दुर्गा र केशुको स्वरमा ‘बुकी फूल’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७५, बुधबार

 

काठमाडौं– गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङको स्वर रहेको कौरा गीत ‘बुकी फूल’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक समारोहबीच गुरुङ कला–संस्कृति र पहिचान बोकेको ‘बुकी फूल’लाई बरिष्ठ लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, पत्रकार विदुर गिरीलगायतले सार्वजनिक गरेका थिए ।

सार्वजनिक गीतमा शब्द गायक तथा संगीतकार रेशम गुरुङ र गायिका केशु गुरुङकै रहेको छ । लय रेशम गुरुङको रहेको उक्त गीतको भिडियोलाई तनहुँको बन्दिपुरस्थित धरमपानीमा छायांकन गरिएको हो । गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका केशुले भनिन्, ‘यस गीतमार्फत सकरात्मक अपेक्षा गरेकी छु ।’

स्वास्थ्यकर्मीसमेत रहेकी गायिका केशुले आफ्नो गुरुङ कला, संस्कृति र पहिचानका लागि कौरा गाउँदै आएको बताइन् । उनले भनिन्, ‘गायन मेरो सौख र रुचिको कुरा हो । त्यसैले रहर र सौख पूरा गर्न आफ्नो संस्कृतिलाई अँगालेकी छु ।’ कार्यक्रममा गायक दुर्गा गुरुङ, गीतकार तथा गायक रेशम गुरुङले सार्वजनिक गीतबारे आफ्नो धारणा राखेका थिए ।

सोही क्रममा गायक दुर्गाले भने, ‘आज सार्वजनिक कौराले गुरुङ समुदायको संस्कृति बोकेको छ ।’ पछिल्लो समय आधुनिकरणको हस्तक्षेपसँगै परम्परागत कला तथा संस्कृतिमाथि समेत हस्तक्षेप बढिरहेको अवस्थामा गुरुङ संस्कारलाई उजागर गर्ने कौरा गीत ‘बुकी फूल’का टीमलाई प्रमुख अतिथि गायक रायमाझीले शुभकामना दिए । उनले भने, ‘मैले रेशम र दुर्गा गुरुङसँग लामो समयदेखि संगत गर्दै आएको छु । उहाँहरु आफ्नो संस्कृतिप्रति धरोहर बन्दै आउनु भएको छ ।’

सार्वजनिक गीतको भिडियोलाई पर्सन गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा गायिका केशु गुरुङ, विष्णु थापा, टेक गुरुङ, चाउ बि गुरुङ, टार्जन गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको भिडियो उक्त भिडियोलाई निर्वाणा टिभी नेपालले सावजनिक गरेको हो । गीत तथा भिडियोबाट निर्माण टीम आशावादी रहेका छन् । कार्यक्रममा विभिन्न व्यक्तित्व तथा पत्रकारलाई मायाको चिनो र सम्मान प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु