कानुनले तोके अनुसार स्रष्टा सर्जकले रोयल्टी पाउनुपर्छ

म्यूजिक खबर
प्रकाशित: २८ असार २०७५, बिहीबार

२८ असार, काठमाडौं । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले कानूनले तोके अनुसार स्रष्टा सर्जकले रोयल्टी पाउनुपर्ने बताएका छन् । मन्त्री बास्कोटाले गीत संगीतको सार्बजनिक प्रयोग बापत स्रष्टा सर्जकले पाउनु पर्ने रोयल्टी सर्जकको अधिकार भएको बताएका छन । सञ्चारमन्त्री बास्कोटाले रेडियो, टेलिभजन, यातायात लगायत गीत संगीतको सार्बजनिक प्रयोग हुने सबै क्षेत्र रोयल्टीको दायरामा आउनै पर्ने र ल्याइने बताए ।


सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोशियसन अफ नेपाल र संगीत रोयल्टी संकलन समाजहरुबीच रोयल्टीका बिषयमा भएको संझौताबारे जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा मन्त्री बासकोटाले गीत संगीतबाट प्रयोगकर्ताले आनन्द लिने तर स्रष्टा सर्जक भोकै मर्ने अबस्थाको अन्त्य हुनु पर्ने बताए । मन्त्री बास्कोटाले संगीत क्षेत्रलाई पनि ठूलो उद्योगको रुपमा बिकास गरिनु पर्ने बताए ।

 

गीतसंगीतको प्रयोग गरेर सबैले खुशी मनाउने तर स्रष्टा सर्जकहरु भोकभोकै मर्ने काम हुनुहुँदैन, मन्त्री बास्कोटाले भने – कसैले पनि यसलाई प्रतिष्ठाको बिषय नबनाई कानुनले तोके अनुसार स्रष्टा सर्जकले पाउनु पर्ने रोयल्टी प्रदान गरी प्रतिलिपि अधिकार र स्रष्टाको सम्मान गर्न जान्नुपर्छ ।

संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ यसोशियसन अफ नेपालबीच भएको सहमती अनुसार सामुदायिक रेडियो प्रसारक संघमा आबद्ध सबै रेडियो र ब्रोडकास्टिङ एसोशियसन नेपालसंग आबद्ध रेडियोहरुले प्रसारण क्षमता ‘वाट’ अनुसार गीत संगीतको सार्बजनिक प्रयोग बापत बार्षिक पच्चिस सय रुपैया देखि बाह्र हजार रुपैया सम्म रोयल्टी तिर्नेछन ।

रोयल्टी संकलन समाजहरुले यसरी प्राप्त रोयल्टीलाई बैज्ञानिक आधार बनाई सम्बन्धित स्रष्टालाई बितरण गर्ने बताएका छन । रेडियोहरु संगको संझौतालाई स्रष्टा सर्जकहरुले स्वागत गरेका छन । आगामी दिनमा पनि सञ्चार माध्यम र सर्जकबीचको सम्बन्ध सुमधुर भैरहने बिश्वास दुबै पक्षले लिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु