कलाकार बीचको मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार

काठमाडौं, ३१ साउन । कलाकारहरु बीचको मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल सम्पन्न भएको छ । राजधानीको पेप्सीकोला स्थित टाउनप्लानिङमा चलचित्र तथा गीत, संगीत क्षेत्रका सर्जकहरुको मैत्रीपूर्ण फुटबलमा १२ टोली एक आपसमा भिडेका थिए । यो कुनै उपाधि जित्ने प्रतियोगिता नभए पनि नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड कार्यक्रममा सामेल कलाकार तथा अवार्ड कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पु¥याउने कलाकारहरुको सामुहिक सद्भाव रहेको आयोजकले बतायो ।

उसै त साउनको महिना, प्रायः झरी परिरहन्छ । झरी परिरहने भएकै कारण आयोजकले समेत मैत्रीपूर्ण प्रतियोगिताको नाम नै ‘हिलो कप’ राखेको थियो । निरन्तर झरीका कारण प्रायः यस्ता प्रतियोगिताहरु कमै हुने अथवा स्थगित समेत हुने गरेको पाइन्छ । तर, आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुरुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले तोकिएकै समय अर्थात् पूर्व घोषित कार्यक्रम अनुसार प्रतियोगिता सम्पन्न गरेरै छाडे । प्रतियोगिता पनि नाम अनुसारकै भयो । सोही दिन पनि दिनभर झरी परिरह्यो, तर कलाकार भने ओत लागेनन् । झिज्दै–रुझ्दै मैदानमा बल गुडाइरहेँ । विपक्षीको पोष्टमा गोल हान्न उद्यत देखिए । बिहान ७ बजेदेखि शुरु भएको प्रतियोगिता बेलुका ७ बजेसम्म चलिरह्यो ।

प्रतियोगितामा सहभागी १२ टोलीमध्ये पहिलो भिडन्त जनजाती तथा भाषाभाषी गीतका कलाकारहरुले भीएफएक्स टोलीको सामना गरेका थिए । जसमा भीएफएक्स टोलीले ५–३ को गोल अन्तरले जित हासिल गरेको थियो । त्यसैगरी दोस्रो खेलमा नेवारी कलाकार भर्सेस तामाङ कलाकारबीचको भिडन्त पनि निकै रमाइलो बन्यो । जसमा तामाङ कलाकारले २–० गोल अन्तरको जित हासिल ग¥यो ।

 

यसैगरी तेस्रो खेलमा लोकदोहोरी कलाकारले आधुनिक कलाकारको टोलीलाई पनि २–० कै गोल अन्तरको जित हासिल ग¥यो । त्यस्तै, चलचित्रका कलाकारहरुको फुटबल पनि निकै नै रमाइलो बन्यो । जसमा मेरी मामु टोली र लभ डायरिज टोलीले बराबरी खेले ।

त्यसैगरी चलचित्र कहीँ कतै र राष्ट्रिय कलाकारको टोलीबीच भएको भिडन्तमा राष्ट्रिय कलाकारको टोलीले २–० गोल अन्तरको जित हासिल ग¥यो । त्यसैगरी मोडल संघले आयोजकसँग प्रतिस्पर्धा गरेको खेलमा आयोजक २–१ गोल अन्तरले पराजित भयो । त्यसपछि विजेता टोलीहरु मैदानमा उत्रिएका थिए । उपाधिका लागि खेलाइएको खेलमा मोडलहरुको टोलीलाई पेनाल्टी सुटआउँटमा हराउँदै तामाङ म्यूजिक भिडियो कलाकारले उपाधि जित्न सफल भएको थियो ।

नेपाली विविध सांगितिक क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै मालामा उनेर बक्स अफिस इन्टरनेशनल ग्रुरुप, बक्स अफिस फिल्मी क्लब नेपालले राष्ट्रिय म्यूजिक भिडियो, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषा भाषी, पप गीत लगायतलाई समेटेर वृहत्त अवार्ड वितरण गर्न लागेको हो । अब आयोजकले अवार्ड कार्यक्रम अन्तर्गत पहिलो चरणको वृहत कार्यक्रमपछि भदौ पाँच गते उत्कृष्ट १० को नोमिनेसन सार्वजनिक गर्ने जनाएको छ भने असोजको पहिलो हप्ता सिंगापुर जानु एक हप्ता अगाडि राजधानीमा एक कार्यक्रम गरी उत्कृष्ट १० लाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । अन्तिम कार्यक्रम असोज १८ गते सिंगापुरमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु