यस्तो छ संगीतकारको दशैं योजना

म्यूजिक खबर
प्रकाशित: २८ आश्विन २०७५, आईतवार

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं नेपालीको घरआगनमा आइसकेको छ । यो मौसमले यतिबेला नेपाली गीत संगीत र सिंगो कलाकारिता क्षेत्रलाई पनि छोइसकेको छ । यस क्षेत्रमा लागेका संगीतकारहरुले यस वर्षको दशैंलाई अविस्मरणिय बनाउनका लागि के गर्दैछन् त ? यहि सन्दर्भमा केही संगीतकारहरुसँग दशैं योजनाबारे कुराकानी गरिएको छ ।

राजु सिंह
अन्य दिनमा संगीतमा अत्यन्तै व्यस्त गरेकाले योे दशैंमा घरमा परिवारलाई पुरा समय दिने सोच बनाएको छु । दुर्गाको पिठहरुमा गई नवदुर्गा भवानीको पुजा गर्ने । अन्य दशैंमा झैं मान्यजनको हातबाट टिका लगाई आर्शीवाद लिने । साथै आफ्ना सिर्जनाहरुको आफ्नो तर्फबाट पनि मुल्यांकन गर्ने र साधना पनि गर्ने साथै उत्कृष्ट सिर्जनाको प्रयास पनि गर्ने योजना बनाएको छु ।

बसन्त सापकोटा
सँधै जस्तो यो साल पनि नयाँ नयाँ गीतहरु आइरहेका छन् । यो पटक आफ्नै युट्युवबाट गीत लिएर आउँदैछु । अरुसालको दशैंमा जस्तो पोखरा घर जाने मान्यजनको हातबाट टिका लाएर आर्शीवाद लिने । दशैं पछि कर्मभुमी काठमाडौं फर्कने र फेरि संगीत कर्ममै जुट्नेछु ।

अर्जुन पोखरेल
यसपालीको दशैं मेरो लागि अहिलेसम्मकै विशेष दशैं बनेको छ । दशैंको सुरुवातमै एकल साँझ भव्यरुपमा सम्पन्न गरियो, यो खुशी मेरो लागि अर्को ठुलो दशैं हो । दशैंको मुखमा गरिएको एकल साँझको तयारी र सम्पन्नकै लागि व्यस्त भएको म २९ गते काठमाडौं बाहिर सांगीतिक कार्यक्रममा हुनेछु । त्यसपछि भने यसपालीको आमा बुवाको साथमा काठमाडौंमै मनाउने योजना छ । चितवनबाट दिदी भिनाजु बहिनी सबै जना काठमाडौं मैं आउनुहुनेछ । खुशीयाली पूर्वक हामी दशैं मनाउने छौं ।

दिपक शर्मा
यसपाली अलि छिट्टै घर जाँदैछु । घरमा पुग्नु भन्दा अगाडि मुस्ताङ घुम्ने योजना छ । घरमा टिकाको २ दिन अगाडि पुग्छौं होला । घरमा त अर्कै किसिमको रमाइलो भैहाल्छ नि । यसपालीको दशैंमा मासु चाहिं अलि कम खाने विचार गरेको छु । मुस्ताङबाट टन्न स्याउ लगेर स्याउको दशैं मनाउने मन छ ।

शंकर थापा
दशैं प्राय सबै नेपालीहरुले झैं नै मनाउने गरिन्छ । संगीतकारको सवालमा भन्नु पर्दा सांगीतिक माहौलमा केही कार्यक्रम अनि घर परिवारको साथ नै रमाइलो समय व्यतित गर्दै यो दशै मनाउने योजना छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु