईंको अविश्मरणीय क्षण ?
कलेज पढ्ने समयमा बाटोमा हिंड्दै गर्दाको घटनालाई नै मैले गीत बनाएको छु । दुई जना साथी घुम्न जाँदा राम्रो केटी देखेँ भनेर साथीले बोलायो तर म जाँदा त्यो केटी भेट भएन । अर्को दिन पनि भेट हुन्छ की भनेर गएँ तर कहिल्यै भेट भएन । त्यही अवस्थालाई नै मैले गीतमा परिणत गरेको छु ।

अबको यात्रा ?
प्रत्येक वर्ष एउटा एल्बम बजारमा ल्याउने सोचमा छु । गीत लेखनको यात्रालाई अझ मजबुत बनाउँदै लैजानेछु ।

तपाईको मन पर्ने गीत ?
मलाई रत्नशमशेर थापाको रचना रहेको मणिकरत्नले गाएको गीतले साह्रै छोएको छ । नआऊ जून कोठामा राति म सँग लड्न बोलको गीत मैले धेरै सुन्ने गर्छु ।

मन पर्ने गीतकार ?
किरण खरेल र रत्नशमशेर थापा ।

मनपर्ने गायक गायिका ?
पहिलो पुस्तामा तारादेवी र प्रेमध्वज प्रधान हुन् भने अहिलेको पुस्तामा स्वरुपराज आचार्य र अन्जु पन्त हुन्छ । रोमान्टिक गीत गाउनेमा इन्दिरा जोशीलाई लिन्छु ।

गीतकार नभएको भए के बन्नुहुन्थ्यो ?
म गीतकार नभएको भए एउटा सफल व्यापारी बन्थे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु