श्रोता दर्शकले अधिक मन पनि पराउँछ्न् यो नै मेरो लागि अवार्ड हो

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७५, शनिबार

किस्नादेवी आचार्य/म्यूजिकखबर
सानैदेखिको कलाकारितामा लाग्ने रहरले मोफसलदेखि राजधानीको यात्रा तय गरेका संगीतकर्मीको जमातभन्दा बेग्लै छ्न् गीतकार नवराज पन्त ।
२०४२ साल चैत्र १० गते बाग्लुङ जिल्लाको अमलाचौर गाविस वडा नं १ बरडाँडा (बा.न.पा–१२) मा स्व. मणिरत्न पन्त र रत्नकली पन्तका सुपुत्रको रूपमा जन्मिएका पन्तको काठमाडौं यात्राको उद्देश्य विशुद्द रूपमा अध्ययन नै थियो । गाउँको रमणीय वातावरणमा धौलागिरी हिमालको चिसो हावा अनि कालीगण्डकीको कन्चन पानीमा खेल्दै हुर्केका उनमा सिर्जनाको उर्वरशीलता त थियो नै । तर अध्ययनको दौरान र ब्यस्तताले त्यतातिर ध्यान भने दिएका थिएनन् । जे होस् जब उनको सिर्जना शक्ति बाहिर आयो, सम्पूर्ण श्रोता दर्शकको मुखमुखमा झुन्डिन थाल्यो २०६८ सालमा उनको सिर्जनामा सांगीतिक बजारमा आएको पहिलो गीत “डाँडै फुर्के सल्लो“ । भलै यो गीत गुनगुनाउनेहरुलाई थाहा नभएको होस् यस गीतका गीतकार नवराज पन्त हुन् भनेर तर धेरैभन्दा धेरै श्रोता दर्शकको माया यो गीतले पायो । डाँडै फुर्के सल्लो बाट आफ्नो सांगीतिक यात्रा औपचारिक रूपमा शुरूवात गरेका पन्तको सिर्जनात्मक यात्रा अहिले पनि निरन्तर चलिरहेकै छ ।


डाँडै फुर्के सल्लोका गीतकार पन्तका मायालुको शहरमा मेरो गाउँमा घर छ, पिरतीको खाममा, शुभ विवाह लेखेको मिनिबस, धौलागिरी हिमालको छायाँ कहाँ होला, नआऊ मेरो भाइ, सालको पातको टपरी लगायतका गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता बटुल्न सफल छ्न् । संख्यात्मक रूपमा धेरै गीत नलेखे पनि उनका जति सिर्जना सांगीतिक क्षेत्रमा सार्वजनिक भएका छ्न् सबैले दर्शक श्रोताको मन जितिरहेकै छ्न् । गीत चर्चित भैरहँदा श्रोताले गीतकारलाई भन्दा गायक गायिकालाई मात्रै चिन्ने हुँदा गीतकार संगीतकार छायाँमा पर्दछन् ।


गीतसंगीतलाई पेशाभन्दा रुचिको रूपमा अघि बढाएका पन्त अध्ययनपछि जन्मथलो बाग्लुङ फर्केर करिब ३ बर्ष अध्यापनमा संलग्न रहे । व्यबस्थापन र जनप्रशासनमा स्नातकोत्तर गरिसकेका उनले बाग्लुङका नाम चलेका शैक्षिक संस्थामा अध्यापनको माध्यमबाट सेवा गरिसकेका छ्न् । कालीगण्डकी क्याम्पस, फ्युचर ब्राइटर मा.वि.लगायतमा सेवा गर्दागर्दै अध्यययनकै मोहले उनलाई बेचैन बनाइरह्यो । त्यसैले सोझियो उनको यात्रा अधिकांश नेपालीहरुको सपनाको देश अमेरिकातर्फ । २०७१ सालमा अमेरिकी भुमिमा छिरेर हालसम्म अध्ययन र काम दुवैलाई समानान्तर रुपले अगाडि बढाइरहेका छ्न् भने उनमा भएको सिर्जनात्मकता त मर्ने कुरै भएन । डाँडै फुर्के सल्लोका गीतकार पन्तका मायालुको शहरमा मेरो गाउँमा घर छ, पिरतीको खाममा, शुभ विवाह लेखेको मिनिबस, धौलागिरी हिमालको छायाँ कहाँ होला, नआऊ मेरो भाइ, सालको पातको टपरी लगायतका गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता बटुल्न सफल छ्न् । संख्यात्मक रूपमा धेरै गीत नलेखे पनि उनका जति सिर्जना सांगीतिक क्षेत्रमा सार्वजनिक भएका छ्न् सबैले दर्शक श्रोताको मन जितिरहेकै छ्न् । गीत चर्चित भैरहँदा श्रोताले गीतकारलाई भन्दा गायक गायिकालाई मात्रै चिन्ने हुँदा गीतकार संगीतकार छायाँमा पर्दछन् । त्यसैले आफ्नो गीतमा आफैं स्वर दिने प्रचलन पनि बढिरहेको पाइन्छ । साथै स्टेज कार्यक्रम पनि उत्तिकै पाउने गर्छन् गायकगायिकाहरु । पन्त भने गीतसंगीतमा लागेर सिर्जना गरेर मात्रै जिविका चलाउन गाह्रो छ भन्नेहरुका लागि अन्य पेशा पनि गर्न सुझाउँछन् । भगवान भण्डारी, एकनाराएण भण्डारी, रमेश बिजीका गीतहरू अत्यन्तै सुन्ने उनी कुलेन्द्र बिश्वकर्मा, वसन्त थापा, प्रह्लाद सुवेदीलगायतका साथीहरूको साथ र सहयोगले यो क्षेत्रमा लाग्न प्रेरित गरेको बताउँछन् । नेपाली लोकदोहोरी क्षेत्रका सम्पूर्ण सर्जकहरुप्रति सधैं सकारात्मक धारणा राख्दै आफुलाई एउटा असल श्रोताको रूपमा पनि लिन्छन् उनी । स्तरीय गीत रचनामा अब्बल पन्तलाई गीत लेखेपछि सुनाउँदै, देखाउँदै कहिल्यै स्टुडियो धाउनु परेन । उनी भन्छन् “काम र अध्ययनमा केन्द्रित हुने मान्छे म, त्यसैले सांगीतिक क्षेत्रका साथीहरूसँग निकै कम र केहीसँग मात्रै प्रत्यक्ष भेटेको छु । अहिले सामाजिक सञ्जालको माध्यमबाट बरु धेरै कलाकार साथीहरूसँग आत्मीयता बढेको छ ।“

 


कलाकारितामा लाग्दाका अप्ठ्यारा कत्तिको महुसुस गर्नुभयो ? सहयोग गर्ने कोही भए भएनन् ? पन्त कै शब्दमा “बरु गाउँमा हुँदा एल्बम किन्ने पैसा नहुँदा दुःख लाग्थ्यो तर मेरो सिर्जना बजारमा ल्याउन अग्रज दाइहरुको साथ सहयोग र हौसलाले त्यस्तो अप्ठ्यारो अनुभव गर्ने दिन आएन । श्रोता संगीतका प्रबन्ध निर्देशक अर्जुन बोहराले विशेष सहयोग गर्नु भयो ।“

परदेशमा बसेर फरक भाषा, संस्कृति र परिवेशमा नेपालको परिवेश सम्झेर गीत सिर्जना गर्न कत्तिको सहज छ ? भन्ने हाम्रो जिज्ञासामा पन्त भन्छन् “विदेश भनेको विदेश नै हो । सुखसुविधा एउटा पाटो होला पढाइ र कामको चापले समयको सधैं अभाव भैरहन्छ । त्यही व्यस्त समयको बीचमा पनि अन्तरस्करणमा फुरेका भावलाई गीतमा ढाल्दै मनको तिर्सना मेट्ने गरेको छु ।“ जसले परदेशको संस्कृतिमा रमेर आफ्नो पन बिर्सनुभन्दा आफ्नै संस्कृतिको जगेर्नामा केही योगदान गर्न सकेकोमा आत्मसन्तुष्टि मिल्ने उनको अभिव्यक्ति छ ।

विकसित देशमा समयलाई पैसा मानिन्छ विशेष गरी अमेरिकामा । यस्तो धारणा राख्ने देशमा धेरै समय काम गर्दा धेरै पैसा कमाइन्छ । अनि लगानी गर्दा पनि दिगो प्रतिफल दिने क्षेत्र हेर्ने उनीहरुको स्वभावले पक्कै प्रभावित हुनुहोला, गीत सिर्जनामा खर्च हुने समय काममा लगाउँदा कमाइ बढ्थ्यो होला नि कि गीतबाट उपलब्धि राम्रै छ ? भन्ने हाम्रो प्रश्नमा पन्त भन्छन् “खासै प्रतिफल छैन ।“ सबै प्रतिफल छैन भन्दै लाग्दै गर्ने खास समस्या केमा छ त ? हामीले यही सन्दर्भमा पुन प्रश्न जोड्दा उनले थपे परिवर्तित प्रविधिको विकाससंगै हामी परिवर्तन हुन सकेका छैनौं । अर्को कुरा वास्तवमा कला प्रतिभा हुनेहरू भन्दा क्षमता कम र शुन्य रहर बढी र पैसा खर्चेरै यो क्षेत्रमा लाग्नेहरु बढी भए पछिल्लो समय ।“

यसैलाई लगानी डुब्नुको प्रमुख कारण औल्याउँदा उनी आफ्नो हकमा भने कम चिन्तित थिए । कारण आफुमा भएको सिर्जनशीलतामार्फत दर्शक श्रोताको माया पाउनु, संस्कृतिको जगेर्नार्थ थोरै टेवा दिन पाउनु गर्वको कुरा मान्छन् उनी । त्यसैले त अमेरिका बसाइलाई अध्ययनको समाप्तिसँगै छोट्याएर अर्को वर्ष नेपाल नै फर्केर अझै सक्रिय रूपमा यही क्षेत्रमा लाग्ने सोचमा छ्न् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालसँग आजीवन सदस्य बनेर जोडिएका पन्तलाई तपाईंका सिर्जना निकै उत्कृष्ट हुन्छन् । श्रोता दर्शकले अधिक मन पनि पराउँछ्न् नेपालमा वितरण हुने विभिन्न अवार्ड सम्मान कति तपाईंको हातमा परे भन्ने हाम्रो अन्तिम प्रश्नमा पन्त भन्छन् “यो नै मेरो लागि अवार्ड हो । म बाहिर भएको कारण पनि अवार्डहरुमा सहभागिता नै जनाउन पाउँदिनँ । २०६८ सालमा पहिलो गीतबाट उत्कृष्ट एल्बम विधामा पूजा लोकदोहोरी अवार्ड पाएको छु, सोही अवार्डको २०६९ संस्करणमा उत्कृष्ट शब्द सिर्जनाबाट पाएको छु । जसले मलाई गीति लेखनको क्षेत्रमा हालसम्म प्रोत्साहन मिलिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु